वालिङले दियो ६ परिवारलाई जग्गाधनी पूर्जा
स्याङजा: बाढी पहिरोका कारण विस्थापित यहाँका ६ घरपरिवारलाई वालिङ नगरपालिकाले जग्गाधनी पूर्जा उपलब्ध गराएको छ।
गत वर्षको वर्षासँगै बस्ती जोखिममा परी उनीहरुलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरिएको थियो। उनीहरुलाई वालिङ ८ दमैडाँडामै जग्गा खरिद गरी घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो।
टीकामाया दर्जी, डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई नगरप्रमुख दिलिपप्रताप खाँणले आइतबार जग्गाधनी पूर्जा हस्तान्तरण गरेका हुन्।
पहिलेदेखि बस्दैआएको घर बस्तीमा गत वर्षको वर्षायामसँगै जमिन भासिनुका साथै जमिन चिरिएएपछि नगरपालिकाले सुरक्षित स्थानमा सारेको नगर प्रमुख खाँणको भनाइ छ।
स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरीद गरी उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा दिएको बताउँछन् प्रमुख खाँण। उनले भने, “जग्गा प्राप्तिसँगै अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्छौँ र बस्ती स्थानान्तरण गर्छौं ।”
जग्गा खरिददेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने प्रमुख खाँणले जनाए। प्रति परिवार ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताए। उनका अनुसार जग्गा खरीद र रजिष्ट्रेशन पास गर्दा १४ लाख ४० हजार खर्च भएको छ।
सुरक्षित स्थानमा बस्न पाउने भएकोमा खुसी व्यक्त गर्छिन् डोलमाया दर्जी। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दैआएका ती परिवार गत वर्षको वर्षामा बासस्थान भासिएपछि ३५ जना विस्थापित भएका थिए।
गत वर्षसम्मको मनसुनजन्य विपदका कारण प्रभावित हुने घरपरिवार वालिङमा ४० भन्दा बढी रहेको र तिनीहरुलाई क्रमशः व्यवस्थापन गर्दै जाने नगरपालिकाले जनाएको छ।
जग्गाधनी पूर्जा हस्तान्तरण गर्दे नगरप्रमुख दिलिपप्रताप खाँण।