कांग्रेस सभापतिमा उठ्ने गोपालमान श्रेष्ठको घोषणा
काठमाडौं : नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेका छन्। आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने र पार्टीलाई फरक बाटोमा लैजाने उनले दाबी गरे।
‘लामो समय शाहि शासनका पालामा कांग्रेसको नेतृत्वदायी भुमिकामा छु।’ नेता श्रेष्ठले मंगलबार अन्नपूर्णसँग भने, ‘मैले सबैसँग आफ्नो इच्छा राखिसकेको छु। सबैसँग भेटघाट पनि बढाएको छु। व्यक्तिप्रधान हैन नीतिप्रधान बनाउँछु।’
एक व्यक्ति एक पदको वकालत गर्दै आएका नेता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवातिर इंगित गर्दै दुई पदमा बसेर कसैले पनि सफलता प्राप्त नगर्ने उल्लेख गरे। नेता श्रेष्ठले भने, ‘शेरबहादुरजी धेरै भाग्यमानी मान्छे हुनुहुन्छ। हामीले उहाँको रिस गरेर हुँदैन। अब उहाँले काँध फेर्नुपर्यो। उहाँले सभापतिको जिम्मेवारी मलाई दिनुपर्छ।’ महिला, कर्णाली, दलित, जनजाति र पिछडिएका समूहका साथिलाई स्थान दिनुपर्छ भन्ने पहलीकरणको सुरुवात आफैँले गरेको श्रेष्ठले दाबी गरे।
उनले पार्टी भित्र गुट र भागवन्डाको विकृति भएको उल्लेख गरे। श्रेष्ठले भने, ‘मलाई चिन्दा संस्थापन पक्षको नेता भनेर चिनिन्छ तर म सबैलाई सर्वसम्मत बनाएर लान चाहन्छु। मेरो दुवै पक्षसँग उतिकै नजिक र सम्बन्ध राम्रो छ।’ नेता श्रेष्ठले प्रष्टसँग भने, ‘जीवनभर शेरबहादुरजीलाई मैले साथ दिएको छु यस पटक उहाँले मलाई सभापतिको जिम्मेवारी दिनुपर्छ। उहाँ प्रधानमन्त्रीको कार्यकाल सफल बनाउन लाग्नुपर्छ।’
महाधिवेशनको अब आउने नयाँ कार्यतालिका कुनै पनि हालतमा परिवर्तन नहुने नेता श्रेष्ठले बताएका छन्। उनले कांग्रेसका भातृसंगठन शसक्त नभएको धारणा राखेका छन्। पार्टीलाई क्रियाशित बनाउन सबै संगठनलाई बलियो बनाउनुपर्ने उनको बुझाई छ।
नेता श्रेष्ठले आफू सभापति भएपछि प्रधानमन्त्री नखोज्ने बताउँदै सभापति देउवाले दुइवटा पद सम्हालेर हिड्छु भन्नुहुन्छ भने ढिलो चाँडो केपी ओलिको हालत हुने दाबी गरे। कांग्रेस अब पनि एक ढिक्का भएर लाग्न नसके कम्युनिष्टकै वर्तमान अवस्थामा पुग्ने टिप्पणी गरे। उनले सरकारले जसरी भएपनि सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन ध्यान दिनुपर्ने बताए।
नेपाली कांग्रेसको क्रियाशील सदस्यका बारेमा बोल्दै नेता श्रेष्ठले भने, ‘अहिलेको क्रियाशीलको लडाइँ भनेको रियल कांग्रेस र छद्मभेसी कांग्रेसीका कारण क्रियाशीलताको समस्या आएको हो। दुई वटा जिल्लाका साथीहरुलाई चित्त बुझाएर ७५ जिल्लाका साथिलाई चित्त दुखाउने काम भएको छ।’
उनले सक्रिय सदस्यता जहिल्यै अधिवेशनका मुखमा मात्र खोलेका कारण क्रियाशीलताको समस्या आएकाले अरुबेला पनि यसलाई खुल्ला राख्नुपर्ने धारणा राखे। श्रेष्ठले भने, ‘कांग्रेस बन्न चाहनेलाई स्थान दिनुपर्छ। आफ्ना जिल्लामा केन्द्रस्तरका नेताले सहजीकरण गर्ने हो।’