चियामा घातक विषादी
इलाम : संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’
जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्ने गरिन्छ) फेरि सात दिनमै टिप्न मिल्छ। ‘एल्लो लेबलको भए पनि यसको पर्खने समय कम्तीमा २१ दिन हुन्छ। किसानले यती समय पर्खेर चिया टिप्ने कुरो हुँदैन’, राष्ट्रिय चिया तथा कफी विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारी भन्छन्, ‘यो विषयमा सरकारको सक्रियता कमजोर नै छ।’ अधिकारीका अनुसार पातमा लागेपछि जरासम्मै विषाक्त हुने भएकाले यसको प्रयोग राम्रो मानिँदैन।
निगमको भण्डारण गृहमा किटनासकबाहेक झार मार्ने राउन्डअपसमेत भेटिएको थियो। जसले क्यान्सर हुन विषकै काम गर्ने जनाइएको छ।
यस्ता विषादी इलामका अधिकांश किसानले जथाभावी प्रयोग गर्ने गरेको अधिकारी बताउँछन्। अधिकारीका अनुसार कीरा मार्न प्रयोग गर्ने ‘बुलेट’मा क्लोरोपाइरिफस र साइपरमेथिनको मिश्रण पाइन्छ।
यिनै कारण नेपालको ९० प्रतिशत चिया तेस्रो मुलुकमा जान नसकेको विज्ञ रामचन्द्र नेपाल बताउँछन्। भन्छन्, ‘चिया अग्र्यानिक नबनाएसम्म तेस्रो मुलुकमा बिक्री गर्ने कल्पना पनि गर्न सकिँदैन।’ उनका अनुसार अग्र्यानिक उत्पादन जर्मनी, अमेरिकालगायत मुलुकमा जाने गरेको छ। त्यसको मूल्यसमेत उच्च हुने उनको दाबी छ।
मुना पलाउने आसमा पनि रासायनिक विषादी प्रयोग हुने गरेको सूर्योदय–९ स्थित सुन्दरपानी चिया उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक सोनाम योल्मो बताउँछन्। आन्तरिक नियन्त्रण प्रणाली (आईसीएस) अफिसरसमेत रहेका योल्मो भन्छन्, ‘बगानमा पुग्दा अहिले पनि विषको कडा गन्ध आउँछ। त्यसको अर्थ किसानले विषादीको प्रयोग घटाएका छैनन्।’
यस्ता विषादीकोे असरले मानवमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका मेडिकल अफिसर डा. सरोज दर्नाल बताउँछन्। ‘छाला, आँखा, नाक पोल्ने, वाकवाकी लाग्नेलगायत समस्या देखिन्छ’, डा. दर्नाल भन्छन्, ‘विषादी श्वास¬–प्रश्वास वा छालाबाट रगतमा पुगेपछि क्यान्सर, किड्नी, श्वासप्रश्वासलगायत समस्या देखिन्छ।’
सरकारले पुस ८ देखि १४ सम्म विषादी प्रयोगमुक्त दिवस मनाउने गर्छ। स्थानीय तहले पनि जागरण अभियान चलाउने गरेका छन्। तर, बजारमा खतरनाक विषादीको कारोबार नरोकिएको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलाल बताउँछन्।
कुना कन्दरादेखि ठूला बजारमा खुलेका एग्रोभेट पसलले विभिन्न ब्रान्डका विषादी निर्वाध बेचिरहेका छन्। इलाममा दर्ता रहेका ६० भन्दा बढी एग्रोभेटले विषादी बेच्छन्। यिनीहरूले नै किसानलाई प्राथमिक परामर्श दिने गरेका छन् ।
विषादी प्रयोगको विवरण कृषि ज्ञान केन्द्र इलाममा छैन। स्थानीय तहले विवरण राखेका छैनन्। तर, गाउँ–गाउँमा अग्र्यानिक भन्दै कडा गन्ध आउने विषादी प्रयोग हुने गरेको सूर्योदय–१० स्थित जनएकता कृषि सहकारीकी अध्यक्ष हेममाया प्रधान बताउँछिन्। भन्छिन्, ‘भरसक लुकाएर प्रयोग गर्ने चलन बढेको छ। के प्रयोग हुन्छ भन्ने सकिँदैन।’
