झन् बढ्यो कटुता

झन् बढ्यो कटुता

काठमाडौं : बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन।’ दोस्रो तहका नेताहरूले पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे। आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन्। 

उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ। आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा नेपाल सहभागी भए। संविधानको धारा उल्लेख नगरी देउवालाई शपथ गराउन खोजेको भन्दै राष्ट्रपति कार्यालयमा विरोध जनाए र सबैभन्दा पहिले देउवालाई बधाई दिँदै खुसी प्रकट गरे। 

त्यसो त नेपाल स्वयं पनि देउवाको शपथ कार्यक्रममा जाने कि नजाने दोधारमै थिए। तर, ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूलाई होच्याएको भन्दै नेपाल शपथ समारोहमा जाने निचोडमा पुगेको उनको सचिवालयले जनाएको छ। कार्यदलले १० बुँदे सहमति गरे पनि ओली र नेपालबीचको बढ्दो द्वन्द्वले एकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्, पार्टी एकतामा सक्रिय दोस्रो तहका नेताहरू। 

ओलीले मौन समर्थन जनाए पनि कार्यदलले गरेको १० बुँदे सहमतिप्रति नेपालले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन्।

आफ्नो पक्षबाट कार्यदलमा राखिएका संयोजक भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँग नेपालले प्रत्यक्ष रूपमै असन्तुष्टि जनाइसकेका छन्। ‘मेरो पक्षबाट कार्यदलमा रहेकाहरूले मेरो सहमतिबिना नै लुत्रुक्क परेर ओलीसँग सहमति गर्ने ?’ उनको असन्तुष्टि यस्तो रहेको निकट नेताहरू बताउँछन्। 

निकटवर्तीका अनुसार ओलीसँग मिल्नुभन्दा देउवासँग भएको सहमतिलाई निष्कर्षमा पुर्‍याएर अघि बढ्ने नेपालले धारणा बनाउन थालेका छन्। अदालतमा विचाराधीन मुद्दामा पार्टी बोल्न नहुने अडान राख्दै आएका उनले असार २८ मा सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि त्यसको स्वागत गरेका थिए। 

नेपालकै निवास नजिक देउवा, नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका उपेन्द्र यादवलगायत तत्कालीन विपक्षी गठबन्धनको बैठक बसेको थियो। बैठकमा भने नेपालले एमालले एकता हुन लागेकाले आफू गठबन्धनबाट बाहिरन सक्ने जानकारी गराए। तर, गठबन्धन छोडेको घोषणा गरेका छैनन्। 

कार्यदलले सहमति गरे पनि आफ्नो नेतृत्वको सरकार ढाल्न अगुवाइ गरेको भन्दै अध्यक्ष ओलीले नेपालप्रति बढी नै असन्तुष्टि जनाउने गरेका छन्। नेपाल बाहेक उनको समूहबाट आउने नेताहरूलाई मात्र पार्टीमा स्थान दिने घोषणा ओलीले गरेका छन्। ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ’, पार्टीका युवा विद्यार्थीको मोटरसाइकल र्‍यालीसहित बालुवाटारबाट बालकोट पुगेका ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’ ओली समर्थक कार्यकर्ताले वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध चर्का नारा लगाएका थिए। 

उता नेपाल निवास कोटेश्वरमा नै पुगेर प्रधानमन्त्री देउवाले सरकारमा आउन नेपाललाई आग्रह गरेका छन्। नेपाल नै देउवा सरकारले विश्वासको मत पाउने÷नपाउने मुख्य शक्ति हुन्। नेपाल पक्षका २३ जना प्रतिनिधिसभा सदस्यले भोट दिएमा मात्रै देउवाले विश्वासको मत पाउने छन्। 

कार्यदलका प्रतिनिधि र युवा पंक्ति भने दुई नेतालाई मिलाउने प्रयासमा अनवरत लागेका छन्। एमाले स्थायी समिति सदस्य सुवास नेम्बाङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जतिसक्दो छिटो बैठक बसाउने तयारी भइरहेको छ।’ त्यसभन्दा बढी बोल्न चाहेनन् उनले। 

माधव पक्षका नेता सुरेन्द्र पाण्डेले पनि पछिल्लो घटनाक्रमले आप्mनो ‘मुड अफ’ भएको भन्दै कुनै प्रतिक्रिया नदिने बताए। नेम्बाङ र पाण्डे एमाले एकताका लागि लाग्ने दुवै पक्षका नेता हुन्। 

उता एमालेको एकतामा लागेको भन्दै माधव पक्षका कार्यदलका संयोजक एवं उपाध्यक्ष भीम रावलमाथि धम्कीसमेत आएको सार्वजनिक गरेका छन्। ओली र नेपालको तिक्तताका कारण एकतामा क्रियाशील भएका दोस्रो तहका नेता पनि दिक्क भएका छन्– उनीहरू मिलाउँछन्, शीर्ष नेता नै वातावरण बिगार्छन्। 

