नवलपरासी भित्राउन लागिएको २ करोड बढीको लागुऔषध भारतमा बरामद

नवलपरासी भित्राउन लागिएको २ करोड बढीको लागुऔषध भारतमा बरामद

परासी : नवलपरासीहुँदै नेपालका विभिन्न सहरमा पठाउनका लागि गोदाममा राखिएको ठूलो मात्राको लागुऔषध भारतीय प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ किमिको दुरीमा रहेको भारतीय बजार ठूठीबारी नजिकको जमुईकला गाउँबाट भारतीय सुरक्षा टोलीले ४ दिनअघि छापा मारेर लागुऔषध बरामद गरेको हो । 

बरामद भएको लागुऔषधको मूल्य भारतीय अधिकारीहरुले ६ अर्ब ६८ करोड रहेको दाबी गरेका छन् । भारतबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाहरुले अधिकारीहरुलाई उदृत गर्दै ६ सय ६८ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जनाएका छन् ।

अन्तराष्ट्रिय बजारको तुलना गरेर लागुऔषधको मूल्य राखेको भारतिय अधिकारीहरुलाई उद्दृत गर्दै हिन्दुस्तान दैनिकका पत्रकार मनोज कुमार जोशीले अन्नपूर्णलाई बताए । बरामद भएको परिणामअनुसार भारतीय बजारमा २ करोड बढी नेपाली रुपैयाँ पर्ने लागुऔषध रहेको अनुमान गरिएको छ । लागुऔषध करिब १ ट्रक बढी छ । भारतीय बजारमा पर्ने लागुऔषधको मूल्य नवलपरासी पुर्‍याउँदा दोब्बर हुने र चितवन, पोखरा, हेटौडाहुँदै काठमाडौंसम्म पुर्याउँदा पाँचगुना बढी मूल्य पर्ने गरेको नेपालबाट लागुऔषध सेवन गर्न भारत जाने दुव्र्यसनी र कारोबार गर्ने व्यक्तिहरुले बताएका छन् । 

एक दुव्र्यसनीका अनुसार भारतमा १ सय ५० रुपैयाँमा पाइने एक फाइल लागुऔषध काठमाडौं बिक्री हुँदा ३ हजारसम्म पर्छ । ३ सय रुपैयाँ पर्ने सिरफ चितवन, हेटौडा र काठमाण्डौं पुर्‍याउँदा ३ हजारदेखि ४ हजारसम्म पर्ने गरेको बताइएको छ । 

बरामद भएका सबै लागुऔषध नेपाल पठाउनका लागि गोदाममा राखिएको अधिकारीहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । नवलपरासीको सीमावर्ती नाका नजिकबाट बरामद भएका कारण लागुऔषध सोही जिल्लाको नाका भएर नेपाल पठाउन राखिएको अधिकारीहरुले दाबी गरेका छन् । केही लागुऔषध सीमावर्ती भारतीय बजार ठूठीबारी, बर्गदवा, लक्ष्मीपुर खुर्द बजारका मेडिकलहरुमा पनि पठाउने अवस्थामा रहेको बताइएको छ ।

जिल्लाका नाकाहुँदै नेपाली दुव्र्यसनीहरु दैनिकरुपमा उक्त बजार क्षेत्रमा लागुऔषध सेवन गर्न जाने गरेका छन् । जसका कारण ति बजारमा लागुऔषधको खपत बढी हुने गरेको छ । सोही नाकाहरुबाट कारोबारीहरुले लागुऔषध नेपालका विभिन्न शहरमा पुर्‍याउने भारतीय अधिकारीहरुले बताएका छन् । लागुऔषध बरामद गर्न डिएम (सिडिओ) डा. उज्ज्वल कुमार, एसडिएम (सहायक प्रमुख जिल्ला अधिकारी) प्रमोद कुमार, एसपी प्रदिप गुप्ता, एसएसबी (भारतीय सीमा सुरक्षा बल) प्रमुख मनोज कुमारको टोली पुगेको थियो । जमुईकला गाउँका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)को गोदाममा छापा मारेर लागुऔषध बरामद भएको हो 

कारोबारी गोबिन्द फरार छन् । सुरक्षाकर्मीले गोबिन्दका भाई रमेशलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । लागुऔषध कारोबारी गोबिन्दको गडौरा बजारमा मेडिकल सञ्चालनमा छ । उनले गोरखपुरका विभिन्न थोक बिक्रेताहरुबाट उक्त लागुऔषध ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोबिन्दको उक्त गोदाममा लाम लागेरै नेपाली युवाहरु दैनिक रुपमा लागुऔषध लिन जाने गरेको बताइएको छ । त्यहाँबाट युवाहरुले लुकाएर लागुऔषध भित्राउने गरेको अधिकारीहरुले जनाएका छन् । 

बरामद भएका लागुऔषध विभिन्न नाम गरेका सिरप, ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन र एप्पुल छन् । पत्रकार सम्मेलनमा सार्वजनिक गरेअनुसार २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सिसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद भएको छ । लागुऔषध सेवन गर्ने एक दुव्यर्सनीले बरामद भएका औषधिको सीमावर्ती भारतीय बजारमा पाइने नेपाली मूल्य तोक्दै भने सिरपको प्रति बोत्तल ( १ सय एमएल) २ सय ८० देखि ३ सय छ । प्रति ट्याब्लेट र क्याप्सुलको १५ देखि २५ रुपैयाँ छ । त्यस्तै इन्जेक्सन १ सय ९० रुपैयाँ (एक वटामा ३ वटा ) छ । 

