यसरी हुन्छ समाज सुधार
नैतिक्ता र सदाचार नै जीवन जिउने असल कला हो । पथ भ्रष्ट समाजले सबै व्यक्ति वा देशलाई नै खाल्टोमा हाल्छ । राजनीतिकर्मीहरू इमान्दार भएनन् भने समाज विकृत बन्छ, कानुनले मात्रै त्यसलाई नियन्त्रण गर्न सकिन्न । व्यक्ति व्यक्तिलाई प्रहरी लगाएर सम्भव हुन्न । समाज सभ्य भएमा राज्यले ठूलो खर्च अपराध नियन्त्रणमा गर्नु पर्दैन । त्यो खर्च विकास, निर्माणमा लगाउन सकिन्छ । नागरिकमथि ढाडै सेक्ने गरी कर उठाउनु पनि पर्दैन, नेतृत्वले राजनीतिक दाउपेच मात्रै होइन, सामाजिक अभियन्ता भएर पनि सोच्नु उत्तम हुन्छ । छाडा छोडेको साँढे र बेलगामका अगुवाहरू भएपछि देशमा रोदन सुरु हुन्छ । देशले अभिभावक नपाएको महसुस गर्छ ।
अरूको निन्दा गर्नु हुन्न, झूठ बोल्नाले आफूले पहिले गरेको यज्ञ वा शुभ कर्मको फल क्षीण हुन्छ। आफ्नो बखान आफैं गर्ने, घमण्ड गर्नेकोे पनि पुण्य नाश हुन्छ। विद्यादान अझ श्रेष्ठ दान हो।
प्रकट गर्दा पाप घट्छ, प्रकट गर्दा नै धर्म पनि घट्छ । पाप भन्नु प्रदूषण हो । तन, धन र मनको प्रदूषणले व्यक्ति समाज र पूरै देश कंगाल हुन्छ । आचरणलाई त्याग गर्ने, कोरा तर्क मात्र गर्ने, देश निन्दक, देव निन्दकलाई नराधम भनिन्छ । विधर्मीले गरेको काम कुनै पनि राम्रो हुन्न । माता, पिता, वंश, गुरु, मठ, मन्दिरको निन्दा गर्नेलाई स्वयं वेदले पनि चोख्याउन सक्दैन । यज्ञबाट वातावरण अनुकूल हुन्छ, समयानुसार आकाशमा बादल जम्मा भई सन्तुलित वर्षा हुन्छ । अति वृष्टि, अनावृष्टिले समाज मात्रै होइन, देशै सखाप हुन्छ । झूठको खेती गर्दै महात्मा बन्ने, जे पनि खाने, बेहासी भई दुव्र्यसनमा लाग्नेको न मुख चोखो हुन्छ, न उसको बोली शुद्ध हुन्छ । न उसले गरेका कामको परिणाम दिगो र सकारात्मक नै ! लडाइँ, झगडा, चुक्ली, ब्याजखोर, अर्काको सम्पत्तिमा आँखा गाड्ने, लाज हराएको, हिंस्रक राक्षसी प्रवृत्तिको मानिसबाट भएको समाज सुधार खोक्रो हुन्छ ।
लोभी र पापीको धन प्रयोग गर्दा पनि, उसको संगत गर्दा पनि लक्ष्मी प्रसन्न हुन्नन् । लक्ष्मीको बास भनेको हातको ठेलामा, मिहिनेत, पसिना र परिश्रममा हुन्छ । धन दुई प्रकारको हुन्छ, लक्ष्मी र अलक्ष्मी । गाईको गोबरले लिप्नु र लक्ष्मी पूजामा गाईको गोबर प्रयोग त्यसैले गरिएको हो । गाईका अंगअंगमा ३३ कोटी देवता बसेका हुन्छन् । त्यसैले गोहत्या ठूलो अपराध भनिएको हो । गाई, गीता, गंगाको अपमान भनेको मानिसको आफ्नै अपमान हो । गाई, गोरु पूजा हाम्रो संस्कार थियो । गाईको मर्यादा हुञ्जेल हामीलाई चामलमा भिक्षार्थी बन्नु परेको थिएन । हलो, कोदालो गोरुको काम हुञ्जेल मलको अभाव थिएन । भकारीभरि धान हुन्थ्यो, आजको जस्तो डोजरे विकास नहुँदा यत्राविधि प्राकृतिक प्रकोप खेप्नु पनि परेको थिएन । गाईमा सम्पूर्ण तीर्थ बसेको हुन्छ, गाईको चार थुन भनेको चार समुद्र हो । जमीनको पूजा भनौं माया गर्ने, गोसेवा गर्ने, गहुँ, जौको सेवा र त्यसका वरिपरि बस्दा मानिसको शान नै अलग हुन्छ । रोग लाग्दैन, गाईलाई स्वयं ब्रह्माजीले अग्नि कुण्डबाट धर्तीमा प्रकट गराएका हुन् ।
