चूरे जोगाउन हरित अभियान
जनकपुरधाम : हरित अर्थतन्त्रको आयाम र पद्धतिका आधारमा चुरेको संरक्षण गरी आर्थिक विकासमा टेवाका लागि महोत्तरीबाट हरित अभियान सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले चुरेको संरक्षण र प्राकृतिक स्रोत साधनको दिगो उपयोग गरेर देश विकास टेवा पुर्याउन हरित अभियान सञ्चालन गरिएको जनाए ।
उनले चुरे सभ्यताको प्रतीकसँगै आर्थिक विकासको मुख्य आधार भएकाले एकातिर चुरे संरक्षण गर्नुछ, अर्कातिर विकासको काम पनि गर्नुपर्नेछ, पोखरेलले भने, ‘यस्तोमा संरक्षणकारी भूमिकासँगै चुरेको दिगो उपयोगको विकल्प छैन । देशकै जनसंख्याको आधा हिस्सा चुरेमा निर्भर छ, त्यसैले चुरेको हरियाली जोगाउन, जैविक विविधता बचाउन, जलाधार संरक्षणमा एकीकृत विधि अपनाउनुपर्छ ।’
पूर्वशिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पोखरेलले चुरेको दिगो संरक्षणका लागि सबै क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याउदै वन र मानिसको जीवन अन्तरनिर्भर रहेकाले त्यसको प्रयोग गर्दा प्रकृतिलाई हानी पुर्याउ गतिविधि सकेसम्म कम गर्दै अगाडि बढ्नुपर्ने बताए ।
चुरे संरक्षणको पहलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले जिल्लाको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट अभियान सुरु गरेका हुन् । आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा ३ लाख विरुवा रोपिने जानकारी दिए ।
‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुर्नःस्थापित गराउने पहल हो, यस अभियानले समुदायले भोगी रहेको विभिन्न समस्याहरुलाई क्रमगत रुपमा निर्मूल पार्न सहयोग गर्नेमा सहयोग गर्छ,' पोखरेलले भने ।
हरित अभियानले पारिस्थितक प्रणालीको पुर्नःस्थापना, विपद् व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक श्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्वनात्मक भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !