कोरोना खोप अभियान : खोप केन्द्रमै छैन स्वास्थ्य मापदण्ड
विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको खोप लगाउन जाँदा नै संक्रमणको त्रास बढेको छ । संघीय सरकारले मापढण्ड तोकेर पठाएको खोप लगाउने केन्द्रमा कुनै स्वास्थ्य मापदण्ड निर्धारण नहुँदा संक्रमणको त्रास बढेको हो ।
संघीय सरकारले मोरङमा ७० हजार डोज भ्याक्सिन पठाएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार सोमबार विराटनगरमा दुईवटा केन्द्र तोकेर पहिलो चरणका खोप लिनबाट बञ्चित स्वास्थ्यकर्मी , कानुन व्यवसायलगायतका अग्रपंक्ति खटिने कर्मचारीलाई खोप लगाएका थिए । मङलबारदेखि दुई दिन सम्म प्रत्येक स्थानीय तहका वडामा खोप लगाउने कार्यक्रम तय गरेको छ ।
सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने भनिए पनि वडा कार्यालयमा अव्यवस्थितरुपमा खोप लगाउने गरेको पाइएको छ। विना समाजिक दुरी बिहानैदेखि स्थानीय लाइनमा बसेर खोप लगाउने गरेका छन् ।
खोप लगाउने स्थानमा गरेको फितलो व्यवस्थापनाले खोप लगाउन आउने व्यक्तिलाई नै संक्रमण हुनसक्ने विराटनगरका ९ का रमेश कुटवालले बताए । जो कोइ आएर लाइनमा बस्ने गरेको बताउँदै उनले भने, ' मान्छे माथि मान्छे चढेर खोप लगाउन लाइनमा बसेका छन्।'
बिहान ११ बजे देखि लाइनमा बसेका ६० वर्षीय कटुवालले भने , ' २ बजे खोप पाएँ।' उनले सबैलाई आग्रह गरेपनि कसैले वास्ता नगरेकाले सास्ती भोग्दै पहिलो डोज लगाएको सुनाए । खोप लगाउन आउँदा सुरक्षित नहुने ठानेर दोस्रो डोज नलिने मनस्थितीमा पुगेको उनले बताए ।
खोप लिन आएका संन्तोष रायले भने, 'यहाँ आउँदा नै संक्रमण भइहाल्यो कि भन्ने लागेको छ ।' बिहान ९ नबज्दै लाइनमा बस्नेको संख्या धेरै छ , गेटमा पुग्दा नै ४ /५ घण्टा लाग्छ उनले भने,‘ कतिपयले गेटबाट फर्खेका पनि छन् ।'
मङलबार मात्रै करिब दुई दर्जन विद्यार्थी बिहानैदेखि लाइनमा बसेर फर्किए । नोवेल मेडिकल कलेजमा आएका उनीहरुले बिहानैदेखि लाइनमा बसेर पालो नआउने ठानेर निरास भएर फर्खेका हुन् ।
सबैलाई दिन्छ भनेर आएको हुँ विद्यार्थी रेश्मी शर्माले भनिन्, ‘चर्को धाममा लाइनमा बसे पनि गेट पुग्दा पर्खाएको छ । हिजो त विद्यार्थीहरुले लगाए आज किन हुँदैन भन्दा विद्यार्थीलाई नदिने भन्दै फर्खाइदिएको उनले गुनासो पोखिन्।
स्वास्थ्य कार्यालयका प्रमख मेहताले पटकपटक आग्रह गरे पनि स्थानीयहरु नै ध्यान नदिएको बताए। सरकारले खोप दिने उमेर समुह नै तोकेकाले सोहीअनुसार स्थानीय तहले वडास्तरमा लगाउन लागेको उनले बताए ।
खोप लगाउने स्थानमा कुनै मापढण्ड तोकिएको छैन्। बिहान नै आउनेले पनि नपाएको भन्दै कतिपयले विरोध जनाउँदै आएका छन् । मोरङमा ७० हजारलाई लगाउने योजना रहेको प्रमुख मेहताले बताए । भीड बढ्दै गएपछि गेटमा खटिएका प्रहरीलाई लाइन व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।