विपत्तिका जवाफदेही हामी

विपत्तिका जवाफदेही हामी

जीवन केही चलायमान भए पनि कोरोनाको जोखिम घटेको छैन। चीनबाट उर्लेको कोरोनाको मुस्लोले विश्व परिक्रमा गरेको दुई वर्ष हुन लाग्यो। उच्च जनसंख्या भएको चीनमा यसको नियन्त्रण छ भने अर्को छिमेकी भारतमा नियन्त्रण बाहिर नै छ। खुल्ला सीमाका कारण हामी यसको प्रभावमा परेका छौं। हालसम्म विश्वमा ४० लाख बढीले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिस्थल चीनमा यसबारे अध्ययन गर्न लागेको छ। विश्वका कतिपय देशले भ्याक्सिन तयारी मात्रै होइन, प्रयोग पनि गरिसके। हामीले केही भ्याक्सिन लगायौं, धेरै हामी यसको पर्खाइमा छौं। विश्व स्वास्थ्य संगठनको भनाइ जसरी बन्दाबन्दी गर्ने, हात धुने, मास्क लगाउने र दूरी कायम गर्नेमै छौं !

अमेरिका र चीनका बीच व्यापार युद्ध छ, कोरोना भाइरस विश्व युद्धभन्दा बढी खतरायुक्त छ। विज्ञानले अहिले हार खाएको छ। प्रकृतिमैत्री वातावरणबाट अलग हुन लागेको मानव सभ्यताका लागि कोरोना महामारी ठूलै चुनौति हो। विश्वलाई साम्राज्य बनाउन सकेको अमेरिकाले हार खाएको छ। संसारमा घातक रयासनको कारोबार बढेको छ। विषादियुक्त वस्तुको सेवन बढेको छ। वातावरण धमिलो भएको छ। प्रकृति विनाश भएको छ। जंगली जनावरप्रतिको हिमचिम बढेको छ। मानिसमा अनौठो सोख बढेको छ। घरपालुवा र प्रांगारिक मल दिने जनावरको संख्या घट्दो छ भने वन विनाश छ। तिनको वासस्थान घटेको छ, मृत र जीवित यस्ता जनावरले घरघरका सोखिन कोठाहरू, पसलहरू, व्यापारिक स्टलहरू सजिन थालेका छन्।

मानिसले प्रकृतिप्रति अन्याय गर्‍यो, होडबाजी र प्रतिस्पर्धी वातावरण बनायो। विषादी भित्र्यायौं अनि खेतबारीमा डोजर कुदायौं। परिणाम वर्षेनी र निरन्तर वर्षा र बाढीपहिरोले निद्रा हराएको छ।

मानिसको स्वास्थ्य बिगार्ने गरी अस्वस्थ औद्योगिक लगानी बढेको छ। देशभित्र मात्र होइन, देश बाहिरको लगानी, नाफा गरी छिटो धनी हुने सोखले मानव हित प्रतिकूल भएको छ। मानव स्वास्थका अंगहरू खासगरी नसा, फोक्सो, मुटु, मष्तिस्क, मृगौलाप्रति लापरवाही गरिएको छ। हाल देखा परेको कोरोना श्वासप्रश्वाससम्बन्धी घाँटी र फोक्सोलाई प्रत्यक्ष असर पर्ने सरुवा रोग भनिएको छ तर गतिलो र भरपर्दो तथ्यांक, यसको जिन, प्रभाव र निराकरणको वैज्ञानिक पुष्टि भइसकेको छैन। विषाक्त खानाले रोग प्रतिरोध क्षमता घट्छ। उच्च उत्पादनको अपेक्षा गर्दै खेतबारीमा प्रयोग गरिने विषादीले माटो, पानी, हावा आदि दूषित गराउँछ। फलतः मानव स्वास्थ्यमा अनेकौं व्यवधान उत्पन्न गराउँदै प्राणघातक रोगको उदय हुन्छ। हेर्दा सामान्य लाग्छ, तर यसले गर्ने साइकल चक्रको प्रभाव धेरै गहिरो हुन्छ।