संस्कारले हीन भएको, गायत्री, दीक्षामन्त्रको उपासना नगर्ने, आफ्नो मन्त्र सिद्धि गर्न नसक्नेले गरेको समाज सेवा निरर्थक हुन्छ । ढुंगामा वा मूर्तिमा देवता मान्छेले बनाउने हो, त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले उसको दिमागले सिर्जना गरेको विज्ञानको दुरूपयोग गर्नु हुन्न । विज्ञान ज्ञानको उपज हो । विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो । त्यसैले व्यक्ति सबै आस्तिक हुन जरुरी छ, आस्तिक हुँदैमा सधैं मन्दिर जानुपर्ने होइन । शरीर नै मन्दिर हो, यसभित्र रहेको आत्मा परमात्माको निराकार रूप हो । यो रूप मान्छेमा मात्रै होइन, हरप्राणीमा हुन्छ । त्यसैले सकेसम्म मांसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नु भनिएको हो । यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले गति छोड्न थाल्छ, बेहोसी भई ।
रोषपूर्वक अरूलाई दिएको वस्तुले परिणाम राम्रो दिँदैन । देव सम्पत्ति हडप गर्ने, स्त्रीको धनमा आशक्ति देखाउने, अरूलाई दिएकोमा बखान र पछुतो गर्ने, चोरीको धन अरूलाई दिने, मठमन्दिरमा लगाउने, पतीतको हातको अन्न खाने, दम्भले धनार्जन गर्ने, अर्काको मन दुःखाएर आर्जन गर्ने, शोषण गर्ने, वेदको बिक्री गर्ने, अरूलाई निन्दा र अपमान गर्नेको हात कहिल्यै पवित्र हुँदैन । भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन् । स्वीकृति नभई दाजुको बिहे नगरी बिहे गर्ने, दूषित योनीबाट जन्मेको, विवाह नगरी कन्याबाट जन्मिएको व्यक्ति समाज सुधारक हुन सक्दैन । वीर्य शुद्ध नभई व्यक्ति शुद्ध हुन्न, माटोको घडामा मदिरा हालेपछि धोएर शुद्ध हुन्न । वीर्यले आत्मा बन्ने हो, धर्मको पालन गर्दा आयु, तेज, बल, यश, कीर्ति बढ्छ । कीर्तिमान व्यक्तिले नै समाजको सुधार गर्न सक्छ, बाटो देखाउन प्रज्ञावान हुनु जरुरी छ । आफैं पथभ्रष्ट, हत्यारा, देशद्रोही छ भने देशको सुधार गर्छु भन्नु नाटक मात्र हुन्छ ।
रंगकर्मीहरूले एकछिन मञ्चमा नाटक देखाउँछन्, नाटक मञ्चनपछिको चित्र अर्कै हुन्छ । ग्लिसिरिन राखेर आँखामा आँसु देखाएजस्तो वा गोहीको आँसुजस्तै हो । भूमण्डलका देवता अरू कोही होइनन्, मान्छे नै हुन् । जो उपकारी वा परोपकारी छ, स्वआचरणबाट जो टाढा भएको छैन, नित्य प्रणव मन्त्र गायत्री जप्छ, सन्ध्या वन्दन गर्छ, देव पितृहरूलाई बिर्सँदैन, समाजलाई माया गर्छ उही देवता हो, मृत्युपछिको स्वर्ग कल्पना मात्रै हो । यो धर्तीमा जीवित अवस्थामै स्वर्ग नपाउनेले पछि स्वर्ग पाउँदैन । बोलीको संयमता, आचरणले सज्जित व्यक्तिको समाज नै स्वर्ग हो । जहाँ हिंसा हुन्न, मांस भक्षण हुन्न, मदिरा पान हुन्न, चोरी, उपद्रव हुन्न, समाजमा रहेका हरमानव र धर्तीमा रहेका हरजीवको मान्यता हुन्छ । त्यो स्वर्ग हो । अतिथिको सेवा, अरूलाई दिएर आफू खाने, सन्तोषी व्यक्ति नै समाजको अगुवा हुन्छ ।
