नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै
चितवन : वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ। आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहेका उनले भने, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ। ”
पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो। सडकबाट झण्डै ८० मिटरमाथि बारी छ। त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उहाँले जानकारी दिनुभयो। त्यस ठाउँमा खेती गरिँदै आएको छ। सोही ठाउँबाट पहिरो तल खसेको छ। भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ। त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ। सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उहाँको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउछन्। एक सातायता सो सडकले दुःख दिइरहेको छ। उनले भने, “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो। ” असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ। कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उनले भने, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस्। ”
जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिए। सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए। भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ। नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताउनुभयो। उहाँका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो। काम गर्न सकेसम्म रोकिएको छैन।
डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन्। केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो। तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन। यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो। यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ। -रासस
प्रतिक्रिया दिनुहोस !