विश्व पर्यावरण २०१९ को प्रतिवेदनले स्पष्ट पारेको छ– सन् २०१९ मा संसारभरि २५ लाख ५० हजार टन विषादी खेतबारीमा प्रयोग भयो। यस्ता विषादी ९८ प्रतिशतले माटो, हावापानीलाई प्रदूषित बनाउँछन्। संसारमा हाल ठूला ६ कम्पनी छन्, जसले ७५ प्रतिशत विषादी उत्पादन गर्छन्। मिसावटी खाना, विषाक्त खानाले शरीरलाई अस्वस्थ बनाउँछ। रोगसँग लड्ने क्षमता नहुँदा मानिसको अकालमा मृत्यु हुन्छ। यसअघि पनि एड्स, डेंगो, स्वाइनफ्लु, बर्डफ्लु जस्ता रोगले संसार आतंकित भएकै हो। हाल अर्बौं मानिसको निद्रा हराम भएको छ। अर्थतन्त्र डामाडोलमा छ। सामाजिक सद्भाव खल्बलिएको छ, मनोवैज्ञानिक त्रासले होस गुमेझैं भएको छ मानिस। भाइरस आफैंमा अदृश्य शत्रु हो, अदृश्य शक्तिसँग लड्न सकिएको छैन। न यो बन्दाबन्दीले भागेको छ, न प्रहरी प्रशासनको निषेधाज्ञाले डराएको छ। उन्मत्त, मत्ताहात्तीझैं बसेको छ नदेखिने गरी। विज्ञानलाई धम्की दिएको कोरोनाले न अल्लाहको भक्ति सुनेको छ, न यशुको प्रार्थना, न त क्राइष्ट, बाइबल, वेद र ईश्वरको प्रार्थना ! कतै कसैकोे सुनेकै छैन, सुन्ने एकमात्र औषधि हुन सक्छ, मानिस र प्रकृतिबीचको पुनर्मिलन !

मानिसले प्रकृतिप्रति अन्याय गर्‍यो, होडबाजी र प्रतिस्पर्धी वातावरण तय गर्‍यो। हामीले पनि विषादी भित्र्यायौं अनि खेतबारीमा डोजर कुदायौं। परिणाम वर्षेनी बाढीपहिरोको समस्यामा तड्पिइरहेका छौं।  निरन्तर वर्षा र बाढीपहिरोले निद्रा हराएको छ। मेलम्चीसँगै उर्लिएको जोखिम देशभरि बिस्तार हुँदैछ। संसारले पञ्चतत्व, पानी, हावा, शब्द, तेज र माटोको माया गर्न बिस्र्यो। जलवायु परिवर्तन गरायो, कहिले समयमा वर्षा भएन, कहिले अनावृष्टि, अतिवृष्टिले बाढीपहिरोको खतरा बढ्यो। मान्छेको मूल्य मान्यता, स्नेह, इमान्दारिता, दया, प्रेम रहेन। खुल्ला व्यापार, शरीरको सम्बन्धमाथि सिधै बन्चरो प्रहार गरेकाले प्राणघातक महामारी र प्रकोप संसारभरि कालो बादलझैं उर्लेर आएको हो। त्यसो त संसारमा जनावरबाट फैलिने रोगबाट विश्वमा वर्षेनी १० लाख बढीको मृत्यु हुने गरेको छ। प्लस्वान जर्नलले प्रकाशन गरेको विवरण अनुसार सन् १९८० देखि सन् १९१३ को समय अर्थात् तीन दशकमा २१५ वटा भन्दा बढी महामारी फैलियो। यतिबेला मात्रै ४ करोड ५ लाख बढी मानिस संक्रमित भए। संक्रमित र मृत्यु हुनेमा ६० प्रतिशत मानिस जनावरबाट फैलिएको सरुवा रोगकै कारण थियो। त्यसमध्ये दुईतिहाई जनसंख्या जंगली जनावरको ब्याक्टेरिया भाइरस आदि जीवाणुको कारण बनेको थियो।

