कालिजमा भविष्य खोज्दै युवा
मकवानपुर : मकवानपुरको चिसो र रमणीय ठाउँ सिमभन्ज्याङ र देउराली। देउरालीभन्दा करिब ४ किमि माथि जंगलबीच कालिज कराइरहेको आवाज सुनिन्छ।
झट्ट कोही पुग्दा सयौंको संख्यामा कालिज देख्दा एकछिन रोकिएर हेर्ने गर्छन्। थाहा नगरपालिका—४ स्थित फापरबारीमा पालिएका यी सयौं कालिज व्यावसायिक रूपमा पालिएका हुन्।
सम्भवतः मकवानपुरमा पहिलो पटक व्यावसायिक रूपमा कालिज पालिएको यो पहिलो आधुनिक पशुपंक्षी तथा अर्गानिक कृषि फर्म हो। तीन जना सञ्चालक राजेन्द्र बल, छेसिङ वाइबा र एकिल वाइबा खाडी मुलकुबाट फर्किएका हुन्। विदेशमा गरिने दुःख आफ्नै भूमिमा गर्दा यही राम्रो हुने निष्कर्ष निकालेर उनीहरूले ९५ रोपनी जग्गामा दुई वर्षअघि कालिजपालन सुरु गरेका हुन्।
सुरुमा १ हजार २ सय ८७ वटा कालिजको चल्ला हालेर कालिजपालन सुरु गरेका उनीहरूसँग अहिले बिक्रीयोग्य कालिजहरू छन्। १ हजार ५ सय रुपैयाँ प्रतिगोटा चल्ला किनेर पालन सुरु गरेका उनीहरूले मागअनुसारको कालिजपालन गर्न सकेका छैनन्। ‘बजारको समस्या छैन, तर पर्याप्त लगानी गर्न नसक्दा हामीले ठूलो संख्यामा कालिजपालन गर्न सकिरहेका छैनौं’, सञ्चालक राजेन्द्र बलले भने।
हालसम्म उनीहरूले ५५ लाख रुपैयाँ लगानी गरिसकेका छन्। बजारको प्रशस्त सम्भावना र आफ्नै गाउँठाउँमा बसेर काम गर्न सकिने भएकाले उनीहरूले कालिजपालन सुरु गरेका हुन्।
मलेसिया, दुबई र कतारको चर्को गर्मी र कठोर परिश्रम सम्झदा उनीहरूलाई यहाँ फर्ममा काम गरेजस्तो लाग्दैन। तर समय बित्दै जाँदा उनीहरू कालिज पालेरै विदेशको भन्दा राम्रो कमाइ गर्न सक्ने भएका छन्। ‘गाउँघरमै आधुनिक प्रविधिबाट कृषि र पशुपन्छीपालनको काम गर्न सकेमा बिदेसिनु पर्दैन भनेर काम सुरु गरेका हौं’, बलले भने, ‘बजारको समस्या नभएकाले कालिजपालनमै भविष्य खोजिरहेका छौं।’ व्यावसायिक रूपमा कालिजपालनको सुरुआत काठमाडौंको दक्षिणकाली—२ स्थित चाल्नाखेलमा रहेको एभरेस्ट वाइल्ड लाइफ एग्रो एन्ड रिसर्ज सेन्टरले गरेको हो। २०७५ सालमा कालिजपालनको सुरुआत गर्न धेरै काुूनी झन्झट व्यहोर्नु परेको सञ्चालक ज्ञानेन्द्र तिमल्सिनाले बताए। ‘नेपाली कालिजपालनका अनुमति अझै पनि छैन। हामीले सुरुआत गर्न निकै मेहनत गर्नुपर्यो’, तिमल्सिनाले भने। उनीहरूले फ्रान्सबाट पाँच हजार कालिजको अन्डा ल्याएर चल्ला उत्पादन गरी व्यावसायिक कालिजपालन सुरु गरेका थिए। यही फर्मबाट चल्ला र अन्डा लगेर दुई दर्जन स्थानमा व्यावसायिक कालिजपालन सुरु भइसकेको छ।
विभिन्न देशमा रोजगारीका गएका तीन जनासहित ६ जना युवा मिलेर फर्म सुरु गरेका थिए। दुई वर्षको बीचमा यो फर्मले वार्षिक १५ हजार चल्ला बिक्री गर्ने क्षमता बनाइसकेको छ। साथै मागअनुसार चल्ला उत्पादन गर्न नसकेर यो वर्षमात्र ३० हजार अन्डा विदेशबाट मगाइएको थियो।