मुस्ताङको हाइअल्टिच्यूडमा 'लो छ्योग्यल झिग्मे मेमारियल कप' सुरु
जोमसोम: उपल्लो मुस्ताङका दुई स्थानीय तहका विभिन्न युवा क्लवबीच बर्सेनी आलोपालो संञ्चालन हुने लो छ्योग्यल झिग्मे मेमारियल कप बिहीबार औपचारिक रुपमा सुरु भएको छ ।
तेश्रो संस्करणको पुरुष फुटबल तथा भलिबल प्रतियोगिता यस वर्ष लोघेकर दामोदरकुण्ड गापा ढाक्मरको जनचेतना युवक्लवले संञ्चालन गर्ने भएको छ ।
प्रतियोगिताको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उद्घाटन गरे । उपल्लो मुस्ताङको समृद्धि र विकासका साथै खेलकुदको माध्यमले यस क्षेत्रका युवाहरुबीच आत्मियता, भाइचारा र थप संगठित गर्दै लैजाने उनले बताए । आफ्नो कार्यकालमा भएका समग्र विकास योजनाको बारे चर्चा गर्दै सांसद बिष्टले उपल्लो मुस्ताङको खेल पर्यटनको सम्भावनाका विषयमा पहल गरेको बताए ।
यस्तै, प्रदेश खेलकुद परिषदका सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले उपल्लो मुस्ताङमा पर्वतीय खेल पर्यटनको अधिक सम्भावना रहेकाले यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेशका अर्का सांसद महेन्द्रबहादुर थकाली, लोमान्थाङका अध्यक्ष सुवर्णकुमार बिष्ट र लोघेकरका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट उपस्थित थिए । प्रतियोगिता उद्घाटनका क्रममा विभिन्न युवाक्लवहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
समुन्द्री सतहदेखि ४ हजार मिटर उचाइमा अवस्थित उपल्लो मुस्ताङमा खेलकुद क्षेत्रको विकास तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उपल्लो मुस्ताङका विभिन्न युवा क्लवले आलोपाले झिग्मे मेमारियल कप खेलकुद प्रतियोगिता संञ्चालन गर्दैआएका छन् ।
सो प्रतियोगिताको पहिलो संस्करण लोघेकर दामोदरकुण्डको मराङमा भएको थियो भने दोश्रो संस्करण लोमान्थाङको ठिङ्गरमा भएको थियो । तेश्रो संस्करणको प्रतियोगिता यसपटक लोघेकरको ढाक्मर खेल मैदानमा हुन लागेको हो । प्रतियोगितमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाबाट कुल १३ युवाक्लवका १८ खेलाडी समुहले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
उपल्लो मुस्ताङको गौरवशाली खेल प्रतियोगिताको रुपमा रहेको लो छ्योग्यल झिग्मे मेमारियल कपको फुटबल तथा भलिबल प्रतियोगिता १० दिनसम्म ढाक्मर खेल मैदानमा संञ्चालन हुनेछ ।प्रतियोगितामा लोमान्थाङ गापाबाट कालिगण्डकी युवक्लव लोमान्थाङ, स्नोल्याण्ड युवाक्लव फुवा, माउन्टेन पासाङ युवाक्लव ठिङ्गर, माउन्ट कैलाश युवाक्लव किम्लिङ, कञ्चलिङ युवाक्लव छोसेर र लोमान्थाङ युवाक्लव लोमान्थाङको सहभागिता रहने छ भने लोघेकर दामोदरकुण्ड गापाबाट प्रतियोगिता आयोजक जनचेतना युवाक्लव ढाक्मर, उदयश्री युवाक्लव घिलिङ, थुकसुम्वा युवाक्लव घमी,बुद्धशान्ती युवाक्लव चराङ, लोघेकर युवाक्लव मराङ, ताङ्वे छार्तेन युवाक्लव ताङ्गे र दामोदरकुण्ड युवाक्लव याराको सहभागिता रहने लोघेकरका वडासदस्य थुक्तेन छिरिङ गुरुङले जानकारी दिए ।
उपल्लो मुस्ताङको सांस्कृतिक राजा झिग्मे पलबर बिष्टको नामबाट संञ्चालन हुँदै आएको सो प्रतियोगिताको फुटबलतर्फ प्रथम हुने टोलीले नगद १ लाख १ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुने टोलीले नगद ५० हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै,भलिबलतर्फ प्रथम हुने टोलीले नगद ७५ हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुने टोलीमले नगद ३५ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।