संसारले भन्ने गरेको दुई तीन दशकदेखिको एउटा नारा छ, विश्व एक गाउँ, विश्व एक परिवार, राजनीतिक र आर्थिक भूमण्डलीकरण ! एकको सिको अर्कोले नक्कल गर्नुपर्ने, आफ्नो माटो, पानी, हावा कस्तो छ, त्यसलाई नहेर्ने, विश्वबन्धुत्वको नारामा उर्लेको संसारलाई कोरोनाले नराम्रो प्रहार गरेको छ। एक ठाउँको उत्पादन अर्को ठाउँमा पुगी हाल्नुपर्ने, संसारभरि १०/१२ घण्टाभित्र सबै देशमा मानिसको सबैको पहुँच हुन सक्ने वातावरण तय भइदिँदा कोरोना पनि क्षणभर केही साताभित्रै संसारभर पुगेको हो, फैलिएको र राज गर्न थालेको हो। आफ्नो ताज बनाएको हो लुकीलुकी ! कसैले यसलाई पुँजीवादी अर्थतन्त्रको उपज पनि भनेका छन्। साँच्चै बहुराष्ट्रिय कम्पनीहरूले संसारलाई एउटा बजार बनाए, खेलौना बनाए, राजनीतिक रंगकर्मीहरूका लागि त यो उर्वर बजार नै बन्न पुग्यो। हाम्रा लागि यो सत्ता टिकाउ, नक्कली सामान बिकाउको गतिले अस्त्र बन्यो।

यो धर्ती केवल धर्ती मात्र होइन, अन्तरिक्ष र आकाशमा पनि दौडधुप सुरु भयो। अस्वस्थ प्रतिस्पर्धा भयो। सक्नेहरू अघि बढे, नसक्नेहरू बाजी हारे, तड्पिए, थाल थापेर भिक्षार्थी बनी खुल्ला सडक र चौरमा उत्रिए। मेचीसम्म पैदल हिँडे, कालीको नदी बहावमा परेर सोत्तर भए। विकासको नाममा बेलगामको घोडा बनी डोजर आतंक हामीकहाँ पनि भत्काउको अभियान अघि बढ्यो। असारे विकासले मौलाउने अवसर पायो। राजनीतिकर्मीलाई त कोरोना राम्रो दुहुनो गाई बन्यो, कमाउने भाँडो भयो, मागी खाने ताम्र पात्र बन्यो। पराधीन अर्थतन्त्रलाई झन् पछि धकेलेर थप पराधीन र बेहोसी बनायो। नकच्चरो शैलीले लाज पचाउँदै क्वारेन्टिन र आईसोलेसनको बिल पेश भयो। लासको कात्रोमा पनि कमिसन आयो।

अन्तर्राष्ट्रियकरण, बजारीकरण, घुमफिरको नारा, बढी उत्पादनको सोखले झारनाशक, ढुसीनाशक, किटनाशक औषधिको अत्याधिक प्रयोग, प्रांगारिक जैविक मलको अभाव, प्रकृतिप्रेमी रहनसहन र जीवन शैलीको अभाव, जंकफुड, फास्टफुट, वातानुकूलित एसीको सोख, घुमफिर हिँडडुल नगर्ने, शारीरिक परिश्रमको अभाव, विलासी खाना, विलासी जीवन, विलासी वस्तुको अधिक प्रयोग, तनाव, चिन्ता, क्रोध, आवेग, मनमुटाव, अज्ञात जीवनशैली र फ्रिजमा राखिएका सडेगलेका खाना, कोकाकोला, फ्यान्टा, सुर्तीजन्य पदार्थको सेवन, मदिराको अधिक प्रयोगजस्ता विधि र व्यवहारले मानव जीवन उच्च जोखिममा पर्न गयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.