विमलेन्द्र निधिको आग्रह: शेरबहादुरजी सरकार राम्रोसँग चलाउनू, महाधिवेशनमा मलाई सघाउनूस्
काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई राम्रोसँग सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले आगामी महाधिवेशनमा आफूलाई सभापतिका लागि सघाउन पनि पटक पटकको भेटमा आग्रह गर्दैआएको बताएका छन् । उनले अन्नपूर्ण सँगको भेटमा भने, ‘सभापतिको उम्मेदवारी दिने कुरा मैले पार्टी सभापति सेरबहादुर देउवाजीलाई अनुरोध गरेको छु । सफल सरकार बनाउन सञ्चालनमा ध्यान दिनुहोला ।’
नेता निधिले भने, ‘प्रतिष्प्रधात्मक बाट भयो भने मेरो पक्ष बलियो छ । यदी सहमतिबाट जाने सल्लाह भयो भने त्यो पनि ठीकै छ ।’ उनले महाधिवेशनका बारेमा अनौपचारिक चर्चा भए अनुसार मंसिरमा हुने सम्भावना बढेको बताए ।
‘त्यो भन्दा ढिलो जानु हुँदैन । भदौमा गर्न नसक्नु नै हाम्रा लागि असहज अवस्था निम्तिनु हो ।’ निर्वाचन आयोग र कानुनविद्हरुसँग सल्लाह गरेर कहिलेसम्म गर्न सकिन्छ भन्ने तर्फ पनि कुरा भइराखेको नेता निधिले बताए ।
उनले क्रियाशीलता सदस्यको विवाद कुनै ठूलो कुरा नभएको पनि बताए । ‘त्यो सल्टिन्छ क्रियाशीलताको विवादले महाधिवेशन रोकिँदैन’ उनले भने । निर्वाचन समितिको सल्लाहमा महाधिवेशन कहिले कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल भइरहेको बताउँदै नेता निधिले भने, ‘१४ दिनमा महाधिवेशन भए पनि १४ महिनामा महाधिवेशन भए पनि म सभापतिको दाबेदार हो ।’
महाधिवेशनमा आफूले उठाउने मुद्दाबारे प्रष्ट्याउँदै नेता निधिले, कम्युनिष्टले जितेसँगै लोकतन्त्र, गणतन्त्र र संघीयता प्रतिको विश्वास उडेको बताए । उनले भने, ‘माथिका ३ कुरामा जनताको विश्वास दिलाउनका लागि नेपाली काँग्रेसले जित्नुपर्छ । अब हुने चुनावमा कांग्रेसलाई जिताउनका लागि मेरो नेतृत्व आउनुपर्छ ।’
नेपाली कांग्रसको १४औं महाधिवेशन नजिकिँदै गर्दा अहिलेसम्म ७ जना नेताहरु सभापतिमा दावेदार देखिएका छन् ।