इक्टोपिक प्रिग्नेन्सी !
नसरी बराह नगरपालिका–७ चकरघट्टीबाट राति ८ बजे मोरङ सहकारी आएकी ३२ वर्षीया सावित्री मगरलाई बचाउन सकिन्थ्यो नै भन्ने थिएन। चार सन्तानकी आमा सावित्रीको पाँचौं गर्भ रह्यो। सन्तानका रहर पुगिसकेकाले बेलैमा औषधिद्वारा गरिने गर्भपतन रोजिन्। तर औषधिको प्रयोगले केही नभएपछि पुनः परीक्षणका लागि सम्बन्धित संस्थामा नै सम्पर्क गरिन्। स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड (भिडियो एक्स रे) गर्न सल्लाह दिए। सोहीअनुसार चकरघट्टीमै अल्ट्रासाउन्ड गर्न पुगिन् र त्यसबेला मात्रै थाहा भयो, उनको गर्भ अण्डाशयमा बसेको (इक्टोपिक प्रिग्नेन्सी) रहेछ। उनलाई चक्रघट्टीबाट तुरुन्त शल्यक्रिया गर्न ठूलो अस्पतालमा रिफर गरिए पनि पैसा र अन्य बन्दोबस्ती गर्दा ढिला भयो।
इक्टोपिक प्रिग्नेन्सी किन हुन्छ यसै भन्न सकिँदैन। अहिले आधुनिक चिकित्सा पद्धतिमा पनि सजिलै पत्ताा लगाउन सकिँदैन। अण्डवाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु यसको कारण हुन सक्छ।
विराटनगर पुग्दा उनको इक्टोपिक फुटेकाले अवस्था गम्भीर भइसकेको थियो। उनलाई बचाउन तुरुन्त शल्यक्रिया गरेर गर्भका कारण फुटेको अण्डाशय हटाएर त्यहीँबाट बगेको रगत रोक्नुपर्ने थियो। फुटेको अण्डाशयबाट रगत बगेर पेटमा जम्मा भइरहेको थियो। त्यसैले उनको अवस्था गम्भीर भइरहेको थियो। सावित्रीलाई एकातिर शल्यक्रिया गरेर बगिरहेको रगत रोक्नुपर्ने थियो भने अर्कातिर अत्यधिक मात्रामा खेर गएको रगतको बदलामा तत्काल रगत दिनु आवश्यक थियो। तर त्यस दिन विराटनगर ब्लड बैंकमा उनलाई चाहिने समूह (ए पोजेटिभ) रगत थिएन। रातको १०ः३० भइसकेको थियो। रगत कहाँबाट ल्याउने ? रगत नै नभर्ई शल्यक्रिया कसरी गर्ने ? र सो नगरे सावित्रीलाई कसरी जोगाउने ?
यस अवस्थामा रगत नभएकाले शल्यक्रिया गर्न सकिन्नँ, अन्य अस्पताल लैजानु भनेर नैतिक जिम्मेवारीबाट पन्छिन गार्हो भयो। काठमाडौं मेडिकल कलेज अनि प्रसूति गृहमा अध्ययनका क्रममा यस्तो आपतकालीन अवस्थामा साथीहरूले रक्तदान गरेको देखेको सम्झे अनि त्यसैलाई अनुसरण गर्दै सो समूहको रगत भएका साथीभाइ, कर्मचारी खोजियो र रगत दिन आग्रह गरेर शल्यक्रिया गरेर एउटा आमालाई जोगाउन सफल भइयो। उनका बच्चाहरू टुहुरा हुन पाएनन्। इक्टोपिक प्रिग्नेन्सी हुने र सो फुटेर गम्भीर अस्पतालमा अस्पताल आउने सावित्री पहिलो पक्कै होइन। उनीजस्तै धेरै महिलाको इप्टोपिक प्रिग्नेन्सी हुने गरेको छ। जोसुवा एच बारस र उनको समूहले २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा १–२ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ९ प्रतिशत गर्भवतीहरूको मृत्यु हुने गरेको देखाएको छ। मडु एई र उनका साथीले बेलायतको नर्थ टेनिसाइड जेनेरल अस्पतालमा गरेको अध्ययनले बेलायतमा १.१५ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ४ प्रतिशत गर्भवतीहरूको मृत्यु हुने गरेको देखाएको छ।
नेपालमा पनि यसबारे धेरै अध्ययन भएका छन्। जोशी एल टेनोरी र उनका साथीहरूले हालै गरेको अध्ययनले उत्तरी अमेरिकामा १९.७ प्रतिहजार गर्भ इक्टोपिक प्रेग्नेन्सी हुने गरेको र इक्टोपिक प्रेग्नेन्सी नै गर्भको पहिलो तीन महिनाभित्र मातृमृत्यु गराउने प्रमुख कारण भएको ठहर गरेको छ। डा. चन्दा कार्कीको समूहले बी एन्ड बी अस्पतालमा सन् १९९७ देखि २००५ सम्म आठ वर्ष लगाएर अस्पतालमा भर्ना गरिएको ४ हजार ८ सय ६० गर्भवतीहरूमा गरिएको अध्ययनले १.८ प्रतिशत गर्भवतीमा इक्टोपिक प्रिग्नेन्सी भएको देखाएको थियो। तर पछिल्लो समयमा इक्टोपिक प्रिग्नेसीका संख्या बढ्दो देखिन्छ। अझ यस्ता इक्टोपिक फुटेर सिकिस्त र गम्भीर अवस्थामा अस्पताल आउनेको संख्या बढ्दो छ। गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरीकरण (फर्टिलाइजेसन) हुनु हो। यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ। फर्टिलाइजेसन पछि बनेको जाईगोट (गर्भ) पाठेघरमा टाँसिन्छ (इन्प्लान्ट हुन्छ) र पाठेघरमा भु्रणको रूपमा विकास हुन्छ। तर जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा (बिशेषतः अण्डवाहिनी नलीमा) टासिनु (इन्प्लान्ट हुनु) लाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ।
