एमालेमा पर्ख र हेरको नीति
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना प्रतिनिधिसभा सदस्यको विषयमा पर्ख र हेरको रणनीति अख्तियार गरेको छ। एमालेको दोस्रो दिनको बैठकले देउवालाई विश्वासको मत दिनेको विषयमा कुनै निर्णय लिन सकेन।
एमालेको १० औं बैठकको पहिलो दिन देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले २४ घण्टा पूरा नभएको भन्दै यो विषयमा बोल्न मानेनन्। वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई पार्टीको निर्णयविपरीत विश्वासको मत हालेका थिए। उनीहरूमाथि एमालेको बैठकमा चर्को आलोचना भएको छ।
बैठकले एकताको पक्षमा भएको १० बँुदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रवक्ता ज्ञावालीले १० बँुदे प्रस्तावको सिर्जनात्मक रूपमा कार्यान्वयन अघि बढ्ने निर्णय भएको जानकारी दिए। उनले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने पनि बताए।
बैठकमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका संयोजक सुवास नेम्वाङले १० बुँदे सहमतिमा आइपुग्नका लागि गरिएको प्रयासको बारेमा विस्तृत जानकारी दिएका थिए।
नेपाललाई पार्टी छोड्न बस्नेतको सुझाव
एमालेका युवा नेता महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी हितविपरीत काम गर्नुभन्दा छाडेर जान सुझाव दिएका छन्। राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलामा बोल्दै बस्नेतले नेपाललाई एमाले छाडे सम्मानजनक बिदाइ गर्ने बताए।
प्रभु साहको ‘आईटी आर्मी’
नेकपा (एमाले)मा पूर्वमन्त्री प्रभु साहको पहलमा ‘आईटी आर्मी’ गठन भएको छ। सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको साहले जानकारी दिए। यसले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने साहले बताए।
उपाध्यक्ष गौतमको प्रष्टीकरण
एमाले उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ। सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताए।
फ्लोर क्रस गर्ने २२ को भेला
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टी निर्णयविपरीत फ्लोर क्रस गर्ने एमालेका २२ जना सांसदले भेला गरेका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा भएको भेलाले पार्टीमा आफ्नो शक्ति बढाउनेतर्फ केन्द्रित हुुनुपर्ने निश्कर्ष निकालेको छ। विश्वासको मत दिने क्रममा आफ्नै समूहका प्रभावशाली भनिएका नेताले छोडे पनि त्यतिकै संख्यामा संस्थापन पक्षबाट आएपछि उनीहरूको आत्माबल बढेको छ।