विकास खर्च निराशाजनक
परासी : चालू वर्षको असार मसान्त सकिन लाग्दासमेत पश्चिम नवलपरासीका स्थानीय तहहरूको विकास खर्च निराशाजनक देखिएको छ। जिल्लामा सात स्थानीय तह छन्। दुई स्थानीय तहबाहेक बाँकी स्थानीय तहहरूको विकास खर्च ३७ प्रतिशतभन्दा पनि कम छ। आ.व. २०७७/०७८ मा छुट्ट्याइएको यो पुँजीगत खर्च असार तेस्रो हप्तासम्मको हो।
कोभिड–१९ का कारण पुँजीगत खर्च गर्न नसकेका स्थानीय तहहरूले बताएका छन्। ठेकेदारको लापरबाहीका कारण पनि समयमा काम हुन नसक्दा खर्च हुन नसकेको स्थानीय तहको अनुभव छ। सबै स्थानीय तहहरूले यस आवको अन्तसम्म बढीमा ८० प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुन नसक्ने अनुमान गरेका छन्।
पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा सुनवल नगरपालिका छ। १ अर्ब १० करोड बजेट रहेको सुनवलले पुँजीगततर्फ २९ प्रतिशत रकम मात्र खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए। कुल वित्तीय प्रगति ५८ प्रतिशत गरेको नगरपालिकाले चालूतर्फ ६७ प्रतिशत खर्च गरेको छ। त्यसैगरी पुँजीगत रकम सबैभन्दा कम खर्च गर्ने अन्य स्थानीय तहहरूमा रामग्राम नगरपालिका, सुस्ता र प्रतापपुर गाउँपालिका छन्। उनीहरू सबैले ३६ प्रतिशतभन्दा बढी रकम पुँजीगतमा खर्च गर्न सकेका छैनन्।
१ अर्ब १८ करोड बजेट रहेको रामग्रामले कुल वित्तीय प्रगति ५३ प्रतिशत गरेको छ। जसमा चालूतर्फ ७१ प्रतिशत रकम खर्च भएको योजना अधिकृत रामलाल भुसालले जानकारी दिए। त्यस्तै ६४ करोड ७५ लाख बजेट रहेको सुस्ता गाउँपालिकाको कुल वित्तीय प्रगति ४६ प्रतिशत छ। जसमा चालूतर्फ ५९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले जानकारी दिए। त्यसैगरी ७६ करोड ५० लाख बजेट रहेको प्रतापपुर गाउँपालिकाले कुल वित्तीय प्रगति ६७ प्रतिशत गरेको छ। जसमा चालूतर्फ ८३ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिए।
पुँजीगततर्फ ५० प्रतिशतभन्दा माथि खर्च गर्नेमा बर्दघाट नगरपालिका, सरावल र पाल्हीनन्दन गाउँपालिका छन्। १ अर्ब १ करोड बजेट रहेको बर्दघाट नगरपालिकाले ६१ प्रतिशत पुँजीगत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिए।
कुल ७१ प्रतिशत वित्तीय प्रगति गरेको नगरपालिकाले चालूतर्फ ८२ प्रतिशत खर्च गरेको छ । पाल्हीनन्दन गाउँपालिकाले ६० प्रतिशत पुँजीगत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए। कुल ५५ करोड ४१ लाख बजेट रहेको गाउँपालिकाको कुल वित्तीय प्रगति ६७ प्रतिशत छ। जसमा चालूतर्फ ७४ प्रतिशत खर्च भएको छ।
त्यस्तै सरावल गाउँपालिकाले ५८ प्रतिशत पुँजीगत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए। ५४ करोड ५८ लाख बजेट रहेको गाउँपालिकाले कुल वित्तीय प्रगति ६० प्रतिशत गरेको गाउँपालिकाको चालू खर्च ८० प्रतिशत छ।