एमालेले तोक्यो अधिवेशन

एमालेले तोक्यो अधिवेशन

काठमाडौं : एमालेले नेपाल पक्षसँग एकता टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया थालेको छ। स्थायी कमिटीको आइतबार बसेको बैठकले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय भएको महासचिव ईश्वर पोखरेलले बताए। महासचिव पोखरेलका अनुसार यो निर्णय अनुमोदन गर्न २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

‘देशव्यापी रूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौं। असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौं’, पोखरेलले भने, ‘विधान अधिवेशन सम्बन्धमा अरू टुंगो गर्न केन्द्रीय कमिटी बैठक साउन २४ गते बस्दै छौं।’ बैठकमा उपाध्यक्ष वामदेव गौतम भने उपस्थित थिए। माधवकुमार नेपाल पक्ष भने अनुपस्थित थियो। 

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल बनाइएको छ। यस्तै संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको  संयोजकत्वमा कार्यदल गठन गरिएको छ। संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल बनाइएको छ। बैठकले साउन २७ भित्र सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

महासचिव ईश्वर पोखरेलले पार्टीको गतिविधि र एकता प्रक्रिया सँगै अघि बढ्ने  बताए।  नेपाल पक्षबाट नयाँ–नयाँ सर्त आउन थालेपछि संस्थापन पक्षले २०७५ जेठ २ लाई बटमलाइन बनाएको छ। सुरुमा नेपाल पक्षले एमाले र माओवादी केन्द्र एकीकरण हुनुभन्दा पहिलाको अवस्थामा पार्टीलाई फर्काउन माग गर्दै आएको थियो। महासचिव पोखरेलले जेठ २ को बटमलाइनअनुसार नै एमालेलाई एकताबद्ध बनाएर लैजान सकिने बताए। 

‘हामी एमालेलाई एकताबद्ध बनाउन चाहन्छौं। उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, उनले भने। उनले पार्टी विधि विधान र संस्थागत निर्णयको आधारमा मात्रै एकता हुने बताए। ‘उन्नत रूपमा एकता कायम हुनुपर्छ, त्यो विधि सम्मत पनि हुनुपर्छ, उनले भने। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी नेपाल समूहले बेसरमको काम गरेको बताए। ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ। अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ। योभन्दा बेसरम के हुन्छ ?’, तुल्सीलाल स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने। 

ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’को आरोप लगाए। उनले यो सरकार दक्षिणपन्थीसँग मिल्न गएको बताए। ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरूले गर्दा प्रतिगामीहरूको सरकार बन्ने यो स्थिति आएको हो’,  उनले भने। उनले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको  बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.