तीन वर्षदेखि बेपत्ता बालिका परिवारको जिम्मा लगाइयो
राजविराजः तीन वर्षदेखि घरबाट हराएर बेपत्ता भएकी १५ वर्षीया बालिकालाई मंगलबार सप्तरीको राजविराजमा अभिभावकको जिम्मा लगाइएको छ ।
पर्साको वीरगञ्जबाट हराएकी वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरकी १५ वर्षीया बालिकालाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आमा सायदा खातुन र दाजु सैफ आलमको जिम्मा लगाइएको हो ।
भारतको विहार सुपौलस्थित जिल्ला बाल संरक्षण इकाइले फेला पारी बालिकालाई ०७५ मङ्सिर ११ गतेदेखि संरक्षणमा राखेको थियो । बाल संरक्षण इकाइको निरन्तरको मनोविमर्शपछि बालिकाले घर जाने बताएकी थिइन् । बालिकाको वीरगञ्जस्थित घरको खोजी गर्दै बाल संरक्षण इकाइले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गर्दै सेतु सामुदायिक विकास तथा अधिकार मञ्चसँग सहयोग मागेको थियो ।
मञ्चको आग्रहमा बाल संरक्षण इकाइले सप्तरीको सीमाक्षेत्र कुनौलीमा ल्याइ बालिकालाई जिम्मा लगाएको मञ्चका अध्यक्ष जंगबहादुर सिंहले बताए । बालिकाकी आमालाई बालिका जिम्मा लिन वीरगञ्जबाट राजविराज झिकाइएको र जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको उनले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेको बताएकी सायदाले ऋणकर्जा गरेर बसबाट आएको बताइन् ।
आलमका अनुसार बालिका बेपत्ता भएको केही महिनामै बुवा हसमुलाह मियाँको रक्तचापका कारण मृत्यु भयो । बालकैमा विवाह भएकी दिदीको समेत मृत्यु भएको बताएका आलमले घरमा आमा र भाई रहेको बताए । सायदाका अनुसार घर परिवारका कोही अभिभावकसँग पनि नसोधेर तीन वर्षअघि बालिका अचानक घरबाट हिंडेकी थिइन् ।
मामाघरका लागि हिंडेकी बालिका नाजरिनले अलमलिएर भारतमा अलपत्र परेको र जिल्ला बाल संरक्षण इकाइ सुपौलले संरक्षण दिएको बताइन् ।
बेपत्ता बालिकाको घरपरिवार एक वर्षअघि नै पत्ता लागे पनि कोभिड–१९ का कारण ल्याउन नसकिएकोमा निषेध आदेश खुकुलो भएपछि घरपरिवारको जिम्मा लगाउन भारतबाट बालिकालाई झिकाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।