खुकुरी बनाएरै पक्की घर
भोजपुर : टेम्केमैयुङ गाउँपालिका–७, कोटका गणेश गजमेर ५४ वर्ष लागे। १२ वर्षको कलिलो उमेरमै उनी बावुसँग आरनमा बसेर खुकुरी पिट्ने गर्थे। घरको आरनमा फलाम पिट्ने पेशाले परिवार धान्न गाह्रो थियो। पछि उनी पैसा कमाउने सपनाले विदेश हाक्किँए। तर, विदेशमा पनि उनले राम्रो कमाएनन्। अन्ततः उनी घर फर्किए। घर फर्केर पुख्र्यौली आरनमा फलाम पिट्ने पेशा उनले अंगाले।
गाउँभन्दा बजारमा राम्रो कमाई हुने ठानेर उनी सदरमुकाम निस्किए। भोजपुर सदरमुकाममै सानो खुकुरी उद्योग खोलेर बसेका स्थानीय हिरा श्रेष्ठले उनलाई आफ्नो आरनमा खुकुरी बनाउने काम दिए। अन्य कालीगढभन्दा गणेश निकै पोख्त थिए। अरुको सिपको बसमा नभएको ग्लेन्डर (खुकुरीजन्य हतियार धार लगाउने मेसिनरी उपकरण) उनी आफंै चलाउने गर्थे। महिनाको २४/२५ हजार पारिश्रामिक ज्यालादारीमा काम गर्ने गणेशले आफ्ना ३ भाइ छोरालाई पनि सोही आरनमा खुकुरी बनाउन सिकाए।
कमाउने र घरघडेरी जोड्ने सपनाले उनका ठूलो छोरो सुनील २०६६ सालमा बाबु गएकै ठाउँ मलेसिया हाँकिए। तर, सोचेजति कमाई नभएपछि उनी पनि घर फर्किए। अन्य सीप नलागेपछि सुनीलले पनि बाबुसँग हिरा श्रेष्ठकै खुकुरी बनाउन थाले। विदेशभन्दा स्वदेशमै खुकुरी बनाएर घरपरिवार राम्रै धाने पनि, बाबु छोराले। उक्त आरनमा करिब ८ वर्ष लामो काम गरेर गणेश र उनका छोराहरूले २०७० साल असोजतिर आफ्नै खुकुरी आरन खोले। घरेलु तथा साना उद्योगमा ‘रञ्जिता खुकुरी उद्योग’ दर्ता गरी निजी लगानीमै आफ्नो व्यापार सुरु गरे। आफ्नै आरन र पसल भएपछि खुकुरीले राम्रो बजार पाउनुको साथै रातारात माग बढ्न थाल्यो।
आम्दानी राम्रो हुन थालेपछि कच्चापदार्थ र अन्य कालीगढ पनि राम्ररी धाने। मासिक अढाइ लाखसम्म आम्दानी हुन्थ्यो। नभन्दै करिब ३ वर्षको अन्तरालमै सदरमुकाम छेउमा गणेशले दुई तले पक्की घर बनाए। करिब ६५ लाखको हाराहारीमा पक्की घर बनेको छ। खुकुरीको आम्दानीले उनी र उनको परिवारको सपना पूरा भयो। विदेशमा दुःख गरे पनि कमाईको नाममा परिवार नधानेपछि वैकल्पिक पेशाको रूपमा थालेको खुकुरी बनाउने पेशाले नै अन्ततः उनको सपना साकार तुल्यायो।
अहिले पनि सोही आरनले मासिक २ लाखसम्म आम्दानी दिन्छ। कुनै बेला विदेशमा कमाएको पैसाले मुस्किलले घरखर्च धान्ने गणेशको परिवारलाई अहिले यही पेशाले विदेशमा भन्दा कुस्त कमाई गर्ने गतिलो आयस्रोत बनेको छ। खुकुरी बनाउने पेशाप्रतिको हिचकिचाहट छोडेर काम गर्ने हो भने यहीँ विदेशको कमाईभन्दा बढी आम्दानी गर्न सकिने गणेश सुनाउँछन्। उनी भन्छन्, ‘काम गर्न सक्नेका लागि यो पेशाले रामै्र सन्तुष्टि दिन्छ। यो पेशाप्रतिको चासो लिने युवापुस्तालाई भने पैसा कमाउन विदेशै गइरहन पर्दैन।’ महिनामा ३ सयदेखि ४ सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले आरनमा खुकुरी बनाउन भ्याइनभ्याइ हुने गरेको उनी सुनाउँछन्। प्रत्येक १० इञ्चका खुकुरी बराबर ५ सय रुपैयाँ पारिश्रमिक लिने गणेशले प्रतिदिन चार वटासम्म खुकुरी बनाउन भ्याउँछन्।
देश–विदेशमा राम्रो छवि बनाएको लोकप्रिय भोजपुरे खुकुरीको साख गिर्नबाट बचाउन र राम्रो आम्दानीको स्रोत बनाउन सकिने उनको ठम्याइ छ। सम्भावना भएर पनि गाह्रो, फोहोरी काम भएकाले पछिल्लो पिँढीहरू बिदेसिने क्रमले भोजपुरे खुकुरीको इज्जत धान्न नसकिने उनको गुनासो छ। खुकुरी बनाएरै स्वदेशमै केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण रहे पनि सजिलो कामप्रतिको चासोले भोलि भोजपुरे कला र कौशल इतिहासमा मात्र नरहला भन्न नसकिने अवस्था रहेको उनको बुझाइ छ। विदेशमा रहँदा १८ घण्टै काममा लादिँदा पनि मासिक ३० देखि ३५ हजार तलब बुझ्ने सुनील अहिले खुकुरी बनाएरै मासिक ७० हजारसम्म आम्दानी हुने सुनाउँछन्। खुकुरी बनाउने पेशा अन्य पेशाभन्दा गाह्रो हुने भए पनि परिश्रम तिखार्न सके यो पेशाबाट छोटो समयमै आर्थिक उन्नति गर्न सकिने उनी बताउँछन्। ‘यही पेशालाई माया गरेर परिश्रम गर्न सके विदेशमा कमाइनेभन्दा दोब्बर कमाई गर्न सकिन्छ’, उनले भने, ‘नेपालमा जागिर खाएर कहिल्यै उन्नति होला भन्न सकिन्न तर चासो दिएर, मन लगाएर, लाज नमानी यो पेशा अँगाल्ने हो भने यही पेशाले छिट्टै उन्नति गर्न सक्छ।’
२०२७ सालमा राजा महेन्द्र राजकीय भ्रमणको क्रममा भोजपुर आउँदा स्थानीय बोखिमका सिंगबहादुर विश्वकर्मा ‘सिने’ भन्ने एक खुकुरी उद्यमीले राजालाई खुकुरी उपहार स्वरुप दिएपछि कुखुरीको कौशलले आकर्षित भए। राजा महेन्द्रले त्यस समयको एक हजार रुपैँया बक्सिस स्वरुप दिएका थिए। त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको स्थानीय कथन छ।