छिनछिनमा विद्युत जाने समस्याले उपभोक्ता हैरान
विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा दैनिकरुपमा विद्युत आपूर्ति नहुँदा उपभोक्ता हैरान भएका छन् । केही दिनदेखि विराटनगरको विद्युत आपूर्ति नियमित नहुँदा उपभोक्ताहरु हैरान भएका हुन् ।
विराटनगरको विद्युत आपूर्तिको अवस्था दिनमा १८ घण्टा लोडसेडिङ हुँदाकै अवस्थाजस्तो बनेको छ । कहिले दिनभरी विद्युत जान्छ भने कहिलेकाहीं रातभरी विद्युत जानेको छ । प्राधिकरणका कर्मचारीलाई सोध्दा प्राविधिक समस्या भन्दै आलटाल गर्ने गरेका छन् । प्राधिकरण स्रोतका अनुसार असार ३१ गतेसम्म टंकी सब–स्टेशनमा ब्रेकर जडान र अन्य सुधारको काम भैरहेकाले विद्युत आपूर्तिमा समस्या थियो । त्यसपछि समस्या नहुनु पर्नेमा अहिले पनि विद्युत आपूर्तिमा सुधार आउन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरण विराटनगरका वितरण कार्यालयका प्रमुख मिथिलेशकुमार गोहिबारका अनुसार विद्युत ‘ट्रिपिङ’ हुने, तार चुडिनेलगायतका समस्या हुनाले आपूर्तिमा अवरोध आएको हो । एक ठाउँमा समस्या आयो भने त्यसबाट सबैतिर अवरोध हुन्छ र समस्या पत्ता लगाउन केही समय लाग्ने भएकाले केही समय आपूर्ति बन्द भएको हो ।
साँझपख विराटनगर वितरण केन्द्रलाई ९५ मेगावाट विद्युत चाहिने गोहिबारले बताए । गर्मीमा एकैपटक विद्युत खपत बढ्दा ‘ट्रिपिङ’ हुन गई आपूर्ति बन्द हुने गरेको उनको भनाइ छ । तर उपभोक्ताहरु भने उनको भनाइमा विश्वास गर्न तयार छैनन् । निरन्तर विद्युत जानुको कुनै खास कारण हुन सक्छ भन्ने उपभोक्ताहरुको ठम्याइ छ ।
दुहबी ग्रिडमा बुझ्दा दुहबीबाट विराटनगरका लागि दिइने विद्युतमा कुनै रोकावट छैन । जति चाहिने हामीले त्यतिनै दिइरहेका रहेको दुहबी ग्रिडका प्रमुख राजेश रेग्मीले बताए ।
नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तर्गत ६ हजार ८ सय जति ग्राहक छन् । दुईवटा सब–स्टेशनमार्फत २० वटा फिडर लाइनबाट ग्राहकहरुलाई विद्युत दिने गरिन्छ । सो केन्द्रको क्षेत्र विराटनगरबाहेक कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउपालिका हो । लामो क्षेत्र पर्ने हुदा कतै समस्या आयो भने समस्या पत्ता लगाउन समय लाग्ने गरेको छ ।
फिल्डका कर्मचारी समयमै फिल्डमा नपुग्ने, आपसी समन्वय र नेतृत्वमा कार्यकुशलताको कमीले गर्दा पनि विद्युत आपूर्तिमा त्यसको प्रभाव पर्ने गरेको छ । जुनसुकै कारणले विद्युत आपूर्तिमा गडवडी आए पनि उपभोक्ताहरु भने उद्योगलाई विद्युत दिएर आफुलाई सास्ती खेप्न लगाएको बताउँछन् ।
दैनिकरुपमा उपभोक्ताहरुले संगठित भएर वितरण केन्द्र पुगेर गुनासो राख्दै आएपनि सुनवाही हुन नसकेको हो ।