हिराेसिमा नरसंहार : आणविक बमका पिता, सहारा भागवत गीता

हिराेसिमा नरसंहार : आणविक बमका पिता, सहारा भागवत गीता

आज अगस्त ६ तारिख। दोस्रो विश्वयुद्धको उत्तराद्र्धमा अमेरिकी बी–२९ लडाकु जहाजले सन् १९४५ आजकै दिन जापानको सहर हिरोसिमामा आणविक बम खसाल्यो। युद्धको इतिहासमा कहिल्यै प्रयोग नभएको उक्त आणविक विष्फोटनले तत्कालै असी हजार मानिसको ज्यान लियो बने विकीरण जोखिमका कारण थप दसौं हजार मानिसको निधन भयो। तीन दिनपछि दोस्रो बी–२९ ले जापानकै अर्को सहर नागासाकीमा आणविक आक्रमण गर्दा लगभग ४० हजारले आफ्नो ज्यान गुमाए। यो विनासकारी आक्रमणको केही दिनपछि जापानका सम्राट हिरोहितोले यो नयाँ र अत्यन्तै क्रूर आणविक बमलाई उद्धृत गर्दै आफू दोस्रो विश्वयुद्धबाट पछि हटेको र जापानले आत्मसमर्पण गरेको घोषणा गर्‍यो।

सन् १९३९ मा जर्मनीले पोल्यान्डमा आक्रमण गरेर सुरु भएको युद्धमा बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्ध घोषणा गरेसँगै दोस्रो विश्व युद्ध सुरु भयो। दुई वर्षपछि जर्मनीले सोभियत संघमा हमला गरेर नाजी जर्मनी र एडोल्फ हिटलरको महत्वाकांक्षालाई विश्वसामु परिचित गराइदियो। जर्मनीलाई साथ दिन इटाली र जापान एउटै शक्तिका रूपमा देखिए पनि यिनिहरूको खास उद्देश्य भने विश्वशक्तिका रूपमा उदाउँदै गरेको संयुक्त राज्य अमेरिकामाथि धावा बोल्नु थियो। युद्धमोर्चाको एकातिर जर्मनी, इटाली र जापान थिए भने सैन्य गठबन्धनको अर्को मोर्चा फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका र सोभियत संघले सम्हाल्दै दोस्रो विश्वयुद्धको कुरुक्षेत्रमा होमिएका थिए। हिरोसिमा र नागासाकीमा भएको आणविक नरसंहार, विश्वयुद्धका कारण सिर्जित रोग, भोकमरी र बमबारीहरूका कारण चार करोड नागरिक र तीन करोड सैन्य–सिपाही सहित करिब सात करोडले ज्यान गुमाएको इतिहास छ।

भागवत गीतालाई आफ्नो आदर्श मान्ने ओपोनहाइमर कुरुक्षेत्रको मैदानमा द्विविधायुक्त भए पनि लडाइँमा होमिएका अर्जुनजस्तै भए। उनी युद्धविरोधी अभिव्यक्तिमार्फत अडानलाई सार्वजनिक गर्न थाले।

हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसालेको ७६ वर्षयता आजसम्म कुनै पनि युद्ध वा सैन्य कारबाहीमा आणविक अस्त्र प्रयोग भएको प्रमाण छैन। सन् २०१६ मा जापान भ्रमणको सिलसिलामा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिरोसिमामा रहेको हिरोसिमा शान्ति स्मारकमा माल्यार्पण गर्दै आणविक आक्रमणमा परी बाँचेका र पीडित परिवारमा सहानुभूति प्रकट गरे। तर पनि अमेरिकाको हात रहेको त्यो बिभत्स दुष्कार्यका लागि क्षमा मागेनन्। बरु उल्टै आणविक हतियारको प्रतिस्पर्धामा रहेका शक्तिराष्ट्रहरूमा ‘नैतिकक्रान्ति’को आवश्यकताको प्रवचन दिएर गए। ‘आणविक बमका पिता’ भनेर चिनिएका अमेरिकी भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमर लगायत वैज्ञानिक र इन्जिनियरहरूको टिमले दोस्रो विश्वयुद्धताका नै आणविक हतियारहरूको निर्माण गरिरहेका थिए। हिटलरले जर्मनीका वैज्ञानिकहरूको सहयोग लिएर आणविक हतियारहरू निर्माण गर्न लागेको भन्ने भयले आणविक बमको जन्म भएको थियो।

