‘कोभिड–१९ बाट ६० वर्षमाथिका धेरै मृत्यु’
काठमाडौं : कोभिड–१९ बाट मृत्युवरण गर्नेमा ६० वर्षभन्दा माथिका धेरै छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका पाँच हजार ३ सय ८३ जनाको मृत्यु भएको छ। ५० देखि ५९ वर्ष उमेर समूहका एक हजार ९ सय ६१ जना तथा ४० देखि ४९ उमेर समूहका एक हजार ४ सय ३७ जनाले कोभिडबाट ज्यान गुमाएका छन्।
कोभिडबाट ज्यान गुमाउनेमा युवा पनि छन्। मन्त्रालयका अनुसाार ३० देखि ३९ उमेर समूहका आठ सय २८ जना, २० देखि २९ उमेरका तीन सय ४ जना, १० देखि १९ वर्षका ५० जना र ९ वर्षसम्म उमेर समूहका ४५ जनाको ज्यान गइसकेको छ। ज्यान गुमाउने सात जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ।
कोभिडबाट संक्रमित मध्ये १.४१ प्रतिशतको मृत्यु भएको र ९४ प्रतिशत संक्रमित निको भएको मन्त्रालयको भनाइ छ। देभभर कोभिडबाट सात लाख १० हजार ५ सय ९ जना संक्रमित छन् भने १० हजार १९ को मृत्यु भएको छ।
संक्रमितमा पनि पुरुष धेरै
कोभिड–१९ बाट संक्रमित हुनेमा पुरुषको संख्या उच्च रहेको छ। स्वास्थ्य मन्त्रालयको हालसम्मको तथ्यांक हेर्दा चार लाख २६ हजार ६ सय १२ जना पुरुषहरू संक्रमित भएका छन्। त्यसैगरी महिलाको संख्या दुई लाख ८३ हजार ८ सय ९७ रहेको मन्त्रालयले जनाएको छ। प्रतिशतको आधारमा हेर्दा ६०.१ प्रतिशत पुरुषहरू संक्रमित भएका छन् भने महिला ३९.९ प्रतिशत रहेका छन्।
उमेरका आधारमा संक्रमित
३१ वर्षदेखि ४० वर्ष उमेर समूहका पुरुषहरू सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। उक्त उमेर समूहका एक लाख ८ हजार ५ सय ५८ तथा पुरुष र ६५ हजार ९ सय ३० जना महिला संक्रमित भए।
१० वर्षसम्मका नौ हजार ८ सय ४४ जना बालक र सात हजार १ सय जना बालिका संक्रमित भएका छन्। त्यसैगरी ११ देखि २० वर्षका २८ हजार ५ सय ९१ किशोर तथा २० हजार ३ य ८२ जना किशोरी संक्रमित बनेका छन्। २१ वर्षदेखि ३० वर्ष उमेरका ९९ हजार ४ सय २२ युवा तथा ७२ हजार ३ सय ४१ युवतीमा संक्रमण भएको छ। ३१ देखि ४० का एक लाख ८ हजार ५ सय ५८ पुरुष र ६५ हजार ९ सय ३० जना महिला संक्रमित भएका छन्।
४१ देखि ५० उमेर समूहका ७५ हजार ४ सय ४५ पुरुष र महिला ४५ हजार ७ सय ६८ जना छन्। ५१ देखि ६० उमेर समूहका पुरुष ५३ हजार २ सय २ र महिला ३४ हजार ६ सय ९९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी ६१ देखि ७० वर्षका २८ हजार ५ सय ५३ पुरुष संक्रमित रहेका छन् भने यो उमेर समूहका संक्रमित महिलाको संख्या २० हजार ३ सय ८५ रहेको छ। ७१ देखि ८० उमेरका १३ हजार ८ सय ६५ वृद्ध तथा १० हजार ६ सय ६४ वृद्धा संक्रमित बनेका छन्।