प्रेमको सजाय मृत्यु

प्रेमको सजाय मृत्यु

राजविराज : सँगै मर्ने बाँच्ने कसम खाएर भागी विवाह गरेको पाँच महिनामै सप्तरीकी एक किशोरीले आत्महत्याको बाटो रोजेकी छन्। ‘तिमीबिना मर्छु’ भनेर जसले पटक–पटक कसम खाई अन्तरजातीय विवाह गरेर भगायो उसैले नै अलपत्र छाडे। त्यसपछि तनावमा परेकी सुरुंगा–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान सलको पासो लगाएर घरकै बलोमा झुन्डिएको अवस्थामा  शनिबार बिहान भेटिएकी हुन्। यो घटनाले २१औं सताब्दीमा पनि पाषण युगजस्तो अन्तरजातीय प्रेमको सजाय मृत्यु रोज्नुपर्ने अवस्थालाई इंगित गरेको छ।

दलित किशोरीलाई भगाउने गाउँकै २५ वर्षीय कन्हैया भनिने कृष्ण मिश्रको घरपरिवारले स्वीकार गरेन्। उल्टै अंश नपाउने कागज गर्दै घरनिकाला गर्‍यो। तब चार महिना सँगै बसेका कृष्ण सम्पर्कविहीन भए। पीडितको पक्षमा बोलीदिने कोही भएन। यो घटनाले छुवाछूत अन्त्यको 

घोषणा कागजमा सीमित रहेको देखाएको छ। हाम्रो समाजको चेतना बलोमा झुन्डिएको सन्देश दिएको छ। कृष्णका बुवा अकलेश मिश्र र ज्योतिका बुवा प्रमोद पासवान बालकैदेखिका साथी हुन्। स्कुलमा सँगै पढेका मात्र होइन, भारतको मुम्बईमा पनि १० वर्ष सँगै मजदुरी गरेका थिए। उनीहरूको उठबस, खानपिन सँगै हुन्थ्यो। तर, ज्योति र कृष्णको प्रेम सम्बन्ध थाहा भएपछि साथीको सम्बन्ध टुट्यो। 

ज्योतिलाई बिहेका लागि हेर्न फागुन ८ गते विराटनगरबाट केटा पक्ष आएको थियो। बिहेको कुरा थाहा पाएर कृष्णले सोही राति होहल्ला मच्चाएको ज्योतिका बुवा प्रमोदले बताए। प्रमोदले कृष्णलाई समातेर परिवारको जिम्मा लगाए। ज्योतिसँग विवाह गरिसकेकाले मेरी श्रीमतीसँग अरूले विवाह गर्न पाउँदैन भनेर जिद्दी लिएपछि गाउँमा पञ्चायती बस्यो। प्रेमका लागि सबै त्याग्न तयार रहेको बताएपछि वडा कार्यालयमा वडाध्यक्ष शिवनारायण चौधरीको रोहवरमा कृष्णसँग उनका बुवाले सम्पत्तिमा कुनै अधिकार नरहेको कागज गराए।

समाजमा रहेको जातीय भेदभावका कारण घर सम्पत्तिबाट बेदखल भएका कृष्णले ज्योतिलाई फागुन ९ गते राति लिएर गए। ज्योतिकी आमा इनरदेवीका अनुसार बिहे गरेर खुसीसाथ राख्ने प्रतिबद्धता गर्दै गएका कृष्ण काका मिथलेश मिश्रको घर हुँदै गएका थिए। 

उनीहरूले विवाह गरेर काकाकी छोरी सिरहाको जिरो माइल बस्ने रुबि मिश्रको सहयोगमा नजिकै रहेको मिर्चैया बजारमा डेरा लिएर बसेको कुरा प्रमोदले छोरी अलपत्र परेपछि मात्र थाहा पाएको बताए।

कृष्ण र ज्योति भागेर जेठसम्म सम्पर्कविहीन बसे। कृष्णले आफ्नो फेसबुकमा ज्योतिले सिन्दुर लगाएको सँगैको तस्बिर बेला–बेला पोस्ट गर्थे। सउदीमा रहेका ज्योतिका दाजु रामबाबुसँग भने ज्योति सम्पर्कमा रहेको खुलेको छ। भागेको झन्डै चार महिनापछि असार २ गते सिरहाको लहानस्थित एक होटलबाट ज्योतिले दिदी आरतीलाई अचानक फोन गरिन्।

खुसी हुँदै बहिनीको फोन उठाएकी आरतीको अनुहार तुरुन्तै मलिन भयो। ज्योतिले फोनमा भनिन्, ‘मलाई कृष्णले अलपत्र बनायो, होटलमा छाडेर दुई दिनदेखि बेपत्ता छ।’ मोबाइलसमेत कृष्णले लगे। कृष्णले ज्योतिलाई ‘लजमा महँगो भाडा भएकाले कोठा खोजेर आउँछु बस्दै गए’ भनेर गएको तर दुई दिन बित्दा पनि नआएको ज्योतिले सुनाइन्। 

चैत ३० गते होटलमा ल्याएपछि ज्योतिले दिदीको फोन नम्बर गाजलले कागजमा लेखेर राखेकी थिइन्। पैसा अभावले खान नपाएपछि र होटल मालिकले पैसा तिरेर जान दबाब दिएपछि ज्योतिले माइती सम्झेकी थिइन्। बिचल्लीमा परेको सुनेर केही गाउँलेसहित लहान पुगेका ज्योतिका माइती अधिकारकर्मी र लहान प्रहरीको सहयोगमा उद्धार गरेर घर ल्याए। 

