मूर्तिको लागतसँगै आकृति विवादमा, कलाकार सोध्छन् : सुँगुर कि बराह ?

मूर्तिको लागतसँगै आकृति विवादमा, कलाकार सोध्छन् : सुँगुर कि बराह ?

इटहरी : उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन एउटा मूर्तिले यो साता चर्चा पायो। ६० लाख रुपैयाँको लागतमा बनिरहेको उक्त सुँगुर आकृतिको मूर्ति सुरुमा त मूल्यको कारण चर्चामा आयो। ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो। 

त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन्। वडा नम्बर–७ स्थित मुलगाउँमा निर्माणाधीन उक्त मूर्तिलाई बेलका नगरपालिकाले भगवान विष्णुको बराह अवतारको रुपमा बनाएको हो। भगवान विष्णुले पृथ्वीलाई जोगाउन बराहको अवतार लिएको किंवदन्ती छ। धार्मिक तस्बिरहरुमा बराहको आकृति सुँगुर तथा बँदेलसँग मिल्दो जुल्दो छ।

त्यहीअनुसार बराह अवतारको मूर्तिसँगै किराँत आस्थाको पार्क बनाउने गरी निर्माण भइरहेको छ। बराह पुराणमा उल्लेखित किंबदन्तीअनुसार बराहले पृथ्वी जोगाउन तल कोशी नदीतिर हाम फाल्न लागेको मूर्ति बनाइएको मेयर दुर्गाकुमार थापाले जानकारी दिए। उक्त मूर्तिको वारिपट्टी सुनसरीमा बराहक्षेत्र मन्दिर छ र बराहक्षेत्र मन्दिरबाटै उक्त मूर्ति देखिन्छ।

तर केही कलाकारहरुले भने उक्त मूर्ति भगवान बराहभन्दा पनि सुँगुरको जस्तो भएको टिप्पणी गरेका छन्। कलाकार विक्रम श्रिले सामाजिक सञ्जालमा ‘मूर्ति बनेल नभएर हाम्रो धरानमा सुहाउँदो राम्रो पुडी काले सुँगुर बनेछ’,उनले भने, 'दाह्रा माथि पृथ्वी राख्ने पनि भन्नुभयो, डुबेको पृथ्वी उचाल्न हामफाल्नु लागेकोले पहिले नै कसरी पृथ्वी बोक्ला ?’उनले उक्त मूर्ति १५ लाखमा बन्ने बताएका छन्।

यस्तै अर्का कलाकार रोजन राईले पनि लागत धेरै भएको समेत बताए। साथै बराह भनेर सुँगुर बनाएको भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘हिन्दुहरुले बराहको मुर्ति भन्दै पूजा गर्ने, किराँतीहरुले चाहिँ काटेर खाने, गजब भो। सिमेन्टको बराह सुँगुर व्यापारीले राम्रै मुर्गा पाएछ।’

यता मूर्ति बनाइरहेका कलाकार धनु याख्खा भने लागत कलाकारहरुअनुसार फरक पर्ने बताउँछन्। ‘कलाकारहरुको पारिश्रमिक यति नै हुन्छ भनेर निश्चित हुँदैन’, उनले भने, ‘कुनै मूर्तिहरु सित्तैमा पनि बनाइयो होला, कुनैमा राम्रो पैसा लिइयो होला, त्यो कला र परिश्रमको पारिश्रमिक हो।’ 

उनले भ्याटसमेत ५८ लाखको लागतमा मूर्ति बनिरहेको बताए। उक्त रकमभित्रै मूर्तिसँगै त्यसको फाउण्डेशन, राजमार्गसम्म निकस्ने बाटो, पुजारी बस्ने घर, बिजुली वायरिङका कामहरुसमेत हुनेछन्। निर्माण सामाग्रीको ढुवानीमा समेत धेरै खर्च भएको उनले बताए।

यस्तै उनले बराह भगवानको मूर्ति भएको र कलाकारितामा मौलिकता हुने बताए। उनले बँदेल तथा सुँगुरहरु धेरै प्रकारका हुने हुँदा यस्तै हुन्छ भनेर कसैले ठोकुवा गर्न नसक्ने बताए। अझै धेरै काम गर्न, रंगरोगन गर्न बाँकी रहेको बताउँदै उनले भने, ‘बराह भगवानको आकृति सुँगुर वा बँदेलको जस्तो हो भन्ने कुरा मात्र सबैलाई थाहा छ, तर मोटो, पातलो त्यो कलाकारको कल्पनाशीलतामा भर पर्छ।’

उनले स्थानीय बँदेल तथा सुँगुरहरुको शारीरिक संरचनालाई हेरेर नै यस्तो बनाइएको बताए। मेयर थापाले पनि मूर्तिका साथै वरपरका विभिन्न निर्माणका कामहरुसमेत सोही रकमभित्र हुने हुँदा लागत ठूलो नभएको बताए। उनले मूर्तिको डिजाइन ललितकला प्रतिष्ठानको मूर्ति विभागले गरेकोसमेत जानकारी दिए। उनले सो वरिपरि धेरै धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलहरु रहेकोले समग्र पर्यटन करिडोरका रुपमा सो क्षेत्र विकास हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.