त्यो जिन्दगी खोइ के जिन्दगी !
सिद्धि (चितवन) : सिद्धिको डाँडामा छ पाइमाराङ गाउँ। त्यसको नजिकै घना जंगल छ। त्यसबीच अनकन्टार भीर छ। भीरको फेदमा एउटा ओडार छ। त्यही ओडारमा केही वर्षअघिसम्म एक वृद्ध बस्थे। ती थिए हस्तबहादुर चेपाङ।
एक्लो ज्यान, ओडारको बास। खाने प्रबन्ध केही थिएन। सास अड्याउन जे भेट्यो, त्यही खानु बाध्यता बन्यो। र, त्यस क्रममा उनले किरा–फट्यांग्रा खान थाले। सर्प, भ्यागुता जे देखे पनि समाएर खानुपर्ने विवशता आइलाग्यो। एक दशकभन्दा लामो अवधि उनले यस्तै किटपतंगबाट निर्वाह गरे।
अहिले भने रोइरहेछ त्यो ओडार, जहाँ उनले वर्षौं वर्षका रातहरूमा निन्द्रा पुर्याए। त्यसलाई एक्लो बनाएर सदाका लागि उनी अब निदाएका छन्। बुधबार बिहानीपख ८२ वर्षको उमेरमा उनले यो संसार छाडेका छन्।
चितवनकै काउले गाउँबाट यता सरेका थिए हस्तबहादुर। २०७२ सालमा उनले बताएअनुसार पहिला ७ वर्ष अर्कै ओडारमा बसे। पाइमाराङ भीरको ओडारमा ८ वर्षजति बसे। उनको चरम गरिबी र दु:खदायी जंगलवासबारे जब मिडियामा आयो, सहयोगीहरू उनीसम्म पुगे। तीमध्ये एक थिए केशव खनाल।
सौराहामा होटल व्यवसाय गर्ने, चेपाङका दु:ख व्यथामा अघि सर्ने खनालले हस्तबहादुरलाई पाइमाराङ गाउँमा सानो घर बनाइदिए। जीवनभरि खाने बन्दोबस्त मिलाइदिए। तर, हस्तबहादुर त्यहाँ खासै अडिएनन्। ‘घरमा बस्नुहोस् भन्यो, कति बेला, कति बेला ओडारमा पुगिहाल्नुहुन्छ’, हस्तबहादुरलाई साथ–सहयोग गरिरहेका स्थानीय भुलबहादुर चेपाङले ६ वर्ष पहिला भनेका थिए, ‘उहाँलाई जंगल र ओडार नै मन पर्न थालेछ। खानाभन्दा किरा–फट्याङ्ग्रा नै मिठो लाग्न थालेछ।’ भुलबहादुरका अनुसार २०६४–६५ तिर हस्तबहादुर एक दिन गाउँमा झुलुक्क देखिए। नयाँ मान्छे भएकाले गाउँलेले सोधी–खोजी गरे। ‘तिम्रो को–को छ त ? भनेर सोध्दा, म डबल जङको ससुरा, डबल जङ्गको श्रीमतीको ठूलो बुवा भन्नुभो’, पत्रकार अखण्ड भण्डारीको डकुमेन्ट्री फिल्म ‘द केभ सिङ्गर’ मा भुलबहादुरले भनेका थिए, ‘बस्नोस् न त भन्दा घरमा बस्नै मान्नुभएन। भागेर जंगलमा गइहाल्ने। पछि पत्ता लगाउँदा ओडारमा बस्नु हुँदोरहेछ।’
किरा–फट्याङ्ग्रा, खजुरा खाएको देखेर सुरुमा उनी छक्क परे। ‘एक दिन म खेत जोतिरहेको थिएँ। उहाँ छेउमै हुनुहुन्थ्यो। हलोले ठूलो ढुङ्गा उप्कायो। त्यसको मुनि लामो सर्प रै’छ’, उनले पुरानो घटना सुनाए, ‘एकैचोटी सर्पको घाँटीमा समाएर काँचै गर्याम–गर्याम खाएर सक्नुभयो।’
त्यो देखेर भुलबहादुरले गोरु फुकाए। डरले हतार–हतार घर गए। हस्तबहादुर जंगतिर लागे। ‘सर्पको विष लागेर बुढा मरे होलान्, मलाई दोष आउँछ अब भनेर तीन दिनसम्म जंगलमा हेर्न पनि गइनँ। चौथो दिन पारि पाखामा हेर्न गएँ’, उनले सुनाए, ‘टुक्रुक्क बसेर कोकको थोत्रो बोतल बजाइरहेका। लौ बुढा त कहाँ मर्नु, मरेका रैनछन् भनेर पछि खाना दिएर आएँ।’
