स्याउको तस्करी बढ्यो

स्याउको तस्करी बढ्यो

राजविराज : सप्तरीबाट चाइनिज स्याउको तस्करी बढेको छ। भारतीय सीमाक्षेत्रबाट ठेलामा लैजाँदै गरेको स्याउ र नजिकै भण्डार गरिएको स्याउका कार्टुनहरू सोमबार बरामद भएपछि सेटिङमा स्याउ तस्करी हुने गरेको रहस्य खुलेको हो।

अवैध रुपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ सप्तरी प्रहरीले बरामद गरेको जनाएको छ। स्याउको न्यूनतम मुल्य प्रहरीले ३ लाख ४५ हजार मुल्याङकन गरेको छ। भारतीय सीमानजिक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको २ वटा ठेला रोकी चेकजाँच गर्दा २५ कार्टुन स्याउ बरामद भएको हो। स्याउ ओसार्दै गरेका ठेला चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम पण्डितले भण्डारण गरिएको गोदाम समेत देखाए।

पक्राउ परेका पण्डितले सोधपुछका क्रममा सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताए पछि सो ठाउँमा खानतलासी गर्दा भारत लैजान तयारी अवस्थामा राखिएको थप ६० कार्टुन स्याउ फेला परेको हो। पण्डितसहित बरामद ८५ कार्टुन स्याउ आवश्यक कारवाहीका लागि राजबिराज बेल्ही भन्सार कार्यालय तिलाठी बुझाइएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

स्थानीयका अनुसार स्याउ तस्करीमा नेपाली र भारतीयको ठूलो गिरोह सक्रिय रहेको छ। चिनियाँ स्याउ नेपालको बाटो भएर भारत निर्यात गर्न पाइँदैन। प्रहरीका अनुसार तस्करहरू दिनभर नेपाली बजारमा स्याउ खरिद गरी सीमा क्षेत्रमा भण्डारण गर्छन्। उनीहरू भरियामार्फत रातिदेखि विहान उज्यालो नभएसम्म साइकल, मोटरसाइकल, ठेला, टेम्पो, सिटी रिम्सामा स्याउ राखेर सीमापारि पुर्‍याउँछन्। 
उनीहरू भारदह, हनुमाननगर, तिलाठी कोइलाडी, राजगढ, बोदे बर्साइन, बलान बिहुलस्थित घर, गोठ, गोदाममा स्याउ भण्डारण गरेर राख्ने गरेका छन्। ती सीमाक्षेत्रमा दैनिक १० किलो स्याउको पनि बिक्री खपत छैन। तर दैनिक त्यहाँ सैयौं कार्टुन स्याउ भण्डारण हुने गरेको स्थानीय बताउँछन्। राजविराजबाट ट्रयाक्टर र पीकअप भयान, जीपमा लोड गरी स्याउ सो क्षेत्रमा भण्डारण हुँदै आएको छ।
आरोपितहरूले स्याउ ओसार्दा साहुले प्रतिकार्टुन २५ रूपैयाँ दिने गरेको बताउँछन्। पक्राउ परेकाहरूले स्याउधनी आफूहरूले नचिनेको जिकिर गर्ने गरेका छन्। 

चाइनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ। स्याउ तस्करी गर्दा सीमामा तस्करी नियन्त्रणका लागि तैनाथ रहेका सशस्त्र प्रहरीले नदेखेको जस्तो गर्ने गरेकाले उनीहरूको मिलेमतो हुनसक्ने स्थानीयको दाबी छ। ‘बिहान ठेलाबाट स्याउ सीमा क्षेत्र पार गर्न लाग्दा प्रहरीले रोक्यो,’ डिएसपी काफ्लेले पक्राउ गर्ने टोलीमा रहेका प्रहरीको भनाई उद्धृत गर्दै भने, ‘ठेला रोक्न खोज्दा एक जना फरार भए, अर्का पक्राउ परे।’ भारततर्फ तस्करी गर्न लागेको स्याउ र ठेला कारबाहीका लागि भन्सार कार्यालय बेल्हीमा बुझाइएको काफ्लेले बताए। 

चाइनिज स्याउ, मरिच र मदिरा स्थानीयस्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर भारततर्फ तस्करी हुँदै आएको सीमाक्षेत्रका स्थानीयहरूको कथन छ। बिहारमा मदिरा प्रतिबन्धित भएपछि नेपालबाट मदिराको तस्करी समेत बढेको छ। विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरूले स्थानीय सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै तस्करी गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको उमेश शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.