बाढीबाट हुने क्षति घटाउँदै विद्युतीय उपकरण
बर्दिबास : बाढीबाट हुने धनजनको क्षति घटाउन महोत्तरीको बर्दिबासस्थित रातु र जंघा खोलामा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने पुलमा बाढी मापन गर्ने विद्युतीय सूचना प्रणाली जडान गरिएको हो।
महोत्तरीका १५ वटै स्थानीय तह मनसुनी वर्षाका कारण पहिरो, कटान र डुबानको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाका सभापति दिपक मिश्रले बताए। वर्षाले महोत्तरी ४० गाउँ प्रत्येक वर्ष डुवानमा पर्ने गरेका छन्।
इसीईमोड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा रातु र जंघा खोलामा बाढी बारे सूचना दिने प्रविधिको जडान गरिएको छ। यो प्रणालीबाट प्राप्त सूचनालाई जनसमुदाय स्तरमा पठाउन बाढी प्रभावित स्थानीय तहहरुमा समूहहरु छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जोखिमको अवस्था बारे विश्लेषण गरिरहेका छन्।
‘यो सूचना प्रणाली जडानले चौबीसै घण्टा बाढीको सतह बारे जानकारी दिने गरेको छ,’ उपकरण जडान गर्न पहल गरेको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘बाढी बारे सूचना समयमा गाउँ तहसम्म पुग्छ, प्रविधि जडानले बाढीबाट हुने धनजन जोखिम घटायो।’
गाउँलेहरु बाढी आइरहेको छ भनेर पहिले सूचित भएका कारण सुरक्षित ठाउँमा बेलैमा पुग्ने गरेकोले जोखिम घट्दै गएको उनले बताए।