पारा खेलाडीमाथि राज्यकै विभेद

पारा खेलाडीमाथि राज्यकै विभेद

काठमाडौं : अहिले सारा विश्वको ध्यान जापानमा केन्द्रित भएको छ। आगामी शुक्रबारदेखि सुरु हुन लागेको ३२औं गृष्मकालीन ओलम्पिक खेलकुदलाई सारा विश्वले हेरिरहेको छ। गत वर्ष नै आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। 

टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन्।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। कल्पना र सोनियाले भने वाइल्ड कार्ड पाएका छन्। टोकियो ओलम्पिकमा गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले ४८ केजी तौलसमूह र सरस्वतीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असीम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल छन्।

टोकियो ओलम्पिकमा सहभागी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचतारे होटल सोल्टीमा बन्द प्रशिक्षणमा राखेको थियो। १५ दिन बन्द प्रशिक्षणमा बसेका उनीहरू आज जापान उड्दै छन्। पौडीका दुई खेलाडी र एक प्रशिक्षक भने यसअघि नै जापान पुगिसकेका छन्। उनीहरूले उतै तयारी पनि गरिरहेका छन्। 

टोकियो ओलम्पिक सकिएको एक महिनापछि पारा ओलम्पिक पनि सुरु हुँदैछ। पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले गर्दै छिन्। उनले के. ४४ अन्तर्गत ५८ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन्। पलेसा विश्व वरीयतामा १३औं स्थानमा छिन्। त्यही कारण उनीबाट पदकको आशा गरिएको छ। तर, ओलम्पिकमा अहिलेसम्म सहभागी मात्रै हुँदै आएको नन् पारा खेलाडीलाई पाँचतारे होटलमा राखेको राष्ट्रिय खेलकुद परिषद्ले पारा ओलम्पिकमा सहभागी हुने खेलाडीका विषयमा भने जानकारीसम्म लिएको देखिँदैन। पारा खेलाडीका विषयमा आफूलाई केही पनि जानकारी नभएको राखेपको राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्रकुमार राई बताउँछन्। ‘पारा ओलम्पिकमा को–को जाँदैछन् भन्ने हामीलाई अहिलेसम्म आधिकारिक केही पनि जानकारी छैन’, राष्ट्रिय टिम तयारी निर्देशक राई भन्छन्, ‘भोलिका दिनमा सदस्यसचिवबाट निर्देशन आएमा बन्द प्रशिक्षणमा राख्न तयार छौं।’

नेपाल तेक्वान्दो संघअन्तर्गतको पारा तेक्वान्दो कमिटीका अध्यक्ष कासिममियाँ धोबीले पारा खेलाडीको बन्द प्रशिक्षणका लागि परिषद्सँग पटकपटक जानकारी गराउँदा पनि आश्वासन मात्रै दिएपछि व्यक्तिगत खर्चमै विगत १५ दिनदेखि बन्द प्रशिक्षणमा राखेको बताउँछन्। ‘पारा खेलाडीबाट ओलम्पिकमा पदकको सम्भावना छ भनेर बन्द प्रशिक्षणमा राख्नका लागि हामी परिषद्मा पटकपटक धाउँदै आएका छौं। उहाँहरूले अहिलेसम्म आश्वासन बाहेक अरू केही पनि दिनु भएको छैन’, अध्यक्ष  धोबी भन्छन्, ‘राज्यले नै पारा खेलाडीमाथि विभेद गरेको देख्दा चित्त दुख्छ।’ उनले पारा खेलाडीलाई पाँचतारे होटलमा राख्न नसके पनि खान र बस्नको राम्रो सुविधा दिएर बन्द प्रशिक्षणमा राखेको दाबी गर्छन्। ‘हामीले नन् पारालाई जस्तो पाँचतारे होटलमा त राख्न सकेका छैनौं’, उनी भन्छन्, ‘तर, खान र बस्नका लागि राम्रो सुविधा दिएका छौं।’ 

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामामा पारा ओलम्पिकमा पदक जित्नकै लागि तयारी गरिरहेको बताउँछन्। ‘विश्व वरीयतामा पलेसा १३औं स्थानमा भए पनि समग्रमा भने हामी पाँचौं स्थानमा छौं। डेनमार्क, चीन, रुस र टर्कीका खेलाडीबाहेक अरूलाई हामीले यसअघि पराजित गरिसकेका छौं’, प्रशिक्षक लामा भन्छन्, ‘हामीभन्दा माथि रहेका राष्ट्रका खेलाडीसँग पनि अंकका आधारमा झिनो अन्तरले मात्रै पराजित भएका छौं। विगतमा भएका गल्तीहरूलाई केलाएर पदक जित्नैका लागि तयारी गरिरहेका छौं।’

पारा तेक्वान्दो कमिटीले खेलाडी र प्रशिक्षकलाई ललितपुरको मानभवनमा रहेको हङ्ग्री ट्रिट होम होटलमा राखेको छ। प्रशिक्षणका लागि मानभवनबाट सातदोबाटोमा रहेको तेक्वान्दो एकेडेमीमा उनीहरू मोटरसाइकलमा जाने र फर्किंदा पनि मोटरसाइकलमै फर्किने गरेका छन्। वर्षात्को समयमा मोटरसाइकलमा यात्रा गर्दा निकै समस्या हुने गरेको प्रशिक्षक लामा बताउँछन्। ‘अहिलेको समयमा मोटरसाइकलमा यात्रा गर्नु निकै जोखिमपूर्ण छ। खाल्डाखुल्डीमा परेर लडिन्छ कि भनेर डराइडराई हिँड्नु परेको छ’, प्रशिक्षक लामा भन्छन्, ‘एउटा हात नभएको खेलाडीलाई मोटरसाइकलमा ओसारपसार गर्न निकै कठिन छ।’

नेपाल पारा ओलम्पिक संघकी अध्यक्ष राधा घलेले खेलाडीको प्रशिक्षणका लागि राखेपसँग आग्रह गर्दा पनि चासो नदिएको बताइन्। उनले नन पारा खेलाडीलाई करोडौं रुपैयाँ खर्च गर्ने राज्यले पारा खेलाडीलाई कुनै पनि बजेट नदिएको गुनासो गरिन्। ‘अहिलेसम्म ओलम्पिकमा सहभागिता मात्रै जनाएको नन् पारा खेलाडीका लागि करोडौं रुपैयाँ खर्चने सरकारले पारा खेलाडीलाई बेवास्ता गर्नु दुःखद् हो’, अध्यक्ष घलेले भनिन्, ‘समानताको नारा लगाउने राज्यले नै  अपांगमाथि विभेद गरिराखेको छ।’ 

नेपालबाट सबैभन्दा पहिले जितबहादुर खड्काले पारा ओलम्पिक खेलेका थिए। उनी सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागी भएका थिए। एथलेटिक्समा प्रतिस्पर्धा गरेका उनको २०७२ सालको विनाशकारी भूकम्पमा परी निधन भएको थियो। यसैगरी सन् २०१२ को लन्डन ओलम्पिकमा मैयाँ बिशुंखे, विक्रमबहादुर राना र मानबहादुर तामाङले एथलेटिक्समै प्रतिस्पर्धा गरेका थिए। तीमध्ये मानबहादुरको पारा ओलम्पिक खेलेलगत्तै लन्डनमै निधन भएको थियो। विक्रमबहादुर रानाले भने सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजना भएको पारा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए। टोकियो ओलम्पिकअन्तर्गत पारा ओलम्पिक अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.