मुस्ताङको सीमाक्षेत्रका बासिन्दालाई चीनले दियो लाखौँको राहत सामाग्री
जोमसोम: उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका बासिन्दालाई उत्तरी छिमेकी देश चीनले सोमबार लाखौँ मुल्यको खाद्यान्न लगायत राहत सामाग्री पठाएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा चीनले राहत सामाग्री कोरला नाका पठाएको हो ।
चीनसँग सिमाना जोडिएको लोमान्थाङ गापाका बासिन्दालाई सहयोग स्वरुप उपलब्ध गराइएको राहत सामाग्री चीन पक्षले कोरला नाकाको दशगजा क्षेत्रयता त्रिपालले ढाकेर राखेको थियो ।
कोरला नाकाका सुरक्षाकर्मीले राहत बुझ्न खबर गरेपछि बुधबार लोमान्थाङ गापाको जनप्रतिनिधि टोली कोरला नाका पुगेको थियो । चीनले बर्सेनी सीमावर्ती क्षेत्रका जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँग समन्वय गरी राहत सामाग्री पठाउने गरेको छ ।
चीनले उपल्लो मुस्ताङको सीमावर्ती पालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापालाई बर्सेनी विभिन्न राहत सामाग्री उपलब्ध गराउँदै आइरहेको भए पनि यसपटक भने उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापालाई छोडेर लोमान्थाङ गापालाई मात्र राहत सामाग्री पठाएको बताइएको छ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आयआर्जन गुमाउन बाध्य सीमावर्ती क्षेत्रका करिव ५ सय ६१ घरधुरीलाई चीनले खाद्यान्न लगायत राहत सामाग्री पठाएको लोमान्थाङ—२ का वडाध्यक्ष नवाङ छेटु गुरुङले जानकारी दिए ।
उनका अनुसार चीनले उत्तरी सीमावर्ती क्षेत्र लोमान्थाङका बासिन्दालाई चामल १० केजीको २ हजार बोरा, आटाको पिठो ५ केजीको ३ सय बोरा, मैदाको मिठो २५ केजीको ५ सय बोरा, खाने तेल साढे ४ लिटरको २ सय पोका र फाइबरको सिरक ५ सय थान उपलब्ध गराएको हो ।
राहत सामाग्री लिन लोमान्थाङका अध्यक्ष सुवर्णकुमार बिष्ट, उपाध्यक्ष पेमाडोल्मा बिष्टसहित ५ वटै वडाका जनप्रतिनिधिको टोली ढुवानीका साधन लिएर कोरलानाका पुगेका थिए । चीनले दिएको राहत पालिकालाई हस्तान्तरण गरिएको र पालिकाकै रोहवरमा समान रुपले वितरण गरिने वडाध्यक्ष गुरुङले बताए । चिनियाँ राहत स्थानीय घरधुरीका साथै पालिका भित्रका ५ वटै गुम्बाहरुमा समेत वितरण गरिने उनले उल्लेख गरे ।
यस्तै, चीनले सीमावर्ती क्षेत्रमा खटिने नेपाल पक्षका सुरक्षा निकायलाई ९६ थान क्लोथिङ र ७५ थान जुत्ता पठाएको बताइएको छ । उत्तरी छिमेकी देश चीनले उपल्लो मुस्ताङका सीमावर्ती क्षेत्रका बासिन्दालाई कोरोना कहरको अवधिमा तेश्रो पटक खाद्यान्न लगायत सामाग्री पठाएको हो ।
कोरोनाको पहिलो लहरको चरणमा चीनले पठाएको खाद्यान्न लगायत राहत सामाग्री एक साता सीमा नाकामै थन्किएको थियो । सीमावर्ती क्षेत्रका बासिन्दामा कारोना संक्रमण सर्ने डरका कारण पालिका र स्थानीयले राहत सामाग्री लिन इन्कार गरेका थिए ।
सीमावर्ती क्षेत्रको पालिकाले राहत सामाग्री नलिने र फर्काएर लैजान अनुरोध गरे पनि चीन पक्षले कोरला नाकामा छोडेको राहत फर्काउन मानेको थिएन । कोरलामा थन्किएको राहत पालिका र स्थानीयको सहमतिमा त्यसपछि स्वीकार गरिएको थियो । कोरोना कहरकै अवधिमा चीनले दोश्रो पटक लाखौँ मुल्यको खाद्यान्न तथा कृषि औजार उपकरण र कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।
कोरोना कहरका कारण मुस्ताङको सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गरी चीनले पटक पटक राहत दिँदैआएको छ । बर्सेनी दुई पटक लाग्ने ब्यापार मेला नियमित नहुँदा समस्यामा पर्दैआएका उनीहरुलाई चिनियाँ राहतले राहत प्रदान गरेको छ । सीमावर्ती क्षेत्रका बासिन्दाले चीनको स्वशासित क्षेत्र तिब्बती भूमिमा लाग्ने ब्यापार मेलामा खाद्यान्न, लत्ता कपडा , किराना सामान, निर्माण सामाग्री, कृषि तथा घरेलु उपकरण आदि खरिद गर्ने गर्थे । यस्तै, सीमावर्ती क्षेत्रका बासिन्दाले पस्मिना, यार्सा गुम्बा र नेपाली उत्पादन चीनतर्फ निर्यात गर्थे ।
उत्तरी कोरलानाकाको सीमावर्तीक्षेत्रको घार्फु, डाक्या, नियुक, सेखाङ, गोम, ऐचेन, ढुक, बार्चा, आर्का, नामास्युङ, न्यानोल, चुङजुङ, किम्लिङ, पुयु , ठिङ्गर, फुवा, नाम्ग्याल, छोराक र लोमान्थाङका बासिन्दाले बर्सेनी एक बाली मात्र खेतीपाती गर्ने र हिउँदयामको जाडो मौसममा हिउँदे ब्यापारमा बेसी झर्ने परम्परा छ ।
कोरोना कहरका कारण ब्यापार मेला नहुँदा आन्तरिक ब्यापार गुमेको छ भने हिउँदयाममा बेसी झरेर घुम्ती ब्यापार व्यवसाय समेत गर्न पाएका छैनन् ।