मेलम्चीको एक झड्काले सुकुम्बासी बनेका हेलम्बुबासीको कारुणिक रोदन
हेलम्बु (सिन्धुपाल्चोक) : बेशीमा सडक विस्तार भएसँगै गाउँको जग्गा बेचविखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्बासी भएका छन् ।
सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका–२, ढोडेनीबाट बेशी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्बासीजस्तै भएका छन् । बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन् ।
छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र हैन छोरा छोरीलाई राम्रो पढाउने सपना समेत बाढीले बगाएको छ । धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढिले घर सँगै गरिखाने १५ रोपनी खेत बगाएको छ ।
अहिले तत्काल त दाताले दिएको राहत बाट पेट पालिएला, कामी भन्छन्, 'दाताले दिन छाडेपछि जहान-बच्च लिएर कहाँ जाने ? ' आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन् ।
चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको दुखेसो पोख्छिन्। असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबारविहीन अवस्थामा पुगेकी छिन् । जीवन भरी कमाएको बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थीरमा छैन । यसैवर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई तलाको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन् ।
'घरमा भएको केही निकाल्न पाइएन, लरिमाया भन्छिन्, 'ब बाँकी जीवन कसरी बिताउने हो ?' खेतबारी र घरसँगै ६० लाख रुपैयाँ भन्दा बढी लगानी गरेर सुरु गरेको ट्राउट माछा फार्ममा बाढी पसेपछि दमै तामाङ पनि सुकुमबासी बनेका छन् । ऋण लिएर सुरु गरेको व्यवसाय बाढीले बगाएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।
हेलम्बु–१, हल्देका ग्याल्जेन लामाले भूकम्पले भत्काएको घर पुननिर्माण सकेर अनुदानको अन्तिम किस्ता लिनै पाएका थिएनन् । अन्तिम किस्ता नलिंदै उनको घर बाढीमा परेको छ । घरमा बाढी पस्न थालेपछि मुस्किलले बाढीको लेदोसँगै हुत्तिएर बाँचेका उनी घर लगेपनि आफू बाँचेकोमा केही आशावादी छन् । तत्काललाई सुकुम्बासी भइयो, ग्याल्जेनले भने, बाँचिएको छ केही गर्न सकिएला नि ।'
बाढीले बस्ती बगाएपछि प्रभावित बस्दै आएको गणेशे बगरस्थित अस्थायी शिविर। तस्बिर : अन्नपूर्ण
गत असार १ गते मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले हेलम्बुमा मात्र २० जना बेपत्ता बनाएको छ । बाढीले हेलम्बुका तीनसय भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् । सयौं रोपनी खेतीयोग्य जमिन, नौ वटा ट्राउट फार्म र अन्य व्यवसाय समेत बाढीले बगाउँदा करोडौं रुपैयाको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
बाढिले पुल बगाएपछि मेलम्चीघ्याङलगायतका गाउँ सडक र पैदल सम्पर्कबाट बञ्चित भएका छन् ।