भारतीय अधिकारीले तोकेको अन्तराष्ट्रिय मूल्य

बरामद भएका लागुऔषधलाई भने भारतीय अधिकारीहरुले औषधिमा हुने कोडिनको मात्रालाई परिणत गर्दै डलरको भाउ लगाएका छन् । जसअनुसार बुप्रेनार्फिन ३३ हजार ५ सय ६० ग्रामको ७ सय ५० डलर तोकेर २ अर्ब ५२ करोड पु¥याएका छन् । त्यस्तै १ करोड ८७ लाख ८ हजार २ सय ग्राम कोडिन फोस्फेटको ५६ रुपैयाँ डलरको भाउँ तोकेर ३ अर्ब तोकिएको छ । ड्रामाडोल ९७ हजार ३ सय ११ ग्रामको ८० डलर तोकेर २५ करोड ९४ लाख पु¥याएका छन् । अल्प्राजोम ४ हजार ७ सय ७५ ग्रामको १५ लाख २२ हजार तोकेका छन् । त्यस्तै निट्राज्पाम ४५ हजार २ सय ४० ग्रामको २८ डलर तोकेर २५ करोड ३३ लाख पु¥याएका छन् । यसरी उनीहरुले अन्राष्ट्रिय मूल्य अनुसार ६ सय ६८ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जनाएका हुन् ।  

फरारमाथि २५ हजारको इनाम

फरार रहेका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)लाई पक्राउ गर्ने वा जानकारी गराउनेलाई २५ हजार इनामको घोषणा गरिएको एसपी प्रदिप गुप्ताले पत्रकार सम्मेलनमा बताए । यसअघि पनि उनीमाथि लागुऔषधमा प्रहरीले मुद्दा चलाएको थियो । प्रहरीको आँखा छल्दै आएका उनले लागुऔषधको कारोबारलाई निरन्तरता दिदैं आएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

के भन्छ नेपाल प्रहरी

भारतमा ठूलो परिणाममा लागुऔषध बरामद भएपनि नवलपरासी प्रहरीले भने एक वर्षको अवधिमा करिब ७ लाखको मात्र बराबरको बरामद गरेको छ । भारतमा बरामद भएको लागुऔषध त्यहाँ समेत पूर्ण रुपमा प्रतिबन्द छ । भारतमा बरामद भएको ठूलो परिणामको लागुऔषध नेपाल भित्राउनकै उद्देश्यले ल्याउन लागेको नवलपरासी प्रहरीले पनि स्वीकार गरेको छ । यसले नवलपरासी जिल्लाका केही सीमा क्षेत्रलाई लागुऔषध कारोबारीले ट्रान्जिट प्वाइण्टका रुपमा प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए । 

नेपाल आउनु अघि नै भारतीय सुरक्षा अधिकारीहरुले ठूलो मात्रामा लागुऔषध बरामद गरेको जानकारी पाएकोले त्यसबाट नेपाललाई पनि फाइदा पुगेको लामाको भनाई छ । ‘ यो बरामदले नेपालमा लागुऔषधको अवस्था भयावह पनि देखाउँछ । खुला सीमा भएकाले केही समस्या छ । तर पनि प्रहरीले लागुऔषध नियन्त्रणमा कुनै कसर बाँकी राखेको छैन । ’ लामाले भने । एक वर्षको अवधिमा प्रहरीले ४९ जनालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ । गत साउनदेखि असारसम्म भएका ३४ वटा लागुऔषधका घटनामा संलग्नमध्ये ४ जना फरार छन् ।

यो अवधिमा प्रहरीले डाइजेपाम, नुर्फिन र फेनारगन गरी कुल ६ हजार ६ सय ८२ एप्पुल बरामद गरेको छ । त्यस्तै नाइट्रोसन, नाइट्रोभेटसहित ३ हजार ४ सय ३४ ट्याब्लेट बरामद गरेको छ । स्मास्मोभ, प्रोक्सिमन ३ हजार २ सय ९८ क्याप्सुल बरामद गरेको छ ।

बरामद भएका अन्य लागुऔषधमा फेन्सिडिल र ओनेरेक्स २ सय ४७ बोत्तल, ब्राउन सुगर ४ सय ८२ मिलिग्राम र गाँवा २ केजी ९० ग्राम बरामद भएको डिएसपी लामाले जानकारी दिए । ब्राउन सुगर र गाँजा बाहेक बरामद भएका लागुऔषधको मूल्य करिब ७ लाख बराबरको रहेको छ । प्रहरीले लागुऔषधको रकम नतोके पनि भारतीय बजारमा खरिद हुने मूल्यका आधारमा अनुमान गरिएको हो । 

जिल्लाबाट पक्राउ परेका व्यक्तिहरुले मोटरसाइकल, साइकल र शरिर तथा पोकाहरुमा लुकाएर लैजाने गरेको प्रहरीले जनाएको छ । चारपाङ्ग्रे गाडीबाट भने ठूलो परिमाणमा लागुऔषध लैजाने गरेको नपाइएको डिएसपी लामाको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.