सत्ता गठबन्धनका शीर्ष नेताको निष्कर्ष: साझा कार्यक्रमपछि मन्त्रिपरिषद विस्तार गरिने
काठमाडौँ: सरकारलाई पूर्णता दिने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याएपछि मन्त्रिपरिषद विस्तार गरिने सहमति गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । बैठकमा माधव नेपालको भने उपस्थिति थिएन ।
यस्तै दलहरुबीच मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल केन्द्रित थियो । बालुवाटार स्रोतका अनुसार माधव नेपाल समूहबाट औपचारिक निर्णय आएपछि सरकार विस्तारका लागि सहज हुने निष्कर्ष शीर्ष नेताहरुको थियो ।