वन्यजन्तुले क्षति पुर्याउन थालेपछि किसानले खेति गर्न छाडे
ओखलढुंगाः चिशंखुगढी गाउँपालिका ३ को दियालेस्थित ढुंगाना गाउँका किसानले हिउँदे तथा वर्षे बाली लाउन छाडेका छन् । मकै बाली बाँदर र धान तथा अन्य हिउँदे बालीमा मृग र मुजुरले क्षति पुर्याएपछि खेति छाड्न थालेका हुन् ।
स्थानीय युवा भेषनाथ ढुंगाना भन्छन्, ‘बेंसीका खेत र बारीमा वर्षको आधा समय गोठ राखेर खेतिपाति गरिन्थ्यो अहिले सबै बाँझै छाडिएको छ, बाली जोगाउन नसकेपछि खेतबारी जंगलमा रुपान्तरण भएका छन् ।’
चिशंखुगढी मात्रै होइन सिद्धिचरण नगरपालिका १२ को गोगुनेका किसान घर सर्ने तयारीमा छन् । बाँदरको हैरानीले मकैबाली लगाउनै छाडेका छन् । आजभोलि सुन्तला पनि खाएर क्षति पुर्याउने भएपछि समस्या रहेको स्थानीय बुद्धिबहादुर खड्का बताउँछन् । ठाउँ भए अन्यत्रै जाने अवस्था ल्याएको स्थानीयको गुनसो छ । युवा शक्ति विदेशिदा खेतियोग्य जमिन घट्दै जंगल बढ्न थालेको छ । वस्ती छेउसम्मै बढेका वन क्षेत्रमा आउने बन्यजन्तुले किसानलाई हैरान पारेका छन् ।
बारीमा मात्रै होइन अब त घरको धुरीभित्रै पसेर बाँदरले अन्नबाली खान थालेकाले समस्या भएको लिखुका बोधनारायण श्रेष्ठ बताउँछन् । बाँदरले क्षति पुर्याएकै कारण लिखुका धेरै खेतमा बाली लाग्न थालेको छ । धेरैजसो बारी र खेतमा वन्यजन्तुको क्षति रोक्न नसकेपछि किसानले खेति मात्र छाडेका छैनन्, कति ठाउँमा थातथलो छोड्ने अवस्थामा पुगेका छन् ।
किसानलाई बन्यजन्तुको क्षति हेरेर क्षतिपूर्ति दिन र नियन्त्रणका लागि धेरै पटक माग गरिए पनि स्थानीय सरकार र सरकारी निकायले चासो नदिएको मोलुङ गाउँपालिका १ का गंगा शर्माले गुनासो गरे । बाँदर र अन्य वन्यजन्तु नियन्त्रण गर्न धेरै पटक जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा उजुरी दर्ता गरे पनि किसानको गुनासो सुनुवाइ भएको छैन ।
ग्रामीण किसानलाई पछिल्ला बर्षहरुमा नियमित वर्षा नहुँदा उत्पादन घटिरहेको चिन्ता छ भने अर्का तिर बारीको उत्पादन घर ल्याउन र घरैबाट पनि जोगाउन समस्या परिरहँदा स्थानीय सरकारले यसबारे नीति बनाउनु पर्ने राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष हेमकुमार घिमिरेले बताए । स्थानीय सरकारको ध्यानाकर्षण गराइएपनि सुनुवाइ नभएको उनको भनाइ छ ।
स्थानीय तहका कृषि शाखाहरुले वन्यजन्तुको क्षति न्यूनिकरण गर्न र किसानलाई राहत दिने नीति तथा कार्यक्रम तर्जुमा गर्न सकेका छैनन् ।