मनपरि ढंगले राज्यको स्रोत उडाउने व्यक्ति तेजहीन हुन्छ, नागरिकको श्राप लाग्छ । त्यस्तै अशुद्ध व्यक्तिको हातको अन्न खाने व्यक्तिको आयु क्षीण हुन्छ, यशको नाश हुन्छ । कुलको इज्जत बेच्ने छोराछोरीको, देशको अस्मिता लुटाउने नेतृत्वको, व्यभिचारी, हत्याराले दिएको खाने व्यक्ति पनि पतित हुन्छ, उसले गरेको कर्म शुभ हुन्न । अन्जानमा खाइएको रहेछ भने उपवासबाट चोखिनु पर्छ । पानी, अनाज, वस्त्र, दैनिक उपभोगका यावत् सरसामग्री बिक्री गर्ने उद्यमी, व्यापारीले निश्चित रकमबाहेक नाफा नलिई गरेको बजार, व्यापारबाट कुवेर खुसी भई उसलाई धनको वर्षा गरिदिन्छन् । यो नियम सबै सेवाक्षेत्र कानुन, पत्रकार, शिक्षण, बैंकिङ, पर्यटन हरेकक्षेत्रमा लागू हुन्छ, कारण विकासका आधारशीला यी सबैक्षेत्र अथर्व वेदका उपज हुन्, संगीतक्षेत्र सामवेद हो ।
आपूर्तिक्षेत्रमा काम गर्नेको मन तृप्त हुन्छ । यसरी समाज सेवा गर्नेेलाई अक्षय सुख प्राप्त हुन्छ । निर्माण सामग्री सबै किसिमका फलाम, सुन आदि धातुबाट सेवा गर्ने व्यक्ति दीर्घायु हुन्छ, कारण सबै धातु शिवको वीर्य हो । धनबाट अरूको सेवा गर्नेले यौवन अवस्थामै त्यसको पुण्य प्रतिफल पाउँछ । भोजन गर्दा कसैको निन्दा गर्नु हुन्न, अन्नमा दोष देख्नु हुन्न । जलले खानाको प्रदक्षिणा गरेर केही अंश चढाएर मात्रै भोजन सुरु गर्नु पर्छ । अन्त्यमा एक गाँस छोड्नु पर्छ । अन्न प्राण हो, पञ्च प्राण भनिन्छ यसलाई । खाँदा खाँदै छोडेको खाना फेरि खानु हुन्न, खाना खाइसकेपछि उठेर पानी पिउनु हुन्न । पतिपत्नी भए पनि एउटै थालमा एकैपटक खाना खानु हुन्न । पिएर बाँकी भएको पानी फेरि पिउनु हुन्न, कहिले धेरै बढी, कहिले धेरै कम खाने, सन्तुलित आहार विहार नगर्ने, रजस्वला, पतित, कुकुर स्पर्शको खाना खाने, आफ्नो जूठो अरूलाई दिने, मुखले फुकेर चिसो पारेको खाना खाने, लात्ती लागेका अनि खाँदै छोड्दै गरेको खाना खाने व्यक्तिले गरेको समाजसुधार निरर्थक हुन्छ ।
अरूको निन्दा गर्नु हुन्न, झूठ बोल्नाले आफूले पहिले गरेको यज्ञ वा शुभ कर्मको फल क्षीण हुन्छ । आफ्नो बखान आफैं गर्ने, घमण्ड गर्नेकोे पनि पुण्य नाश हुन्छ । विद्यादान अझ श्रेष्ठ दान हो, सकेसम्म विद्या बढाउनु पर्छ । यो जति दियो त्यति नै बढ्छ । विद्याले विनयी बनाउँछ, विनयीले सबै सफलता पाउँछ । समाजको अगुवा पनि हुनसक्छ । खुलेर उद्यम, वाणिज्य, आपूर्ति, असल व्यापार, व्यवसाय, शिक्षण कुनै पनि सेवाबाट असल सेवक बन्न सकिन्छ । राष्ट्रको सेवा गर्न सकिन्छ, समाज सुधारक बन्न सकिन्छ ।