भारतको पानीटंकी र सिलगुडिको बाटो भएर इलामको सीमासम्म भारतीयले नै विषादी ल्याउँछन्। नेपाली व्यापारी घोडा र साना गाडी लिएर सीमा क्षेत्रसम्म पुग्छन्। जानकारका अनुसार तस्करले गाडीमै ओसारपसार गर्छन्। एग्रोभेट सञ्चालक पशुपति भट्टराई भन्सार नभएको विषादी बजारमा आउनै नसक्ने बताउँछन्। भन्छन्, ‘ऐनले निशेधित भनेको काम दर्ता भएको एग्रोभेटले गर्ने सक्दैनन्।’
सूर्योदय नगरपालिकाको कृषि शाखा प्रमुख नारायण लम्सालका अनुसार खुला सिमानाको उपयोग गरी झापामा विषादीको अवैध आयात निकै छ। भन्छन्, ‘यहाँ (इलाममा) पनि खुल्ला सिमाना त छ तर अध्ययन नगरी समस्या यही हो भन्ने अवस्था छैन। उनले झापामा विषादी आयात र धानमा यसको प्रयोगका विषयमा अध्ययन गरेका थिए। उनका अनुसार इलाममा ढुसिनासक मेन्कोजेव, किटनासक साइपर मेथ्रिन, क्लोरोपाइरीफस, रोपाइरीफसको समिश्रणलगायतको प्रयोग हुन्छ। कुनै सात दिन पर्खदा पुग्ने हुन्छ भने कतिपय लामो समय पर्खनुपर्छ।
‘कतिपय किसानले जैविक विषादीको प्रयोग गरिरहेका पनि छन् तर त्यो न्यून छ’, उनी भन्छन्। स्थानीय तहले वातावरणमैत्री फेरामेन ट्याब, पहेलो पासोलगायत किसानलाई निःशुल्क वितरण गर्ने गरेको उनी बताउँछन्।
गीता श्रेष्ठ र रेशमबहादुर थापाले गरेको सर्वेक्षणअनुसार नेपालमा कपासपछि चियामा बढी विषादी प्रयोग हुन्छ। चियामा २० प्रकारका प्रयोग भइरहेको प्रतिवेदनमा उल्लेख छ। जसमा इमामेक्टिन व्यान्जोट, फ्लुवेन्डिया माइट, इमिडाक्लोरोपीट, डाइसोफललगायत आठवटा सामान्य नामका विषादी २० वटा व्यापारिक नाममा पाउने गरेको सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। किसानले यिनीहरूको ‘कक्टेल’ बनाएर पनि बगानमा छर्किने गरेका छन्। उनीहरूले ढुसी र कीरा नियन्त्रण गर्न वर्षमा १० पटकसम्म प्रयोग गर्ने गरेका छन्।
कन्याममै विषादी प्रयोगबारे दुई वर्षअघि अनुसन्धान गरेका विवेक भण्डारी भन्छन् ‘किसानहरू केका लागि विषादी प्रयोग गर्दै छु भन्ने पनि बुझ्दैनन्।’ अधिकांशले छिमेकीको सल्लाहअनुसार चल्ने गरेको उनको अध्ययनको निष्कर्ष छ।
नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रण गर्न विषादी भित्र्याइएको थियो। त्यसको प्रयोग कृषि उत्पादनमा हुन थालेपछि त्यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। नेपालमा करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा प्रयोग हुने गरेको केन्द्रको विवरणमा उल्लेख छ। सरकारी तथ्यांकअनुसार ६३२.४१ टन खास विष विषादी आयात हुने गरेको छ। जसमा कीटनासक २१६ टन, रोगनाशक २६७ टन, झारनासक १४२ टन र अन्य ५ टन छन्। यसमा करिब ८४ करोड रुपैयाँ खर्च हुने गरेको छ।
इलाममा ३६ बगान र ८ हजार ८ सय ७६ जना साना किसानले ७ हजार २ सय ३६ हेक्टरमा चिया खेती गरेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाममा वार्षिक ६५ लाख ३४ हजार ७ सय किलो हरियो चिया पत्ति उत्पादन हुने गरेको छ।