स्रोत नखुलेको भारुसहित ३२ लाख ९० हजार बरामद
परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलियाबाट प्रहरीले सोमबार स्रोत नखुलेको ३२ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ। रकमसँगै एक भारतीय नागरिक र अर्का नेपाली नागरिकसमेत पक्राउ परेका छन् ।
बरामद भएको रकममा ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए। पक्राउ पर्नेमा भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव रहेका छन्। नेपाली नम्बर प्लेटको मोटरसाइकलमा जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट रकम बरामद भएको डिएसपी लामाले जानकारी दिए।
बरामद भएका भारतीय रुपैयाँमा २ हजार र ५ सयका नोट छन्। भने नेपाली रुपैयाँमा १ हजार र ५ सयका नोट छन्। पक्राउ परेकाहरुले आफूहरुले उक्त रकम ठूठीबारीस्थित जयसवाल वस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन्। उक्त रकम के प्रयोजनका लागि पठाइएको भन्नेबारे खुलेको छैन।
यद्यपी नेपालमा भारतीय नोटको लेनदेन गर्ने कारोबारीलाई रकम दिने उद्देश्यले ल्याइएको हुन सक्ने अनुमान गरिएको छ। उनीहरुले ल्याएको नेपाली रुपैयाँ र भारतीय रुपैयाँ दिएबापत पाउने नेपाली रुपैयाँ भने भारतमा निकाल्न मिल्ने गरी नेपाली बैंकमा जम्मा गर्न पठाएको हुन सक्ने आंशका समेत गरिएको छ। सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरेको बताइएको छ।
भारतीय रुपैयाँ सटही गर्दा कारोबारीहरुले उपभोक्तासँग प्रति सयकडा ५ रुपैयाँ बट्टा काटेर दिने गरेको एक कारोबारीले बताएका छन्। बरामद भएका रकम स्रोत नखुलेकोले आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइने प्रहरीले जनाएको छ।