अधिकारकर्मीको पहलमा प्रहरीले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीको उजुरी दर्ता गर्न तयार भयो। सल्लाह गरेर आउँछांै भनेर घर फर्किएका पासवानको परिवार पुनः फर्केर नआएको लहान प्रहरीले जनाएको छ। साढे एक महिनादेखि आमाबुवासँग माइतमा बस्दै आएकी ज्योति कृष्णले छाडेर सम्पर्कविहीन हुँदा तनावमा थिइन्।

घरभन्दा केही पर गाउँमै प्रमोदले सानो चियाको पसल थापेका छन्। शनिबार बिहान उनका बुवा प्रमोद, आमा इनरदेवी र दिदी आरती पसल गएका थिए। घरमा ज्योति र उनकी भाउजू रन्जु र रन्जुका काखे बालक मात्र थिए। प्रमोद घरको पिलर निर्माणका लागि प्लेनसिट जस्तापाता लिन कदमाहा पुगेका थिए। साइकलमा जस्तापाता लोड गर्नासाथ आरतीले फोन गरेर घर बोलाइन्।

घटना नबताएर जेठी छोरी आरतीले बुबालाई फोन गरी घर चाँडो आउनुस् मात्र भनिन्। रन्जुको होहल्लाले छिमेकी घरमा जम्मा भएका थिए। आरती र इनरदेवीले पनि रन्जुबाट घटनाको जानकारी पाएकी थिइन्। घर पुग्दा बुवा–आमाको होस् उड्यो। आफ्नै सलले पासो लागेको अवस्थामा ज्योतिको शव झुण्डिएको थियो।  

कृष्णले धोका दिएको भनेर मान्न तयारै थिइनन् ज्योति। तर, फोनसमेत नगरेपछि र जति नै फोन गरे पनि नलागेपछि ज्योति बिस्तारै डिप्रेसनमा पर्दै गएकी थिइन्। राति दिदीबहिनी सँगै सुत्थे। आरतीले भनिन्, ‘शनिबार बिहान हामी घरमा नभएका बेला मौका छोपिन्।’

जातीय विभेदका कारण कृष्ण र ज्योतिलाई अलग गराउन कृष्णको परिवारको संलग्नता रहेको दलित अभियानकर्मी दीपेन्द्र पासवानको भनाइ छ। कृष्णलाई उनका बुबा, आमालगायतले योजना बनाई भाग्न लगाएको उनले बताए। कृष्णका घरपरिवारले भने उनी गएपछि कुनै सम्पर्कमा नरहेको बताउँदै आएका छन्। 

घटनापछि ज्योतिका बुवा प्रमोदले मंगलबार इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा जातीय विभेदकै कारण मानसिक तनावमा परेकी ज्योतिले आत्महत्या गर्नुपरेको भन्दै आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन्। ज्योतिलाई प्रेमजालमा पारेर चार महिना यौन शोषण गरी धोका दिएकै कारण तनावमा ज्योतिले आत्महत्या गरेको उनको निष्कर्ष छ।

यो घटना एउटा आत्महत्या दुरुत्साहन मात्र होइन, जातीय आधारमा दलितमाथि सदियौंदेखि भइरहेको ज्यादति उस्तै छ भन्ने प्रतिनिधि घटना हो। छुवाछूत र जातीय विभेद उन्मूलन गर्न देशले थरीथरीका कानुन बनाएको छ। पटक–पटक घोषणा गरेको छ। पछिल्लोपटक ०६८ जेठ १० मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको छ। तर, जातीय विभेदविरुद्ध कानुन पास भएको यतिका वर्षपछि पनि देशभर दलितहरूमाथिको विभेद कायमै रहेको अधिकारकर्मी दुर्गा परियारले बताए। 

जातका आधारमा गरिने विभेद दण्डनीय बने पनि थुप्रैले दलित भएकै कारण ज्यान गुमाउनुपरेको छ। कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण त कोहीले पानी र चुलो छोएको निहुँमा। अन्तरजातीय विवाह गर्ने अधिकांश जोडी गाउँनिकालामा परेका छन्। चुलो छुन र प्रेम गर्न निषेध गरिएको दलित समुदायका किशोरीहरूमाथि बलात्कार र अलपत्र पार्ने काम भने भइरहेको छ। अधिकारकर्मी राजु पासवानले समाजमा दलितमाथि हुने विभेदका अनेक रूप भएको बताए। कागजमा वर्षौँअघि अन्त्य भएको छुवाछूत प्रथा समाजमा जरो गाडेर बसेकाले अन्तरजातीय विवाह गर्नेहरू पनि विभेद खेप्न बाध्य भएको उनले बताए।

‘कानुनले आफूले चाहेको व्यक्तिसँग विवाह गर्ने अधिकार दिएको छ। तर, समाजले कानुन मान्दैन, विजातीय विवाहकै कारण धेरैको जीवन दलदलमा फसेको छ’, विश्वेन्द्र पासवानले भने, ‘जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु, बिहे गरेर जातीय भेदभावकै कारण अलपत्र छाडनु कानुनी र मानवीय किसिमले जघन्य अपराध हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.