इक्टोपिक प्रिग्नेन्सी किन हुन्छ यसै भन्न सकिँदैन। अहिले आधुनिक चिकित्सा पद्धतिमा पनि इक्टोपिक प्रिग्नेन्सी हुनुका कारणहरू सजिलै पत्ता लगाउन सकिँदैन। अधिकांश अवस्थाहरूमा कारण पत्ता लाग्दैनन्। अण्डवाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु इक्टोपिक प्रेग्नेन्सीका कारण हुन सक्छ। पछिल्लो समयमा पिआईडी अर्थात् अण्डाशय, अण्डवाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ। पिआईडी बढेसँगै इक्टोपिक प्रेग्नेन्सी पनि बढ्दै गएको देखिएको छ, त्यसैले पनि पिआईडी यसको प्रमुख कारण हो भन्दा फरक नपर्ला। सन् २००२–२००४ मा डा. पुनमको चिकित्सकीय समूहले बिपिकेआईएचएस धरानमा गरेको अध्ययनले पनि पेल्भिक इन्फलामेट्ररी डिजिज् (पिआईडी) भएका महिलामा सबैभन्दा इक्टोपिक भएको देखाएको छ। महिलाको उमेर बढी हुनु, बाँझोपनका उपचार गरेर रहेको गर्भ, धुम्रपानको सेवन, धेरैपटक गर्भपतन गराएको तथा पहिले पनि इक्टोपिक भइसकेका महिलाहरूमा इक्टोपिक प्रेग्नेन्सी बढी हुने गरेको देखिए तापनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न।
कुनै समस्या नरहेका महिलाहरूमा पनि इक्टोपिक प्रेग्नेन्सी हुनसक्छ। त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परीक्षण गर्नु तथा अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नु बुद्धिमानी हुन्छ। इक्टोपिक प्रिग्नेन्सी हुनेबित्तिकै अवस्था गम्भीर हुन्छ र तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन। तर ‘इक्टोपिक रप्चर’ अर्थात् त्यस्तो गर्भ फुटेर आएपछि शल्यक्रियाको विकल्प हुँदैन। समयमा शल्यक्रिया गरेर फुटेको ठाउँबाट हुने रक्तस्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ। यसरी इक्टोपिक रप्चर भइसकेपछि फुटेको ठाउँबाट खेर गइरहेको रक्तस्राव रोक्न शल्यक्रिया गर्नुपर्ने हुन्छ। यो गम्भीर अवस्था हो। यस अवस्थामा तुरुन्त रगत दिन नसके र शल्यक्रिया गर्न नसके महिलालाई बचाउन सकिँदैन।
इक्टोपिक प्रिग्नेन्सी फुट्नुभन्दा अगाडि नै पत्ता लगाउन सकिए औषधिले पनि उपचार सम्भव हुनसक्छ। यस अवस्थामा बिमारीलाई भर्ना गरेर आवश्यक परीक्षणहरू गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गर्न सकिन्छ, यद्यपि यो उपचार पद्धतिको आफ्नै जटिलताहरू छन् र त्यसैले धेरै लोकप्रिय छैन। यस अवस्थामा ज्यादै न्युन संख्यामा बिमारी आउने गरेको पाइन्छ। अधिकांश अवस्थामा इक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाइन्छ। इक्टोपिक प्रिग्नेन्सी फुट्ने समय सबैको एउटै हुन्छ भन्ने छैन। अधिकांशको गर्भ रहेको ७–८ हप्ता अर्थात् करिब २ महिनामा इक्टोपिक प्रिग्नेन्सी फुट्ने गरेको पाइन्छ। ११ हप्तासम्म पनि नफुटेका केही इक्टोपिक प्रिग्नेन्सीहरू पनि छन्। इक्टोपिक प्रिग्नेन्सी फुटेपछि गर्भवतीलाई अत्याधिक पेट दुख्ने, पेट फुलेको देखिने, पहेलो हँुदै जाने तथा सिकिस्त हुँदै जाने हुन्छ। यस अवस्थाम पेटभित्रै पनि रगत जम्मा हुन सक्ने भएकाले योनीमार्गबाट धेरै रगत बगेको नहुन सक्छ।
इक्टोपिक प्रिग्नेन्सीमा गर्भलाई कहिलेकाँही जोगाउन सकिँदैन तर समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ। फेरि गर्भ राख्न सक्ने पनि हुनसक्छ। त्यसैले इक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हँुदैन। बरु हरेक गर्भ इक्टोपिक हुनसक्छ र सम्भव भएसम्म सावधानी अपनाउनुपर्छ। गर्भको योजना बनाउनु अगाडि नै चिकित्सकसँग परामर्श (प्रिकन्सेप्सनल काउन्सेलिङ) गर्नु, पिआईडीको उपचार गर्नु, धुम्रपान नगर्नुजस्ता चलाखीले इक्टोपिक प्रिग्नेन्सी हुनबाट केही हदसम्म बचाउन सक्छ भने गर्भ रहेको थाहा पाउनेबित्तिकै सोही समयदेखि नियमित परीक्षण गर्नुपर्छ। गर्भ रहेको ६ देखि ८ हप्ताभित्रै केही नभए पनि अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नाले इक्टोपिक प्रिग्नेन्सी फुट्नु अगाडि नै पत्ता लगाउन सकिन्छ र यसको जटिलताहरूबाट बच्न सकिन्छ।
-लेखक प्रसुति तथा स्त्रीरोग विशेषज्ञ हुन्।