भुलबहादुर सम्झन्छन्, ‘हस्तबहादुर कहिल्यै ढलेर सुतेको देखिनँ। टुक्रुक्क बसेर कपडाले टाउको छोपेर ढुङ्गामा अडेस लगाएर निदाएको मात्रै देखेँ। बरु दिउँसो सुत्ने, राति कहिल्यै नसुत्ने अनौठो बानी थियो।’नेपालका सिमान्तकृत समुदायमध्ये एक हो चेपाङ। २०६८ को जनगणनाअनुसार देशभर चेपाङको संख्या ६८ हजार थियो। यो समुदायमा बालविवाह उच्च छ। जनसंख्या वृद्धि पनि तीव्र छ। त्यस आधारमा अहिले आएर उनीहरूको जनसंख्या १ लाखदेखि १ लाख ५ हजार पुगेको अनुमान छ। राज्यले यस समुदायलाई मूलप्रवाहमा ल्याउन ठोस पहल नगरेको यस क्षेत्रमा लाग्नेहरूको आरोप छ। चितवन, धादिङ, गोरखा र मकवानपुरका विकट पहाडी इलाका यस जातिको थलो हो। अन्य केही जिल्लामा थोरै संख्यामा चेपाङ पाइन्छन्। चेपाङ समुदायका बहुसंख्यक आफ्नो उत्पादनले ३ महिनाभन्दा बढी खान नपुग्ने हालतमा छन्। गिठ्ठा, भ्याकुर, सिस्नो, टाँकीको साग, जंगली च्याउ, कागुनोजस्ता वनस्पति उनीहरूका भैपरी आउने खाना हुन्।
देश–विदेशका नेपाली हस्तबहादुरको अभावको समाचार हेरेर चेपाङ गाउँमा सहयोगार्थ आउँथे। उनलाई देखेर चेपाङ समुदायलाई सहयोग गर्थे। उनी गए, सहयोगीको बाटो पनि अब बन्द हुनसक्छ।
हस्तबहादुरको निधनले गाउँ नै शोकमा डुबेको छ। स्थानीय यमप्रसाद चेपाङले हस्तबहादुरका कारण चेपाङको गाउँको मुहार फेरिएको बताए। ‘उहाँको जुन अवस्था थियो हाम्रो पनि त्यही हो,’ यमप्रसादले भने, ‘त्यहीँबाट गाउँमा अन्य सहयोगीको नजर परेको हो।’
हस्तबहादुरका बा–आमा उनी सानो हुँदै बिते। चार दिदी र एक भाइको पनि गरिबीकै कारण निधन भयो। बेसहारा उनले मजदुरी गर्न त्यसपछि गाउँ छाडे। रोजगारी कतै नपाएपछि जंग पसे। ओडार फैर्दै सर्दै बस्न थाले। त्यसरी नै उनको जिन्दगीको अध्याय पूरा भयो। अन्तिम घडी बिरामी भएपछि खनालले बनाइदिएको घरमा बसे। छिमेकी भुलबहादुर र उनका परिवारका सदस्यले आफ्नै बुवासरह पालनपोषण गरे। रेखदेख पुर्याए। ‘मिडियामा उनको अवस्था आएपछि चेपाङ गाँउमा कार्यक्रम सुरु गरें’, हस्तबहादुरलाई घर बनाइदिएका केशव भन्छन्, ‘उनी बितेर गए। आफूलाई शोकाकुल ठानिरहेको छु।’
हस्तबहादुरको बुधबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उनको शवमा रामनामी ओढाएर बटौली सामुदायिक वनमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो। चेपाङ अभियन्ता केपी किरण शर्मा सम्झन्, ‘हस्तबहादुरको संघर्षबाट हामीले प्रेरणा लिनुपर्छ। ओडारमा बसेर, किरा–फट्याङ्ग्रा खाँदा पनि उनले कहिल्यै आफूलाई दु:खी मानेनन्।’
‘ओडार र जंगलमा बसें’ प्रश्न : कति वर्ष हुनुभयो ? प्रश्न : ओडारमा बस्नुभएको कति वर्ष भयो ? प्रश्न : योभन्दा पहिला कहाँ बस्नुहुन्थ्यो? प्रश्न : तपाईंको गाउँ कुन ठाउँ हो ? प्रश्न : के खानुहुन्छ त ? प्रश्न : फट्याग्राको स्वाद कस्तो हुन्छ ? प्रश्न : कहाँबाट ल्याउनुहुन्छ फट्यांग्रा ? प्रश्न : तपाईंको आफ्नो परिवार छैन ? प्रश्न : विवाह गर्नुभएन ? प्रश्न : अनि भागेपछि अर्को विवाह गर्नुभएन ? प्रश्न : किन नगरेको ? प्रश्न : अब गर्ने कि ? |