जीवन हाम्रो साझा, कलेजो आधा–आधा

जीवन हाम्रो साझा, कलेजो आधा–आधा

चितवन :

मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ
मैं मरे तिमीलाई कसले माया गर्छ 

जाजरकोट कुशे गाउँपालिका–९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक–पटक सुनेकी थिइन्। उनको जिन्दगीमा यस्तो मोड आयो, श्रीमान्  ४७ वर्षीय भरतविक्रम शाहीका लागि मुटु त होइन, कलेजो चाहियो। 

कलेजो भने दिन मिल्ने थियो। आधा–आधा बाँडेर साझा जिन्दगी खुसीसाथ बाँच्न सम्भव थियो। त्यही भएर उनी खुसीसाथ तयार भइन्। र,  श्रीमान्ले नयाँ जीवन पाए। 

भरतविक्रमलाई अस्पताल ल्याउँदा कलेजो ८० प्रतिशत बिग्रिइसकेको थियो। अस्पताल ल्याउँदा श्रीमान् घर फर्किन्छन् भन्ने सोचेकी रहिनछन् श्रीमती कमलादेवीले। 

कलेजो प्रत्यारोपण नगरे भरतविक्रमको आयु बढीमा चार महिना भनिएको थियो। चिकित्सकले कलेजो प्रत्यारोपण गर्न मिल्ने बताएपछि कमलादेवीको आशा जाग्यो। तर, कलेजो कसले दिने ? आफन्त, नातागोता खोज्न थालिन्। त्यसपछि कमलादेवीले नै आँट गरिन्, ‘आफ्नै कलेजो दिएर श्रीमान्लाई बचाउँछु।’ दुई छोरा र जेठी छोरीले कलेजो दिन चाहे पनि उनीहरूलाई रोकेर कमलादेवी आफैं अघि सरिन्।

परीक्षणबाट रगतको समूह मिल्यो। रोग केही देखिएन। कमलादेवीलाई श्रीमान् बचाउन सकिन्छ भन्ने लाग्यो। ‘जसरी पनि बचाउँछु भनेर आँटेपछि डर पनि लागेन। कि दुईटै मर्ने कि दुई बाँच्ने भनेर तयार भएँ’, उनी भन्छिन्, ‘श्रीमान्को स्वास्थ्यका अगाडि केही डर लागेन।’ 

उनले आफ्नो ६० प्रतिशत कलेजो दिएर श्रीमान्लाई पुनर्जीवन दिएकी हुन्। प्रत्यारोपणका क्रममा झन्डै १३ युनिट रगत लागेको थियो।

भरतविक्रमलाई २०७६ फागुनदेखि बिरामीले च्यापेको थियो। उपचारका लागि नेपालगन्जका धेरै अस्पताल चहारे। भारतको लखनउ मात्रै तीनपटक पुगे। परामर्श गरेर दुई साताअघि भरतपुरस्थित चितवन मेडिकल कलेज आए। यही कलेजमा असार १८ गते भरतविक्रमको कलेजो प्रत्यारोपण गरियो। श्रीमतीको आधा कलेजोले पुनर्जीवन पाएपछि भरतविक्रमको अनुहारमा हाँसो देखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। 

‘श्रीमतीले दिएको उपहारस्वरूपले नयाँ जिन्दगी पाएको छु’, भरतविक्रम भन्छन्, ‘अब गाउँ फर्किएर फेरि सुखदुख साट्दै जीवन बाच्ने हो। उनलाई कहिल्यै दुःख दिन्न।’

कमलादेवी कलेजको प्रत्यारोपण वार्डमा श्रीमान्सँगै हुन्छिन्। शल्यक्रियापछि पहिलो पटक होस आउँदा उनलाई आफूभन्दा श्रीमान्को चिन्ता थियो। तीन दिनपछि श्रीमान् देख्न पाउँदा उनमा खुसीको सीमा नै थिएन। कमलादेवी अहिले अधिकांश समय श्रीमान्सँगै हुन्छिन्। दिनभरि कुरेर बस्छिन्। 

कलेजका अनुसार तीन महिनामा दुवै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ। भरतविक्रमको कलेजो खराब भएको अन्तिम अवस्था ‘सिरोसिस अफ लिभर’ भएको हो। सिरोसिस भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ। उनको कलेजोको रगत बग्ने नसा बन्द थियो। नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो। 

कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणभन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल रहेको कलेजका प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. सजयकुमार यादव बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.