तर, उनीहरू एकताको सहमति भइसकेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताइरहेका छन्। शीर्ष नेताका संयमले नै एकतालाई निर्धारण गर्ने उनीहरूको मत छ। शीर्ष नेताले अहम् त्यागेर पार्टीको विधान, नैतिकतामा रहेर अगाडि बढेमा पार्टीमा कुनै समस्या नरहेको उनीहरूको भनाइ छ। 

ओली–नेपाल तिक्तता भने अझ थपिँदै गएको छ। नेपाल १५ वर्षसम्म पार्टी महासचिव हुँदा ओली उनकै सारथि थिए। २०७१ मा नवौं महाधिवेशनमा अध्यक्षका लागि ओली–नेपाल नै प्रतिपस्र्धी भए। ओलीले नेपाललाई पराजित गरेर पार्टीको अध्यक्ष भए। नेपालले भने महाधिवेशनका बेला बनेका गुटलाई सक्रियतासाथ सञ्चालन गरिरहे। 

ओली–नेपाल सम्बन्धमा दरार नेकपा एकीकरणपछि थपिँदै गयो। एकीकरणको सुरुवाती दिनमा ओली र दाहालले निकटता र चोचोमोचो बढाएर आफूलाई पेलेको र अपमान गरेको पटक­–पटक नेपालले अभिव्यक्ति दिएका थिए। ओलीले ‘ग्रान्ड डिजाइन’ गरी कृत्रिम रूपमा वरिष्ठता विवाद उचालेर घटुवा गरेको, खनाललाई आफूभन्दा माथि राखेको जस्ता विषयमा नेपालले असन्तुष्टि राख्दै आएका थिए। 

तत्कालीन नेकपाको ३२औं सचिवालय बैठकबाट ‘आफूलाई अपमान गरेको’ अनुभूति गरेका नेपालले त्यसको दुई दिनपछि सातबुँदे ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका थिए। त्यसबेला सचिवालयका सबै जना उपचाररत ओलीलाई भेट्न सिंगापुरै गए। 

नेपाल भने ओली सिंगापुरबाट उपचार गरेर फर्किएपछि पनि भेट्न गएनन्। त्यसबेला दुई नेताबीचको तिक्तता ‘व्यक्तिगत तहमै उत्रेर भनाभन’ को अवस्थामा पुगेको थियो। 

जब ओलीविरुद्ध दाहालसहितको गठबन्धन बन्यो, त्यसपछि नेपाल सक्रिय रूपमै यो गठबन्धनमा लागे र ओलीको खेदो खन्न थाले। दाहाललाई तत्कालीन कार्यकारी अध्यक्ष बनाउनसमेत नेपाल सक्रियतासाथ लागे। जब पूर्वमाओवादी एक ठाउँमा भएर ओलीप्रति खनिए, ओलीले नेपालसँग पूर्वएमालेको नाममा मिलाप गर्ने कोसिस नगरेका होइनन्। तर, अठ्यारो पर्दा मात्रै खोज्ने भन्दै नेपाल अझ टाढिए। 

ओलीले पहिलो पटक २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि दुश्मनी अझ बढ्दै गयो। दुवै नेता तल्लो स्तरको गाली गलौजमै उत्रिए। २०७७ फागुन २३ मा एमाले बिउँतिएपछि पनि उनीहरूले एकै ठाउँ बसेर अहिलेसम्म पार्टीको बैठक गरेका छैनन्। आ–आफ्ना समानान्तर गतिविधि गरिरहे। 

एमाले बिउँतिएपछि दोस्रो तहका नेताको सक्रियता चारपटक ओली र नेपालको भेटवार्ता भए पनि उनीहरूको सम्बन्धमा खासै सुधार आउन सकेन। दोस्रो तहकै नेताको दबाबमा कार्यदल बनेर एकताको सहमति भएपछि दुई नेताको अहम्, तुस, व्यक्तिगत टकराव र अन्तरविरोधले हुँदाहुँदा एमाले नेतृत्वको सरकारै ढल्यो। 

कार्यदलबीच एकतामा सहमति भएर आम नेता, कार्यकर्तामा आशा पलाइरहेको अवस्थामा दुई नेताको टकरावको कारण पार्टीको भविष्य के होला भन्ने अझै आशंका नै छ। दुवै नेतालाई एकअर्कालाई स्वीकार गर्ने अवस्था नदेखिँदा एकताको सम्भावनामा पनि खाडल बढेको छ। 

यसैबीच एमाले उपाध्यक्ष भीम रावललाई पार्टी एकताका लागि पहल नगर्न धम्की, दबाब पनि आएको भन्दै सार्वजनिक गरेका छन्। रावलले विज्ञप्ति जारी गर्दै असार २७ गते सहमति नगर्न ठूलै दबाब आएको बताए। उनी नेपाल पक्षका कार्यदल संयोजक हुन्। असार २० गते ओलीलाई बालुवाटारमा भेटेपछि २१ गते कार्यदल ब्युँतिएको थियो रावलले निकालेको विज्ञप्तिमा आफूलाई पदको लोभमा ओलीतिर लागेको भनेर आरोप लगाइएको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.