सडक र पुलले फेरिँदै ऐतिहासिक गौशाला
तर, अब ती दुःखका दिन खुसीमा रुपान्तरण भए । खोलामा पुल बनेपछि महोत्तरीको गौशाला–८ बेलगाछीका प्रेम वृद्धा अवस्थामा अपार खुसी अनुभूति गरिरहेका छन् । विकासका पूर्वधार पुल निर्माणले मुजा परेको उनको अनुहारमा खुसी छचल्किँदो छ ।
अन्नपूर्णकर्मी पुलको रिपोर्टिङ गर्न पुग्दा उनी त्यही पुल भएर आफ्नो गन्तब्यमा पैदल जाँदै थिए । हामीलाई देखेपछि उनी टक रोकिए । ‘सोनी खोलामा पुल नहुँदा हामीलाई धेरै दुःख भयो । बाढी आउँदा वारीको मान्छे वारी नै बस्नुपर्ने, पारीका मान्छे पारी नै रात काट्नु पर्ने हुन्थ्यो,’ उनले भने, ‘पुल बनेपछि त्यो सबै दुःखबाट हामीले मुक्ति पाएका छौँ ।’ जीवनभरी उनी खेतसम्म पुग्न खोलाको बाढी तरेर आउजाउ गरे । बाढी बढेर आउँदा गौशाला बजार गएका गाउँहरु खोलाको डिलमै बसेर खोला सुकेपछि घर जाने प्रतिक्षामा रात काटेको उनले तीतो अनुभव सुनाए ।
सोनी खोलाको उत्तरमा पर्छ भण्टाबारी गाउँ अनि दक्षिणमा खाल्टे बजार । दुवै गाउँका स्थानीयको खेतिबारी खोला बारी र पारी पर्छ । भरखरै यो खोलामा २७ करोड १७ लाखमा शान्दार पुल बनेको छ । भन्टाबारीका स्थानीयहरुको मुख्य बजार गौशाला पर्छ । गौशाला महोत्तरीको पुरानो र ग्रामिण भेगको मुख्य व्यापारी केन्द्र हो । खोलाको बाढी पार गरेर किसानहरु सागसब्जी बिक्री गर्न जानु पर्ने बाध्यता थियो । पुल बनेपछि गाउँलेहरुको यात्रा सुरक्षित बनेको छ । अहिले गाउँलेहरुलाई न बाढीको डर छ न त बगाएर लाने चिन्ता ।
गौशाला-८ बेलगाछीस्थित सोनी खोलामा दुई लेनको दुई सय मिटर पुल निर्माण भएको छ । त्यसले प्रेम जस्ता लाखौं नागरिकलाई पुल भएर आउजाउ गर्न सहज भएको छ । ‘रातविरात आउजाउ गर्न अब बाढीको डर भएन,’ प्रेम भन्छन्, ‘बिस्तारै गाउँमा विकास फैलिँदै गएको छ । हामी जे दुःख भोग्यौँ, छोरा–नातीले अब भोग्नु पर्दैन ।’
पाँच वटा पिलरमा राखिएको चार स्पामले सोनी खोलाको दुई किनारलाई जोडेको छ । सडक विभागको पुल महाशाखाको लगानीमा साँढे तीन वर्ष लगाएर सपना–पप्पु–रोशन जेबी तीनकुने काठमाडौँले पुल निर्माण गरेको प्रोजेक्ट म्यानेजर पनिस बस्तीले बताए ।
गौशाला-टुटेश्वर-खयरमारा सडक खण्डमा यो पुल निर्माण भएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए । यो सडकलाई आउँदा भविष्यमा मदन भण्डारी राजमार्गसँग जोड्ने सरकारको योजना रहेको उनले बताए । आर्थिक वर्ष २०७८-०७९ मा गौशाला नगरपालिकाले २ करोड ९६ लाख खर्च गरेर गौशालादेखि सोनी खोला नजिकैसम्म झण्डै ३ किलो मिटर कालोपत्रे सडक निर्माण गरेको छ ।
