स्याङजामा स्कुल खुलाउने ८ प्रअलाई प्रहरीले कार्यालयमै बोलाएर सम्झायो
स्याङजा: निषेधाज्ञाका समयमा भौतिक रुपमा पठनपाठन गराउने स्याङजाका ८ स्कुलका प्रधानाध्यापकलाई प्रहरीले स्कुल नखुलाउन सचेत गराएको छ ।
पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिकाका ७ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमै उपस्थित गराइ पुनः यस्ता कार्य नदोहोर्याउन सचेत गराउँदै सुझाव समेत दिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
कार्यालयका प्रवक्ता समेत रहेका अधिकारीले भने ‘प्रशासनको आदेश बेगर विद्यालय संचालन नगर्ने शर्तमा घर पठाएका छौँ।’
निषेधाज्ञा अवधीमा भौतिक रुपमा विद्यालय संचालन गरी पठनपाठन गरेको भन्ने खबरका आधारमा प्रहरीले उनीहरुलाई कार्यालयमा बोलाएर कोरोना भाइरस संक्रमणलाई सामान्य अवस्थामा नलिनका लागि सुझाव दिएको हो।
कोरोना संक्रमण नियन्त्रण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागुहुनेगरी निषेधाज्ञा गरेको छ। बैशाख २१ गतेदेखिको जारी निषेधाज्ञामा भौतिकरुपमा उपस्थित नगराइ अनलाइन मार्फत कक्षा सुचारु गर्न विद्यालय, क्याम्पस र शैक्षिक संस्थालाई स्याङजा प्रशासनको आदेश छ।
विद्यालयमा कक्षा संचालनको सूचना पाएपछि पुगेको प्रहरीले ती विद्यालयमा भौतिक उपस्थितिमा अध्यापन गराएको थाहा पाएपछि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमा बोलाइएको हो।
पहिलो पटक उनीहरुलाई सम्झाएर छाडिएको भन्दै फेरि पनि विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश वमोजिम कारवाही गरिने प्रवक्ता अधिकारीले बताए।
स्याङजामा संक्रमण दर पछिल्लो समय बढेको छ। यहाँ कोरोना भाइरस डेल्टाबाट समेत संक्रमण पुष्टि भएको बताइएको छ। दोश्रो लहरको संक्रमण देखिएसँगै जिल्लामा अहिलेसम्म ५ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये ४ हजार ६ सय ३१ जना निको भएर घर फर्किएका छन् भने १ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य प्रादेशिक कार्यालय पोखराले जनाएको छ। प्रादेशिक कार्यालय आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार २ सय ८९ जना सक्रिय संक्रमित छन्।