गोप्य रूपमा एउटा प्रयोगशालाभित्र विकास गरिएको प्रविधिलाई ‘म्यानहेटन प्रोजेक्ट’ कोड नाम दिइएको थियो। हिरोसिमामा आक्रमण गर्नुपूर्व आणविक बम बिष्फोटको पहिलो सफल परीक्षण अमेरिकाकै एउटा परीक्षण स्थलमा गरिएको थियो। परीक्षणको त्यो बिहान प्रयोगशालाका निर्देशक तथा आणविक बमका पिता भौतिकशास्त्री ओपेनहाइमरले टाढाबाटै ४० हजार फिट अग्लो च्याउको स्वरूप जस्तो बादल निर्माण भएको देखेको थिए। जसलगत्तै उनले हिन्दू धर्मशास्त्र भागवत् गीताको श्लोकको सम्झना आएको बताएका थिए। ‘कलो अस्मी लोक क्षय कृतप्रविद्धो’ अर्थात् ‘र अब म मृत्यु बनेको छु र संसारको विनाशकर्ता भएको छु।’ ओपेनहाइमर भौतिकशास्त्रको क्षेत्रका प्रसिद्ध वैज्ञानिक त थिए नै त्योबाहेक संस्कृत भाषाका धुरन्धर विद्वान् थिए। भागवत् गीतालगायत हिन्दू शास्त्रका अधिकांश पुस्तकहरू यी आणविक बमका पिताले संस्कृत मै अध्ययन गरेका थिए।

अमेरिकामा बसोबास गरेको यहुदी परिवारमा जन्मिएका ओपेनहाइमर हिन्दू त थिएनन् नै, कुनै पनि कोणबाट उनी धार्मिक थिएनन्। कुरुक्षेत्रको युद्धमैदानमा आफ्ना नजिकका साथीहरू, परिवारका सदस्यहरू र परिचितहरू विरुद्ध लड्नु पर्दा द्विविधायुक्त र भ्रमित भएका अर्जुनलाई श्रीकृष्णले कौरवहरूका विरुद्धको यो लडाईं  उनको धर्म भएको र आफूले केवल कर्तव्य पालना गरेको बोध हुनुपर्ने भनेर सम्झाएका थिए। ठीक त्यसरी नै एउटा वैज्ञानिक र आणविक कार्यक्रमको प्रमुख भएका नाताले ओपेनहाइमर दोस्रो विश्वयुद्धमा आफ्ना शत्रुराष्ट्रहरूका विरुद्ध जर्मनीले आणविक हतियार निर्माण गरिरहेकोमा ओपेनहाइमर विश्वस्त थिए। त्यहीकारण उनले आणविक हतियारको अनुसन्धान र उत्पादन गर्न तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेन्कलिन रुजबेल्टले तयार गरेको एउटा पत्रमा हस्ताक्षर गरी ‘आणविक नरसंहारको नयाँ युग’मा प्रवेश गर्न सहमति जनाए। ओपेनहाइमरले आफूले गरेको यो निर्णयको जीवनपर्यन्त पश्चाताप गरिरहे।

ओपेनहाइमर भौतिकशास्त्रको क्षेत्रका प्रसिद्ध वैज्ञानिक थिए। उनी भागवत् गीतालगायत हिन्दू शास्त्रका अधिकांश पुस्तक उनै आणविक बमका पिताले संस्कृतमै अध्ययन गरेका थिए।

महाभारतमा उल्लेख गरिएका थरिथरिका विनाशकारी हतियारहरूमध्ये सबैभन्दा शक्तिशाली ‘ब्रह्मास्त्र’को वर्णन सबैभन्दा घातक हतियारका रूपमा र सम्पूर्ण पृथ्वीलाई नाश गर्न सक्ने क्षमता राख्ने अस्त्रका रूपमा गरिएको छ। हजारौं सूर्य बराबरको उज्यालो उत्सर्जन गर्ने र च्याउआकारको भयानक बादलले सम्पूर्ण पृथ्वीलाई ढाक्ने शक्तिशाली यो अस्त्रको प्रयोगले भूमि बाँझो र निर्जीव हुने, वर्षाको अन्त्य हुने र मानव अनि पशुहरूमा बाँझोपनको समस्या ब्रह्मास्त्रले ल्याउने उल्लेख गरिएजसरी हिरोसिमा र नागसाकीको आकाशबाट खसालिएको आधुनिक ‘ब्रह्मास्त्र’को प्रयोगले महाभारतको कथासित आफूलाई जोडेर ओपेनहाइमर द्विविधा र पछुतोमा बाँचे ं।

