जो मलाई बचाऊ भन्दै थिइन्
चितवन : राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्।
अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन्।
कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ। अम्बिका भण्डारी, सुजिताकी आमा
‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मार्यो।’
ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ।
‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ।’
सुजिता तरकारी लिन साथीको घरमा बोलाएको भन्दै असार ११ गते बिहान ६ बजे राप्तीकै जितपुर सिमरा हिँडेकी थिइन्। परिवारका अरू सदस्य घरमा रोपाइँ भएकाले त्यतै लागेका थिए।
सुजिताले मध्याह्न १२ बजे आफू अपहरणमा परेको भन्दै साइली दिदी कवितालाई फोन गरेकी थिइन्। कवितालाई उद्धृत गर्दै अम्बिकाले छोरीले आफूलाई दुई जना पुरुष र दुई जना महिला भएर अपहरण गरेको भनेर फोन गरेको सुनाइन्। साथीको घर नपुग्दै अपरहणमा परेपछि सुजिताको हत्या भएको आशंका परिवार र आफन्तको छ।
प्रहरीका अनुसार घटनास्थलनजिक धानमा हाल्ने विषादीको बट्टा र घरबाट लगेको झोला शव भेटिएको स्थानमा फेला परेको छ। प्रहरीले सोमबार बिहान मात्र शवको मुचुल्का उठाएको थियो।
स्थानीयले सोमबार बिहान १० बजेदेखि विरोध प्रदर्शन गरेका कारण बेलुकी ८ बजे मात्रै शव भरतपुर ल्याइएको छ। शव भरतपुर ल्याउन लाग्दा स्थानीयले अनुसन्धान फितलो हुने आशंका गर्दै अवरोध गरेका हुन्। उनीहरू निर्मला पन्तको अवस्थाजस्तै हुन सक्ने भन्दै नाराबाजी गर्दै सडकमा धर्ना बसेका थिए।
‘पोस्टमार्टम गरेर अनुसन्धान गर्ने हो। तर, शव ल्याउनै नदिएर बीचैमा अवरोध गरियो। सबैलाई कुरा बुझाएपछि शव ल्याइएको छ’, चितवन प्रहरी प्रमुख एसपी ओमप्रकाश अधिकारीले भने, ‘अनुसन्धान पहिलेदेखि भइरहेको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि त्यहीअनुसार लाग्छौ।’
राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, एसपी अधिकारीसहित छलफल गरेर अनुसन्धानलाई कडा बनाउने भनेपछि स्थानीय सहमत भएका थिए। घटनाको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एक सातादेखि अनुसन्धान गरिरहेको छ। सुजिताको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने एसपी अधिकारीले बताए।
बेपत्ता भएलगत्तै परिवार, आफन्त र छरछिमेकीले निरन्तर खोजी गरेका थिए। एक्कासि सुजिताको मृत्युको खबरले परिवार मात्रै होइन, गाउँ नै शोकमा डुबेको छ। घटनाले गर्दा छिमेकमा कसैको निद्रा परेको छैन। ‘त्यो सोझी नानी, अरूले बोलाए बोल्ने, नराम्रो केही थिएन। सबैसंग मिठो बोली ब्यवहार गर्थिन्’, स्थानीय यतिन्द्र चौलागार्इंले भने, ‘उनी हराएको दिनदेखि गाउँ अँध्यारो भएको हो आजसम्म भएको छ।’ ५७ वर्षीय यज्ञप्रसाद भण्डारी र उनकी श्रीमती अम्बिकाको परिवारको आर्थिक अवस्था कमजोर छ। उनीहरू २०५४ सालमा दोलखाको चरिकोटस्थित लामीलाङबाट चितवनमा बसाइँ आएका थिए। चार छोरी र एक छोरामध्ये दुई छोरीको विवाह भइसक्यो। काठमाडौंमा स्नातकोत्तर तह पढ्ने र जागिर गर्ने योजनासहित माइली दिदी गीता वाग्लेकहाँ गएकी सुजिता निषेधाज्ञाअघि घर आएकी थिइन्।
उन पढाइमा अब्बल थिइन्। घरको आर्थिक अवस्था कमजोर भए पनि पढाइ राम्रो भएकाले उनले छात्रवृत्तिमा पढेकी हुन्। उनी कक्षामा सधैं दोस्रो हुने गरेको आमा अम्बिकाले सुनाइन्। ‘पढाइका लागी खर्च गर्नुपरेन। आफैं मिहिनेत गरेर पढेकी हो’, उनले भनिन्। सुजिताले घरमा आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्ने बताएकी थिइन्। गाउँलेले पनि सुजिता अनुशासित र लगनशील भएको बताए।
यो परिवारको जस्ताले छाएको घर छ। इँटा लगाए पनि प्लास्टर गरेको छैन। भान्छा कोठा माटोले जडान गरेको छ। घरको माथिल्लो तला काठले बारिएको छ। पानीको बाछिटा रोक्न उत्तरतर्फ प्लास्टिक राखिएका छन्। घरको पछाडिको भागमा जस्ता छाएर गोठ बनाइएको छ। यज्ञप्रसाद र अम्बिका परिवारसहित सुखदुःख गरेर बसेका थिए। तर, अहिले शोकमा परेका छन्।