अपहरण गरी कुटपिट गर्ने तीन जना पक्राउ

इटहरी : इटहरी प्रहरीले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। अपहरणमा परेका एक जनाको उद्धार गरेको छ।
शुक्रबार बिहान प्रहरीले इटहरी ७ का २५ वर्षीय संगित थापा, १९ वर्षका अनिष कार्की र इटहरी ८ का २३ वर्षीय सिद्धार्थ राईलाई पक्राउ गरेको हो।
उनीहरुले इटहरी ४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई इटहरी ८ फुलबारी टोलको प्लटिङमा कुटपिट गरेका थिए। आँखामा पट्टी बाँधेर पैदलै हिडाउँदै उक्त प्लटिङमा लगेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
तीनै जनाले श्रेष्ठलाई बिहीबार दिउँसो इटहरी ९ भोजपुरे टोलबाट जबरजस्ती सिटी सफारीमा राखी आँखामा पट्टी बाँधी अपहरण गरेका थिए। प्रहरीका अनुसार विभिन्न स्थान घुमाउँदै रात परेपछि संगित थापाको घरमा थुनेर राखेको र भोलिपल्ट प्लटिङमा लगेर कुटपिट गरेका थिए।
तीनैजनामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाहेरी दर्ता गरि अनुसन्धान सुरु गरिएको जनाइएको छ। किन अपहरण गरे भन्ने कुरा भने प्रहरीले खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस !
