७८ लाख बराबरका मोबाइल बरामद
नवलपुर : प्रहरीले ७८ लाख बराबरको मोबाइल बरामद गरेको छ। भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति ५ सय ९५ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन्। प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको डिएसपी गिरीले बताए। बरामद भएका मोबाइल विभिन्न ब्राण्डका छन्।
नारायणगढ बजारका विभिन्न पसलमा बिक्रीका लागि मोबाइल लैजान लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबारहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।