सन् १९४५ मा हिटलरले आत्महत्या गरेपछि जर्मनीले आत्मसमर्पण गर्‍यो। हिरोसिमा र नागासाकीको नरसंहारपछि जापानले पनि घुँडा टेक्यो र दोस्रो विश्वयुद्धको अन्त्य भयो। युद्ध समाप्त भएको भएता पनि ओपोनहाइमरलाई हिरोसिमा र नागासाकीको घाउले पोलिरह्यो। नास्तिक ओपोनहाइमरले गीतालाई आफ्नो जीवन–दर्शनलाई प्रभाव पारेका पुस्तकमध्ये एक भनेर स्वीकारेका थिए। आणविक बमको नरसंहारले हिरोसिमा र नागासाकीमा दिएको अकल्पनीय मानवीय पीडा र मनोवैज्ञानिक त्रासको सारा विश्व साक्षी भएको घटनाको अनुभव युद्धपछिका दिनहरूमा गरेका थिए। आफ्नो रुची र क्षमताको आश्चर्यजनक फराकिलो दायराका कारण विज्ञान र संस्कृत दुवैमा उत्तिकै चाख राख्ने उनी व्यक्तिगत रूपमा भने विरोधाभासपूर्ण जीवन बितारहेका थिए। युद्धपछिका दिनहरूमा ओपेनहाइमर आफ्नो निर्देशन र नेतृत्वमा निर्मित विनाशकारी आणविक अस्त्रको प्रयोग नहोस् भन्ने चाहन्थे। त्यसका निम्ति आणविक हतियारको प्रयोगलाई बिश्राम दिन स्थापना गरिएको अमेरिकी संस्था आणविक उर्जा आयोगसित जोडिए। त्यहाँ छँदा सन् १९४९ मा अमेरिकी राष्ट्रपति ह्यरी ट्रुमनको हाइड्रोजन बम निर्माण गर्ने प्रस्तावलाई उनले ठाडै अस्वीकार गरेका थिए।

ओपेनहाइमर भविष्यमा शक्तिशाली देशहरूबिचको आणविक होड युद्धहरूमा प्रयोग हुने सक्ने अत्याधुनिक हातहतियारका बारेमा बढी चिन्तित थिए। उनको चिन्ता र चासो समयक्रमसँगै साम्यवाद र पुँजीवादबिचको द्वन्द्व र शीतयुद्धबाट पुष्टि हुँदै गयो। भागवत गीतालाई आफ्नो आदर्श मान्ने ओपोनहाइमर कुरुक्षेत्रको मैदानमा द्विविधायुक्त हुँदाहुँदै पनि लडाइँमा होमिएका अर्जुनजस्तै भए। युद्धविरोधी अभिव्यक्तिहरूमार्फत आफ्ना अडानलाई सार्वजनिक गर्न थालेपछि उनी शंकाका दृष्टिले हेरिन थालिए। आफ्नो जीवनको उत्तराद्र्धमा शान्तिवादी अभियानहरूमा संलग्न हुन थाले। कला र विज्ञानको माध्यमले रचनात्मक सोच, मानव स्वाभिमानको रक्षा र समतामूलक विकासको लक्ष्य राखेर ओपोनहाइमरले सन् १९६० मा आफ्ना नजिकका मित्र र समकालीन वैज्ञानिकहरू अल्बर्ट आइन्स्टाइन  र बर्टान्ड रसलको सहयोगमा ‘वल्र्ड एकेडेमी अफ आर्ट एन्ड साइन्स’को स्थापना गरे।

संस्कृत र पूर्वीय दर्शनहरूको पश्चिमी पहुँचलाई २०औं शताब्दीको सबैभन्दा ठूलो उपलब्धी मानेका ओपेनहाइमरले हिरोसिमा र नागासाकीको नरसंहारमा आफू पनि दोषको भागीदार भएको ठान्दथे। तर भविष्यमा विज्ञान र प्रविधिको प्रयोग मानव सभ्यतालाई विनाश गर्न होइन कि अझ उकास्नका लागि हुनुपर्छ भन्ने विश्वास राख्दथे। विख्यात साहित्यकार तथा नाटककार बालकृष्ण समले मानवचेतको शाश्वत सत्य ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ झै पूर्वीय दर्शनमा पारंगत पश्चिमका भौतिक शास्त्रका एक नक्षत्र ओपेन्हाइमरको पश्चाताप र वियोगान्त विज्ञान र आध्यात्मको कालजयी द्वन्द्व आणविक अस्त्रको निर्माण र विज्ञानको ध्वंसात्मक पाटोका रूपमा यसरी  मानव इतिहासमा दर्ज भयो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.