गौशाला महोत्तरीको प्रमुख व्यापारी रहे पनि सडक सञ्जालको विकासमा पछि परेको थियो । त्यसले गर्दा बजारले फड्को मार्न सकिरहेको थिएन । २०७४ मा स्थानीय सरकार गठन भयो । सडक सञ्जाल विस्तार गर्न चौतर्फी पहल गरियो । अहिले गौशालालाई जोड्ने चौतर्फी सडक सञ्जाल धामाधम विस्तार भएको छ । गौशाला नगरपालिकाले सोनी खोला नजिकै ३२ करोंडको लागतमा १२ विघामा उद्यौगिक ग्राम निर्माण थालेको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापा बताउँछन् । किसानले उतपादन गरेका कृषि उत्पादनलाई कोल्ड स्टोर, इन्जिनियरिङ कलेज र आयूर्वेद कलेजको अवधारणा अघि सारेर काम भइरहेको छ ।
गौशालामा ९५ वर्ष पुरानो सरकारद्वारा सञ्चालित निगौल गाई गौशाला छन् । यहाँ आधुनिक गाईको विकास र रैथाने गाईको संरक्षण गरिएको छ । गाई पाल्ने ठाउँ भएकाले यसको नाम गौशाला रहन गएको हो ।
गौशाला नगरपालिकाले आफ्नो करोडौंको लागतमा नगर क्षेत्रभित्र २०७४ यता ६ किलो मिटर पक्की सडक निर्माण गरेको छ । तीन वर्ष अगि मात्रै निर्माण भएको माइस्थान-गौशाला-सम्सी सडक खण्डले गौशालाको विकासमा मद्दत पुर्याएको छ । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको २६.९४ किलोमिटर यो हुलाकी मार्ग गौशाल बजार नजिकैबाट भारतीय सीमा नाकासँगै जोडिएर बिस्तार भएको छ ।
पूर्व-पश्चिम राजमार्गलाई जोड्ने माईस्थान-गौशाला-सम्सी भारतीय सीमासँग जोडने महोत्तरीको पुरानो सडक हो । सन् १९९० मा भारतीय ठेकेदार कम्पनी भिस्वा-वीभीएसआर जेभी कामै नगरी योजना छाडेपछि २८ वर्षदेखि अलपत्र थियो।
लामा डाँफे गोल्डेन गुड जेभी काठमाडौँले ५७ करोडमा सडक निर्माण गरेको थियो । गुणस्तरहीन सडक निर्माणले कालोपत्रे सडक चर्किर ठाउँ-ठाउँमा भत्किन थालेको उपभोक्ताका रजखोरका पूर्व शिक्षक बासुदेव महतो बताउँछन् । ‘सरकारले बेलाबखतमा सडकको मर्मत सम्भार गराउनु पर्छ । नत्र सडक जिर्ण बनेर पुरानै हालतमा नपुगोस् ।’
दुई लेन निर्माण भएको सडकको अधिकतम गति प्रतिघण्टा ८० कि.मि. छ भने भारवाहन क्षमता १० टन छ। सडक निर्माण पछी २ बर्षसम्म मर्मत सम्भारको जिम्मा ठेक्केदार कम्पिनीको जिम्मा थियो ।तर, उसले मर्मत सम्भावमा चासो देखाएको छैन ।
गौशाला बजारलाई छुने गरी महेन्द्रनगर-औरही-गौशाला-मलंगवा सडक खण्डको विस्तार भइरहेको छ । औरही र मरहा खोलामा करोडौँ लागतको पुल निर्माण भइसकेको छ भने कालोपत्रे सडक निर्माणको चरणमा छ । यो सडक खण्ड बिस्तारले गौशालाको पहुँच जिल्ला बाहिर सहज हुने छ ।
गौशाला बजार भन्दा पश्चिममा लक्ष्मीनियाँ-दीपेन्द्र बजार-सुन्दरपुर र खैरबन्नी-कान्तिबजार सडक खण्ड बिस्तार भइरहेको छ । यो दुवै सडक खण्डले गौशालाको ग्रामिण भेगलाई पूर्व पश्चिम राजमार्गसंग जोडेको छ ।‘सडक र पूल निर्माणले गाउँ-गाउँमा खुसी फैलिएको छ,’बेलगाछीका कूलमान आलेले भने । सडक सञ्जाल विस्तारले गौशालाको मुहार फेरिँदै गएको गौशाला नगरपालिकाकी उपमेयर आशा लामा बताउँछिन् ।‘सडक बिस्तारले गौशालाको विकासको गति बढेर गयो,’उनले भनिन् ।