यूएई सर्यो टीट्वेन्टी विश्वकप
दुबई : भारतमा आयोजना हुने भनिएको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने भएको छ। भारतमा कोरोना भाइरसको महामारी अहिले पनि कायम रहेका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टीट्वेन्टी विश्वकप यूएईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि टीट्वेन्टी विश्वकप यूएईमा गराउन राजी भएको छ। बीसीसीआईले प्रतियोगिता यूएईमा सार्न आईसीसीसँग प्रस्ताव गरिसकेको छ। आईसीसीको आगामी बैठकले यसबारे आधिकारिक निर्णय लिने जनाइएको छ।
१६ टोलीको सहभागिता रहने टीट्वेन्टी विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताइएको छ। यस्तै फाइनल खेल नोभेम्बर १४ मा हुनेछ। यूएईका आबुधावी, शारजहा र दुबईमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुनेछ । कोरोनाका कारण आईपीएलको बाँकी खेलहरू यूएईमा हुँदैछ। आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुनेछ। प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ। दिल्लीले आठ खेलबाट १२ अंक जोडेको छ। यस्तै, चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ।