पुल नबन्दा सास्ती
विराटनगर : हुलाकी राजमार्गअन्तर्गत भुट्हा हरिनगरा सडकखण्डमा पर्ने मर्या खोलाको पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत भुट्हा हरिनगरा सडक खण्डमा पर्ने सो खोलामा पुल नबन्दा दुई गाउँपालिकाका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको हो।
राजमार्गको काम सुरु भए लगत्तै खोलामा पुल निर्माणको लागि सडक डिभिजन कार्यालय विराटनगरले विराटनगरकै कार्की बन्धु कन्सल्टेन्ट प्रालिलाई ठेक्का दिएको थियो। वि.सं २०७४ साल माघ २६ गते ६ करोड ३३ लाख १९ हजार ५सय ठेक्का रकममा कार्की बन्धुलाई दुई वर्षमा निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो । तर तोकिएको समयबाहेक दुई पटक म्याद थप भए पनि पुल निर्माणको काम आधा मात्र भएको छ। दोस्रो पटकको थप गरिएको म्याद साउनमा सकिँदै छ।
पुल निर्माण नहुँदा हरिनगरा र देवानगन्ज गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन्। दैनिक एक हजारको हाराहारीमा खोला तरेर ओहोरदोहोर गर्दै आएका स्थानीयहरूले जनप्रतिनिधि र ठेकेदारको लापरवाहीले पुल नबनेको बताउँछन्। स्थानीय मो नुरले भने– ‘पुल बनाउने मनसाय नै ठेकेदारको छैन। विभिन्न बहाना देखाएर काम गर्दै छु भनेर मात्र देखाउने गरेको उनले बताए ।’ पुलको कारण हरिनगर, वसन्तपुर, भोक्रहा, नसिङ, जलपापुर, घुस्की, फुलचौकसम्मको बाटो पूर्ण रूपामा अवरुद्ध भएको छ। प्रत्येक वर्षायाममा स्थानीय बासको चचरी पुल बनाउनका लागि यात्रुसँग १० रुपैयाँ असुली गर्दै आइएको छ।
सो सडक खण्डको विराटनगरको बरगाछीदेखि सुनसरीको नरसिङस्थित महेन्द्र राजमार्ग सडकसम्म २६ किलोमिटर सडकको निर्माण कार्यसमेत पुलको कारण प्रभावित बनेको छ। २६ किलोमिटरमध्ये २२ किलोमिटर सडको कालोपत्रे गर्ने काम सम्पन्न भए पनि पुल नबन्दा काम प्रभावित भएको हुलाकी राजमार्गको इटहरीस्थित कार्यालयका प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिए ।
पुल नबन्दा सडक कालोपत्रे गर्न चाहिने आवश्यक निर्माण सामग्रीको ढुवानीमा समेत समस्या भएको प्रमुख पाण्डेले बताए । पटक–पटक सडक डिभिजन कार्यालय विराटनगरलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ। पुल नहुँदा जनता र हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रुलाई सास्ती खेप्नु परेको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए ।
उता, सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर प्रियंका झाले पुल निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको बताइन्। उनले वैशाखदेखि पानी पर्न थालेकाले खोलाको पुल निर्माणको काम प्रभावित बनेको जनाकारी दिइन् । मर्या खोलामा ४० मिटर लामो पुल निर्माणको ठेक्का लिएका विराटनगरकै कार्की बन्धु कन्सल्टेन्ट प्रालिका दिलीप कार्कीसँग पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन भने चाहेनन्।
सो खोला विस २०१५ मा बीपी कोइराला प्रधानमन्त्री हुँदा भारतको लगानीमा सिँचाइको लागि सुनसरी खोलाबाट निकालिएको नहर हो। २०२६ सालमा सुनसरीको बाँध भत्किएपछि उक्त नहर खोलामा परिणत भएको हो। पटकपटक खोलामा बाँध बनाउने काम भए पनि दिगो नभएपछि २०४१ साल पछि मर्या खोलामा परिणत भएको बताइएको छ।