देउवा निवासमा केन्द्रीय कार्यसमिति बैठक जारी: गेटमै कार्यकर्ताको प्रदर्शन र नारावाजी
काठमाडौँ: तोकिएको समयमा महाधिवेशन र क्रियाशील सदस्यता विवाद सल्टाउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाको निवास बाहिर कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
बूढानीलकण्ठस्थित देउवाको निजी निवास बाहिर रामचन्द्र पौडेल पक्षका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखि प्रर्दशन गरिरहेका छन् । उता सानेपामा पनि कार्यकर्ताहरुको धर्ना जारी छ । सानेपामा धर्नाका कारण सभापति देउवाले निजी निवासमा बैठक बोलाएका थिए । तर बूढानीलकण्ठमा पनि पौडेल पक्षका कार्यकर्ताहरु बैठक बस्नुअघि नै प्रदर्शन गर्न पुगेका थिए ।
धर्नाकै बीच देउवाको निजी निवासमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।
केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर करिब डेढ महिनायता रौतहट र बाराका कार्यकर्ताहरु अहिले पनी पार्टी कार्यालयमै धर्नामा छन् । "चार तहबाट नियम संगत आए अनुसार प्रतिनिधि छनोट हुनु पर्यो । समयमै अधिवेशन हुनुपर्छ" धर्नामा सहभागी बारा क्षेत्र नं १ का कार्यकर्ता पेमा सिद्धि लामाले बताए ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले ‘क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, महाधिवेशन सार्न पाइँदैन,' लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।