केपी ओली राजाको बाटोमा हिँडे : उपेन्द्र यादव
राजविराज : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई राजाहरुको बाटोमा तथा महन्थ ठाकुर र राजेन्द्र महतोलाई बेदानन्द झाको बाटोमा हिँडेको आरोप लगाएका हुन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले त्रिभुवन, महेन्द्र र ज्ञानेन्दको बाटोमा हिँडेका ओलीको पिछलग्गु बनेका ठाकुर र महतो झाको नयाँ भूमिकामा पुगेको बताए।
पार्टी कार्यकर्तासहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्न अस्पताल पुगेका यादवले इतिहास सम्झाउँदै भने, ‘राजा त्रिभुवनले २००७ सालपछि संसद बन्न दिएनन्। उनका छोरा राजा महेन्द्रले १८ महिनामा नै २०१७ सालमा संसद समाप्त पारेर दलहरूमाथि प्रतिबन्ध लगाई निरंकुश शासन चलाए।’
लामो संघर्षपछि प्राप्त भएको संसदीय व्यवस्थामाथि पुनः महेन्द्रका छोरा ज्ञानेन्द्रले प्रहार गरेर ‘कु’ गरेको बताउँदै अध्यक्ष यादवले अहिले प्रधानमन्त्री ओलीले पनि राजाले झै संसद भंग गरेर स्वेच्छाचारी शासन चलाउन खोजेको आरोप लगाए। लोकतन्त्रमाथि प्रहार गर्ने ओलीको मतियार बनेर ठाकुर र महतोले बेदानन्द झाको नयाँ भूमिका निर्वाह गरेको उनले बताए।
उतिबेला मधेसको शक्तिका रुपमा रहेको एक मात्र नेपाल तराई कांग्रेस पार्टीका अध्यक्ष बेदानन्द झाले २०१७ सालमा आफ्नो पार्टीलाई राजा महेन्द्रसमक्ष सुम्पेर गृहमन्त्री र राजदुत बनेको इतिहास यादवले सम्झिए। यादवले ठाकुर र महतोलाई झाकै संज्ञा दिँदै प्रतिगमनको सहयोगी बन्नुलाई स्वभाविक बताए।
यादवले चेतावनीका स्वरमा भने, ‘तर यो २०१७ साल होइन्, सञ्चारमाध्यम, सामाजिक सञ्जाल सशक्त भएको छ, राजनीतिक चेतनाको विकास भएको छ।’ प्रतिगमनको मतियार बनेर आफ्नै साथीहरुले कंलकित बन्ने काम गरेको भन्दै यादवले प्रतिगमनका मतियारसँग एकता भन्दा संघर्ष नै हुने बताए। उनले पुनः राजनीतिमा असम्भव केही नहुने भन्दै प्रतिगमनको सहयोगी बनेका ठाकुर र महतो सुध्रिएर परिवर्तनलाई आत्मसात गरी आत्मलोचना गरेर अग्रगमनको बाटोमा आएमा एकताको सम्भावना पनि रहेको बताए।
एउटै प्रधानमन्त्रीले एउटै संसदलाई दुई पटक भंग गरेको इतिहास संसारमै नभएको भन्दै यादवले संसदमै प्रहार गरी निरकुंशतातर्फ लैजाने प्रयास सफल भएमा प्रदेशसभा भंगको बाटो खुल्ने सम्भावना व्यक्त गरे। यसरी जनप्रतिनिधि नराख्ने र समयमा चुनाव नगरेर अध्यादेशबाट देश चलाउने प्रयत्नविरुद्ध पाँच दलको गठबन्धन बनेको उनले बताए।
भू-राजनीतिक अन्तरविरोधबाट मुलुकलाई बचाउनु पर्नेमा भू-राजनीतिक प्रभावको दुरुपयोग गरी त्यसैमा फँसाएर मुलुक समाप्त पार्ने खेल भइरहेको उनले आरोप लगाए। छिमेकी मुलुकको नाम नलिई यादवले प्रधानमन्त्री ओली कहिले एउटा शक्ति त कहिले अर्को शक्तिबाट प्रयोग भइरहेको आरोप लगाए।
‘ठाकुर र महतोले मधेसको महत्वपूर्ण माग सम्बोधन गराएपछि मात्र सरकारमा सहभागी हुनुभयो तर तपाईँले त दुई बुँदे उधारो सहमति गरेर सुरुको १८ महिना ओलीकै नेतृत्वमा सरकारमा रहनु भयो नि !’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकारमा जानु र नजानु महत्वपूर्ण कुरा होइन, प्रतिगमनकारी भनेर भाषण गरेपछि माइक फालेर प्रतिगमनकै मतियार बनेका छैनौं ।’
केपी ओली बदलिए भन्दै सरकारमा जानेहरुले झुठा कुरा गरेको भन्दै यादवले ओलीको निरंकुश चरित्रमा तथा मधेस र मधेसीलाई हेर्ने दृष्टिकोणमा कहिल्यै पनि परिवर्तन नआएको बताए। आफैंले लगाएका मुद्दामध्ये दुई-चार वटा मुद्दा फिर्ता लिएको तर त्यो पनि अझै कार्यान्वयनमा नआएको बताउँदै अध्यक्ष यादवले नागरिकतामा पनि ओलीले संविधानमै भएको व्यवस्थालाई अध्यादेशमा कपीपेस्ट गरी ठाकुरहरुलाई मुर्ख बनाएको आरोप लगाए।
संसद पुनस्र्थापना हुने र १४९ जनाको हस्ताक्षरसहितको दाबीलाई सर्वोच्च अदालतले परमादेश जारी गरी प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई शपथग्रहण पनि गराउने उनले विश्वास व्यक्त गरे। रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको हवको रुपमा स्थापित गराउने बताउँदै उनले रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकोमा खुशी व्यक्त गरे।
अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठानको स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढने यादवले बताए।
कोभिड-१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको बताउदै यादवले स्वास्थ्य सामाग्री अभाव नहोस भनेर स्वास्थ्य सामग्री वितरण गरिएको बताए। उक्त कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के ९५ मास्क र नौ वटा अक्सिजन कन्सन्टेटर प्रदान गरे।
कार्यक्रममा प्रदेश २ की उपसभामुख उपमा देव, प्रदेश २ कै भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षा मन्त्री रेणु यादव, राजविराज नगर प्रमुख शम्भुप्रसाद यादव, जसपाका नेताको उपस्थिति थियो।