किन हुन्छ खण्डवृष्टि ?

किन हुन्छ खण्डवृष्टि ?

 काठमाडौं : पछिल्लो समय वर्षात्को शैली फेरिएको छ। काठमाडौं उपत्यकामा कतै मुसलधारे वर्षा भइरहँदा कतै थोपै पर्दैन। तर, यस विषयमा अध्ययन भइनसकेकाले जलवायु परिवर्तनकै असर हो भन्न सक्ने अवस्था नरहेको विज्ञ बताउँछन्। 

मौसम विज्ञान विभागमा कार्यरत जलवायुविद् इन्दिरा कँडेल उपत्यकाहरूमा यो शैली पहिलादेखि रहिआएकाले अध्ययन नभइन्जेल जलवायु परिवर्तनसँग जोडेर हेर्न नहुने बताउँछिन्। ‘उपत्यकाहरूमा यस्ता समस्या पहिलादेखि नै थियो’, जलवायुविद् कँडेल भन्छिन्, ‘तर, एकैपटक ह्वार्र वर्षा हुने, फेरि घाम लाग्ने शैली बदलिएको छ।’ लामो समय खडेरी हुने समस्या भने देखिएको उनको भनाइ छ। 
उनका अनुसार कहीँ पानी पर्नु, कहीँ नपर्नुमा यस्तो छ कारण। जमिनबाट तातो हावा वायुमण्डलमा पुग्छ। एउटा उचाइमा पुगेपछि चिसो भएर पानीको कण बन्छ। पानीको कण धेरै भएपछि वायुमण्डलको चापले थेग्न सक्दैन। र, वर्षा हुन्छ। माथिल्लो सतहमा हावा चलिरहेकै हुन्छ। जता हावा चल्छ, उतै धकेलिरहेको हुन्छ। त्यसकारण कतै पानी पर्ने, कतै नपर्ने देखिएको उनको भनाइ छ। ‘पहिले–पहिले तीन–चार दिनसम्म लगातार सिमसिमे पानी पथ्र्यो’, उनी भन्छिन्, ‘हिजोआज त्यस्तो छैन। एकैपटक ह्वार्र ठूलो पानी पर्न थालेको छ।’ 

उनका अनुसार कतिपय ठाउँमा हाँडी घोप्टे वर्षा (क्लाउड ब्रस्ट) भएको पाइएको छ। यस्तो वर्षा सानो क्षेत्रमा हुन्छ। एक घण्टामा ६० मिमिभन्दा बढी हुने भएकाले यसले विनाश निम्त्याउँछ। डुबान हुने, नदीको बहाब बढ्ने, खहरेमा बाढी ल्याउने, चर्किएका ठाउँबाट पानी छिरेर पहिरो जानेलगायत समस्या यस्तै अत्यधिक वर्षाले गराउँदै आएको छ।  जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा धेरै वर्षा हुन थालेको उनको भनाइ छ। 

केही समयअघि मनाङमा आएको बाढी अध्ययन गर्नुपर्ने विषय बनेको उनी बताउँछिन्। उक्त ठाउँमा विगतमा २२ देखि २५ मिमि पानी पर्ने गरे पनि यसपटक विपद् ल्याएको थियो। हिमाली क्षेत्रको माटोमा ‘मोइस्चर’ धेरै हुने भएकाले थोरै पानी पर्दा पनि धेरै प्रभाव पार्न सक्ने उनको भनाइ छ। त्यसैगरी माटो खुकुलो हुन्छ। 

वर्षात्को शैली परिवर्तन भएको विषयमा अध्ययन गर्न अझै धेरै ठाउँमा मापन स्टेसन थप्न जरुरी रहेको बुझाइ उनको छ। त्यसो गरे अबका दिनमा हुन सक्ने विपदका जोखिमलाई घटाउन सकिन्छ। 

यो वर्ष नेपालगन्जबाहेक अन्य ठाउँमा सरदरभन्दा धेरै वर्षात् भएको छ। कर्णाली, सुदूरपश्चिम हुँदै गण्डकी प्रदेशतिर गत जुनमा अत्यधिक वर्षा भएको थियो। सिन्धुपाल्चोक र संखुवासभामा पनि उत्तिकै पानी परेको पाइएको छ। पूर्वमा जुलाईमा धेरै वर्षा भएको देखिएको छ। 
‘खासमा जलवायु परिवर्तनले गराउने काम पनि यस्तै हो। (भेराबिलिटी) उतारचढाव गराउँछ’, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)का क्षेत्रीय कार्यक्रम व्यवस्थापक डा.अरुणभक्त श्रेष्ठ भन्छन्, ‘कहिले धेरै पानी पर्ने, कहिले नपर्ने, कहीँ एकदमै पर्ने, कतै थोपै नपर्ने समस्या छ।’

जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिलगायत समस्या निम्त्याएको महसुस गरिएको श्रेष्ठको भनाइ छ। ‘हाई अल्टिच्युडमा धेरै पानी परेको छ। तर, यसलाई जलवायु परिवर्तनको असर नै हो अथवा फरक घटना हो तोकेर भन्न मिलेन’, उनी भन्छन्। 

जे जस्ता घटना छन् जलवायुको कारणले हो भन्ने बलियो आधार हुँदाहुँदै पनि वैज्ञानिक रूपमा प्रमाणित नभइन्जेल बोल्न नमिल्ने उनको भनाइ छ। जलवायु परिवर्तनका विषयमा अनुसन्धान गर्दा यस्तै प्रक्षेपण निस्किएको र अहिलेको प्रवृत्ति हेर्दा सबैतिर प्रकोप बढेको छ। स्वाभाविक रूपमा यसलाई जलवायु परिवर्तनको असर मानिएको उनी बताउँछन्। 

जलवायु महाशाखा प्रमुख राधा वाग्ले वर्षात्को प्रवृत्ति घटना अन्य समयभन्दा धेरै भएको बताउँछिन्। हाँडीघोप्टे तथा आरीघोप्टे वर्षा हुन थालेको वाग्लेको भनाइ छ। जलवायु परिवर्तनले सोच्दै नसोचेको परिणाम भोग्नुपरेको वाग्ले बताउँछिन्। हिमाली जिल्लामा समेत बाढी आउनुले भविष्यमा नराम्रो विपद आउन सक्ने संकेत गरेको बुझाइ उनको छ। पहिला कम्मरसम्म हिउँ पर्ने हिमाली जिल्लामा हिउँ नभएको अध्ययनले देखाएको उनी बताउँछिन्। 

उनका अनुसार डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लामा हिउँले माटोमा एक खालको मोइस्चर दिने गथ्र्यो। जसका कारण त्यहाँ राम्ररी अन्नबाली फल्थ्यो । तर, हिउँ कम भएसँगै त्यहाँ बाली फल्न छाडेको देखिएको छ। ‘तल्लो भेगमा फल्ने बालीहरू हिमालतिर पनि लगाउन थालिएको छ,’ उनी भन्छिन्, ‘किसानहरू उत्साहित भए पनि यसलाई जलवायु परिवर्तनको असर मानिएको छ।’  

वर्षात्को शैली फेरिएको देखिए पनि त्यस्तै संरचना नबनेको गुनासो उनको छ। केही समय वर्षा हुने बित्तिकै नदी आसपासका क्षेत्र काठमाडौंमा डुबान पर्ने समस्या बढेको छ। तर, संरचनाहरू वातावरणमैत्री बनेका छैनन्। पहाडतिर डोजरले ड्रेनेजहरू बिगारी दिएकाले पहिरोको समस्या बढेको बताइन्। 

उनका अनुसार जोखिम न्यूनीकरण गर्न मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम भइरहेको छ। जसअन्तर्गत राष्ट्रिय अनुकूलन कार्ययोजना बनाइएको छ। यसले भइरहेका र हुन सक्ने समस्याका बारेमा विश्लेषण गर्छ। समस्यालाई कसरी सम्बोधन गर्ने र कसरी अनुकुलित हुन सकिन्न भन्ने सिकाउने उनको भनाइ छ। स्थानीय अनुकूलन योजनाअन्तर्गत प्रदेश तथा स्थानीय सरकारलाई जलवायुको विषयमा काम गर्न बजेट छुट्ट्याउन, कार्ययोजना बनाउन पहल गरिएको उनी बताउँछिन्।

इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज ९आईपीसीसी०ले गत सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनको असरले सोच्नै नसक्ने मौसमी प्राकृतिक विपदका घटना देखिएको उल्लेख छ। अत्यधिक गर्मी, तातो हावा, खडेरी, एकैठाउँमा हुने ठूलो वर्षा, लू, बाढी, डढेलो, समुद्री आँधीलगायतका समस्याले विकराल रूप लिने सक्ने जनाइएको छ। यस्ता कार्य रोक्न कार्वनडाइ अक्साइडको उत्सर्जन नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ। जलवायु परिवर्तनको मुख्य कारण मानवीय गतिविधि रहेको र यो क्रम नरोकिए यसै सताब्दीमा १।५ डिग्रि सेल्सियसले पृथ्र्वीको तापमान बढ्ने जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.