कार्यक्रममा नयाँ सोच

कार्यक्रममा नयाँ सोच

औपचारिक कार्यक्रम सञ्चालन आचारसंहिताको आवश्यकता महसुस गरिएको छ। महिला अधिकारकर्मी वन्दना राणाले सञ्चालन गर्नुभएको ‘सार्वजनिक मञ्चका बोझिला औपचारिकता’ विषयक भर्चुअल कार्यक्रमका वक्ताहरूले सो आवश्यकता महसुस गरेका हुन्। आजभोलि औपचारिक कार्यक्रम भन्नेबित्तिकै आयोजक, वक्ता र स्रोतालाई एक किसिमको बोझजस्तो महसुस हुन थालेको छ। त्यसको मारमा पत्रकार अझ टेलिभिजन पत्रकार पर्न थालेका छन्। प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्ने र अन्तिममा बोल्ने भएकाले श्रव्य–दृष्य पत्रकार त सुरुदेखि अन्तिमसम्म बस्नुपर्ने हुन्छ। उनैले बोलेको कुरा मुख्य समाचार हुन्छ। एउटा फोटो पत्रकारले एकैदिन धेरै कार्यक्रमको रिर्पोटिङ भ्याउनुपर्ने हुनसक्छ। तर त्यो कुरा आयोजक एवं उद्घोषकले नबुझिदिँदा कि त त्यो कार्यक्रमको मुख्य समाचार छुट्छ कि ती पत्रकारको जागिर छुट्न सक्छ।

कार्यक्रमको उद्देश्यअनुरूप विषय छनोट हुँदाहुँदै पनि आयोजक वक्ता छनोट गर्नमा चुक्छ। उसको दिमागमा सार्वजनिक पद धारण गरेका आफूले चिनेजानेका सम्पूर्णको नाम सम्झना सम्झन्छ। एउटालाई बोलाउँदा अर्को रिसाउँला कि भन्ने डरले सबैलाई बोलाउँछ। ती सबैलाई मञ्चमा राख्न चाहन्छ। जसले गर्दा कहिलेकाहीँ स्रोताभन्दा वक्ता धेरै हुन जान्छन्। मञ्चमा बस्ने सबै बोल्न चाहन्छन्। कतिपयले त मञ्चमा बसाएर बोल्न नदिने भन्दै आयोजकलाई आफ्नो मानहानी गरेको आक्षेप लगाउन पनि पछि पर्दैनन्। तल स्रोताको लाइनमा बस्नेले पनि कानेखुसी गरेर कार्यक्रमस्थलबाट बाहिरिने परिपाटी छ। राजनीतिकर्मीलाई प्रमुख अतिथि बनाउँदा कतिपय अवस्थामा कार्यक्रमको शीर्षकमा बोल्न छोडेर पार्टीकै गाथा गाउन थाल्छन्। त्यसमा पनि आयोजक चनाखो भएर मञ्चमा जानुअघि विषयवस्तुमा केन्द्रित रहन आग्रह गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा आयोजकलाई तनाव हुनसक्छ। त्यसबाट मुक्त हुन आयोजकले कार्यक्रमको विषय छनोट गरिसकेपछि त्यस विषयको विज्ञलाई वक्ताको रूपमा मञ्चमा बोलाउने र उक्त विषय बुझ्न चाहनेलाई स्रोताको रूपमा सम्मानपूर्वक यथास्थानमा आसन ग्रहण गराउने गर्नुपर्छ। जसले गर्दा समय र स्रोतको बचत हुन गई सही समाचार समयमै सम्प्रेषण हुनसक्छ।

