बट्टाईबाट मनग्य आम्दानी
बर्दिबास : दोलखाका ३६ वर्षीय कमल घिमिरे एकाबिहानै उठ्छन्। आँखा मिच्दै बट्टाई पालेको खोरमा पुग्छन्। छिमेकी उठ्दासम्म उनी खोरबाट अण्डा झिकेर सरसफाइ गरी बट्टाईलाई चारोपानी हालिसकेका हुन्छन् ।
२०७५ सालमा उनले तीनवर्षे डिप्लोमा तहको पशु विज्ञान विषयमा पढाइ पूरा गरेका थिए। जनता माध्यमिक विद्यालय गौरीडाँडाबाट व्यावसायिक शिक्षा आर्जन गरेका कमलका साथीहरू सरकारी जागिरको तयारीमा छन्। तर उनी पढाइलाई व्यवहारमा उतार्दै बट्टाई चल्ला उत्पादन र बट्टाई पालेर मासिक ८० हजारसम्म कमाइ रहेका छन्। पहिलो श्रेणीमा पशु विज्ञान उत्तीर्ण गरेका उनी महोत्तरीको बर्दिबास–३ गौरीडाँडामा युनिटी एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गरेर एक वर्षदेखि बट्टाई पालनमा रमाइरहेका हुन् ।
‘पढिसकेपछि समाजमा सरकारी जागिर खानुपर्छ भन्ने मान्यता छ। व्यावसायिक शिक्षा हासिल गरेपछि जागिरभन्दा व्यावसायिक काम गर्नुपर्छ भन्ने मेरो मनमा आयो,’ उनले भने, ‘बर्सेनि लाखौं युवा विदेश जाने प्रचलन छ। यसलाई चिरेर देशमा सम्भावना रहेको सन्देश फैलाउन मैले पन्छीपालन गर्ने कदम चाले।’ बैंकबाट २९ लाख ऋण लिएर कमलले फर्म खोलेका हुन्। ‘कम ठाउँमा धेरै कमाउन सकिने र मानव स्वास्थ्यका लागि बट्टाईका मासु र अण्डा लाभदायक रहेको मैले अनुसन्धान गरेर फेला पारे,’ उनी भन्छन्, ‘त्यसपछि काठमाडौंबाट पाँच सय बट्टाई चल्ला ल्याएर पाल्न सुरु गरें।’
उनको खोरमा अहिले ३ हजार २ सय बट्टाई छन्। फर्ममा रहेका पाँच सय बट्टाईले दैनिक झन्डै ५ सय अण्डा दिन्छ। फर्मबाट प्रतिगोटा अण्डा ८ रुपैयाँमा बिक्री हुन्छन्। बट्टार्ई पालनमा कमललाई उनका जेठा दाइ नारायणकुमार घिमिरेले सघाउँछन्। उनले फर्म हेरचाहका लागि १५ हजार तलब दिएर एक जना युवालाई रोजगारी पनि दिएका छन्।
‘एउटा बट्टाईले दैनिक २ रुपैयाँको चारो खान्छ। ८ रुपैयाँको उसले किसानलाई अण्डा दिन्छ,’ उनले भने, ‘दैनिक अण्डा बिक्री गरेर तीन हजार बढी रकम आम्दानी हुन्छ।’ बट्टार्ई मासुका लागि प्रतिगोटा १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।
बर्दिबासका होटलमा बट्टाईको मासुको माग बढ्दो छ। होटलले बट्टाईको मासुको परिकारलाई मेनुमा राख्न थालेका छन्। ‘बट्टाईको रोस्ट, ग्रेबी मासु, पोलेर, सुप बनाएर खाने गरिन्छ,’ कमल भन्छन्। बट्टाई पालनमा मनग्य आम्दानी देखेपछि कमलले आफ्नै बट्टाईको चल्ला उत्पादन गर्ने ह्याचरी स्थापना गरेका छन्। १ लाख ५० हजारमा ह्याचरी मेसिन किनेर बट्टाई पालन गरेका छन्। २ हजार ६ सय ५२ अण्डा राखेर चल्ला उत्पादन गर्न सकिने ह्याचरीमा अहिले २ हजार २ सय १० वटा बट्टाईको अण्डा चल्ला उत्पादनका लागि राखिएको छ। १७ दिनमा उत्पादन हुने एउटा चल्ला ३० रुपैयाँमा बिक्री हुन्छ।
कमलले २०५६ सालमा काठमाडौंस्थित पद्मोदय माध्यमिक विद्यालबाट एसएलसी गरेका थिए। उनको कृषि तथा पशु विज्ञान पढ्ने मन थियो। तर, उनलाई पढ्ने वातावरण मिलेन। त्यसपछि उनी नेपाल आर्मीमा सिपाहीमा तीन वर्ष देशको सेवा गरे। तत्कालीन समयमा सशस्त्र द्वन्द्व चर्किएपछि परिवारजनले जागिर छाडेर घर फर्किन उनलाई आग्रह गरे । २०६२ मा उनले जागिर छाडेर भारतको मेघालयको कोइलाखानीमा दुई वर्ष पसिना बगाए। त्यसपछि उनी खेतीकिसानी गरेर पनि क्याम्पस पढे। क्याम्पसकै पढाइले उनी अहिले बट्टाई पालनमा नाम र दाम दुवै प्राप्त भएको बताउँछन्।
‘मैले बट्टाई पालेर मात्रै हँुदैन। त्यसैले ह्याचरी खोलेर बटाई पाल्ने किसानहरूलाई चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैछु,’ कमल भन्छन्, ‘राम्रो आम्दानी र बजारको कुनै समस्या नरहेकाले बट्टाई पाल्नमा किसानहरूको बढ्दो आकर्षण छ।’ उनको ह्याचारीमा बट्टाईको चल्लाका लागि अग्रिम माग छ। उनको फर्ममा उत्पादन भएको बटाईका बच्चाहरू सिन्धुली, धनुषा र महोत्तरीका किसानहरूले खरिद गरेर पाल्न लैजाने गरेका छन्। एक पटकको ह्याचरीमा चल्ला उत्पादन गर्दा खर्च काटेर ३० हजार बचत हुने गरेको छ। वर्षैंभरि ह्याचरी चल्ने गर्छ। ह्याचरीमा चल्ला उत्पादन गर्न थालेको ६ महिना पुगेको छ।
‘कृषि कर्म गर्दा शारीरिक व्यायामदेखि आर्थिक फाइदा हुन्छ। आफ्नै भूमिमा घरपरिवारसँग रमाएर कमाउन सकिन्छ। स्वदेशमै सीप सिकेर काम गर्दा उत्तम हुन्छ,’ उनले भने, ‘विदेश जान पनि लगानी चाहिन्छ। त्यो लगानी स्वदेशमै गर्ने हो भने अरूको देशमा गएर गुलामी गर्नु पर्दैन।’