लागूऔषध कारोबारीको खोजी

लागूऔषध कारोबारीको खोजी

परासी : भारतीय प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका लागूऔषध कारोबारी गोविन्द गुप्ता (रौनियार) सीमावर्ती नेपाली गाउँमा लुकेको आशंका गरिएको छ । सोही आशंकाका आधारमा पश्चिम नवलपरासी प्रहरीले खोजतलासमा तीव्रता दिएको छ । 

गोविन्दले लामो समयदेखि नवलपरासी हुँदै नेपालका विभिन्न सहरमा लागूऔषध पठाउने गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । लागूऔषध कारोबारी गोविन्दको घर पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ किलोमिटरको दूरीमा छ । भारतीय सुरक्षा टोलीले हप्ता दिनअघि गोविन्दको घरमा छापा मारेर २ करोड बढी नेपाली रुपैयाँको लागूऔषध बरामद गरेको थियो । 

औषधि व्यवसायीका रूपमा परिचित गराउन गोविन्दले गाउँ नजिकैको गडौरा बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । लागूऔषधको गोदाम भने घरमै बनाएर राखेका थिए । गोदाममा ठूलो परिमाणमा लागूऔषध लुकाएर राखेको आशंकमा भारतीय सुरक्षा टोलीले छापा मार्दा बरामद गरेको थियो । मुख्य कारोबारी गोविन्द अहिले फरार छन् । कारोबारमा संलग्न भएको भन्दै उनका भाइ रमेशलाई पक्राउ गरी कारबाही प्रकृयाअघि बढाइएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै ठूठीबारीका पत्रकार मनोज कुमार जोशीले बताए । फरार गोविन्दलाई मोस्टवान्टेडको सूचीमा राखी त्यहाँको प्रहरीले २५ हजार भारतीय रुपैयाँको पुरस्कारसमेत घोषणा गरेको छ । 

नवलपरासीको गेर्मी, महेशपुर, विष्णुपूरालगायतका सीमावर्ती गाउँमा लुकेको आशंकामा सादा पोशाकका भारतीय प्रहरीहरू आएर निगरानी बढाएको त्यहाँका स्थानीयले बताएका छन् । गोविन्द सीमावर्ती गाउँमा लुकेको आशंकामा निगरानीलाई बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार यादवले बताए । ‘भारतीय प्रहरीले उनलाई खोजी गर्न पत्रचार नगरे पनि नेपालमा लागूऔषध पठाउने कारोबारीलाई पक्राउ गर्नु आफूहरूको पनि दायित्व भएकाले अप्रेसन सुरु गरेका हौं,’ एसपी यादवले भने । 
फरार गुप्ताका आफन्त नवलपरासीका सीमावर्ती गाउँमा रहेको आशंकामा प्रहरीले ती घरहरूमा छापासमेत मारेको यादवले बताए । स्रोतका अनुसार प्रहरी पुग्नुअघि नै गोविन्द त्यहाँबाट भागेका कारण प्रहरीको अप्रेसन सफल हुन नसेको बताइएको छ । प्रहरीले मातहतका सबै प्रहरी चौकीहरूमा गोविन्दको फोटो पठाएर खोजबिनलाई तीव्रता दिएको एसपी यादवले जानकारी दिए । 

प्रहरीले जिल्लामा अप्रेसनलाई तीव्रता दिएपछि उनी भागेर रुपन्देही पुगेको आशंकासमेत गरिएको छ । नवलपरासीको नाका हुँदै नेपालका विभिन्न सहरमा लागूऔषधको जालो फैलाउने गोविन्दले केही नेपाली युवाहरूलाई प्रलोभनमा पारेर साइकल र मोटरसाइकलमार्फत ओसारपसार गराउने गरेको समेत बताइएको छ । यसअघि पनि गोविन्दमाथि भारतीय प्रहरीले लागूऔषधमा मुद्दा दायर गरेको थियो । तर, उनी पक्राउ पर्न सकेका छैनन् । उनलाई त्यस क्षेत्रमा लागूऔषधका ‘डन’ भनेर चिनिने गरिएको बताइएको छ ।

गोविन्दको घरमा छापा मारेर भारतीय प्रहरीले २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सीसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै, नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद गरेको थियो । उक्त लागूऔषधको अन्तर्राष्ट्रिय मूल्य (डलर) का आधारमा ६ अर्ब ६८ करोडको बरामद भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँका सबैजसो सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि, त्यहाँ बिक्री हुने लागूऔषधको बजार मूल्यको तुलना गर्दा २ करोड नेपालीको हाराहारीमा रहेको भारतीय मेडिकल सञ्चालकहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.