पहिरोमा रोकिएका बेहुला–बेहुलीको कथा (भिडियोसहित)

पहिरोमा रोकिएका बेहुला–बेहुलीको कथा (भिडियोसहित)

चितवन : स्याङ्जा टक्सारका कुलदीप पौडेल बेहुली लिन बिहीबार बिहान ९ बजे जन्तीसहित हिँडे। विवाहको साइतभन्दा उनी ढिलो पुगे। बेहुलीको घर भरतपुर महानगरपालिका–९ शरदपुर दिउँसो पुग्नुपर्नेमा मध्यरातको १२ बज्यो। 

विवाह कार्यक्रम सकेर बिहान ४ बजे फर्किंदा फेरि जाममा परे। पहिरो हटाएर बाटो खुल्ने पर्खाइमा रहेका नवदम्पतीले गाडीमै बसेर दिन कटाए। घरबाट जन्ती प्रस्थान गरेको ३६ घण्टामा पनि बाटोमै थिए।  ‘कहिले कति बेला पुग्ने हो थाहै छैन’, पौडेलले भने, ‘प्रकृतिसँग त कसको के लाग्छ र ! तैपनि छिटो पहिरो हटाउने व्यवस्था नहुँदा दु:ख पायौं।’

बेहुला–बेहुलीको पोसाकमा सजिएकाले गाडीबाट बाहिर निस्केका थिएनन्। ‘हिजो बिहानको बिहे आजसम्म बाटोमै छौं’, बेहुली सुस्मिता रानाभाटले भनिन्, ‘पहिरोले विवाह नै बिचल्लीको बनाइ दियो।’ इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चारकिलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

यात्रुहरू चारकिलोको पहिरो कति खेर हट्ला भनेर पर्खिरहेका थिए। सवारी साधनको जाम लामो थियो। बिहीबार बिहान ९ बजे निस्किएका जन्ती शुक्रबारसम्म सडकमै थिए। पहिरोले बाटो थुनेपछि रोकिएका उनीहरूको एकदिने विवाह दुई दिनको भयो। 

पहिरोले बिजोग बनाएको अर्को जोडी भेटियो कास्कीका किरणराज सिग्देलको। पोखरा महानगरपालिका ३२ मालेपाटनका सिग्देलको बुटवल–१२ तामनगरकी इना पौडेलसँग बिहीबार विवाह भएको हो। बाटोकै कारण अभिभावकले नारायणगढमा आएर विवाह गरिदिए। माइती पक्ष बुटवल पुगिसक्दा उनीहरू नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिए।  ‘छिटो जान पाएको भए समयमा काम सकिन्थ्यो होला’, सिग्देलले भने, ‘हामीले मात्रै होइन जन्तीले पनि दु:ख पाए।’ बिहीबार राति बेहुलीकहाँ पुगेर विवाह गरेर फर्किंदा शुक्रबार बिहान ३ बजेको थियो। फर्कने क्रममा बाटोमा पहिरो खस्यो। ‘बाटोकै कारण विवाह पनि एक दिन ढिलो भयो’, इनाले भनिन्, ‘उहाँहरू पुगिसक्नुभयो, आत्तिनुभएको छ। यही छौं भनेर जानकारी गराएको छु।’

त्यस्तै, बेहुली लिन घरबाट निस्किएको अर्को बिहेको जन्ती पहिरोले रोकिएपछि लगन छुट्ने छटपटीमा भेटिए। भरतपुरबाट बेहुली लिन बिहान ५ बजे लमजुङको बेंसीसहर हिँडेका गणेश सापकोटा बाटोमै रोकिएपछि छटपटिदै थिए। ‘बिहानै हिँडेको चार घण्टा भइसक्यो। अझै कति लाग्ने हो थाहा छैन। 

गाडीभित्र बसेको छु’, सापकोटाले भने, ‘न अघि जान मिलेको छ न फर्किन नै मिल्यो। बिचल्लीको विवाह भयो मेरो त।’ पहिरोले शुक्रबार दिनभर नै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भयो। यात्रु अलपत्र थिए। नवविवाहित जोडी एकआपसमा गफ गरेर बसेका देखिन्थे। पहिरोेले सबैलाई सास्ती दियो। मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ बिहीबार राति पहिरो खसेको हो।  बिहीबार सात ठाउँमा नयाँ पहिरो देखापरेको छ। 

सबैभन्दा ठूलो पहिरो चारकिलोमा खसेको हो। यहाँ सधंैजसो पहिरो खस्ने समस्या छ। चारकिलोमा शुक्रबार साँझ एकतर्फी सञ्चालन भएको थियो। चारकिलोमै फेरि बेलुका साढे ८ बजे पहिरो गएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.