दार्चुलामा पहिरोले जलविद्युत आयोजना र पुल बगायो : तीन जनाको मृत्यु
दार्चुला : दार्चुलाको नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब (डीएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए ।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।
यस्तै, नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ। नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले बाढीले जलविद्युत आयोजना बगाएको जानकारी दिए।
अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोना, जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीनवटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको अध्यक्ष धामीले बताए ।