कार्यक्रमको उद्देश्य र समयको महत्त्व बुझ्न छोडेर उद्घोषकले अतिथि वक्तालाई सम्बोधनमार्फत रिझाउने चलनले सार्वजनिक औपचारिक कार्यक्रम बोझिलो बन्दै गएका छन्। कार्यक्रम कुन उद्देश्यले गर्न लागिएको हो ? त्यो कार्यक्रमको शीर्षकले नै बताउँछ। आयोजकले वक्ताको रूपमा विषयविज्ञलाई छनोट गरेर तालिम प्राप्त उद्घोषकलाई कार्यक्रम सञ्चालनको जिम्मा दिनुपर्छ। त्यो कार्यक्रमभर उद्घोषकको निर्देशन सबैले मान्नुपर्ने हुन्छ। त्यसैले उद्घोषक तालिम प्राप्त र समयको महत्त्वलाई बुझेको हुनुपर्छ। आजकाल धेरै कार्यक्रममा वक्ताले बोलेको कुरो उद्घोषकले पुनःव्याख्या गरेको देखिन्छ। जुन सबैभन्दा नराम्रो बानीमा पर्छ।

कार्यक्रमको उद्देश्य प्राप्तिभन्दा मञ्च व्यवस्थापन, अतिथि सत्कार, वक्ताको छनोट र अरू व्यवस्थापनमा अल्झेर कार्यक्रमलाई बोझिलो बनाउने परिपाटीको होडबाजी चलेको छ। प्रमुख अतिथि समयमा उपस्थित नहुने अनि सबैले कुरेर बस्नुपर्ने बाध्यता छ। अर्कोतिर मञ्चमा बस्ने ठूला र तल स्रोताको लाइनमा बस्ने साना भन्ने मानसिकताले जरा गाड्न थालेको छ। जसले गर्दा आयोजकले उद्घोषकलाई घरी घरी इसारा गर्दै बिचबिचमा आउनेलाई पनि मञ्चमा राख्न निर्देशन दिएको देख्छौं। वक्ता नै भए पनि समयमा नआउनेलाई मञ्च नदिने परिपाटीको सुरुआत गर्नुपर्छ अब। त्यसपछि अतिथि वक्ताहरू समयमा उपस्थित हुनसक्ने सम्भावना रहन्छ। औपचारिक कार्यक्रम सुरु भइसकेपछि उद्घोषकलाई बाधा पुर्‍याउनु हुँदैन। त्यस अवस्थामा पनि उद्देश्यअनुरूप समयमा कार्यक्रम सकेन भने त्यसको सम्पूर्ण जिम्मेवारी उद्घोषकले लिनुपर्छ।

आजभोलि प्रायः सबै संघसंस्थामा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ। कार्यक्रममा पनि महिला सहभागिता देखिन थालेको छ। तर संस्थामा ३३ प्रतिशत स्थान ओगटेको महिलाले नै संस्थाको औपचारिक सार्वजनिक कार्यक्रमहरूमा मञ्चमा बस्नेलाई खादा, माला, ब्याच लगाइदिने वा पुरुषले लगाइदिए पनि बोकिदिने र चिया खाजा वितरण गर्ने जिम्मेवारी बहन गरेको देखिन्छ। यस्ता कार्यक्रममा पनि समावेशी सिद्धान्त लागू गराउनुपर्नेमा सहभागी वक्ताहरूले जोड दिन्छन्। पूर्वमन्त्री मिन विश्वकर्माले कांग्रेस पार्टीले सार्वजनिक औपचारिक कार्यक्रम सञ्चालनका निम्ति आचारसंहिता बनाइसकेको जानकारी दिए।

‘बढीमा पाँचजना मात्र मञ्चमा राख्न पाइने गरी निर्माण गरिएको आचारसंहिता व्यवहारमा उतार्न सार्वजनिक कार्यक्रममार्फत भोटर रिझाउने पुरानो संस्कार बोकेका हामीेलाई नै गाह्रो हुँदोरहेछ’, उनले भनेका थिए। औपचारिक सार्वजनिक कार्यक्रम सञ्चालनका निम्ति आचारसंहिता लागू गर्नुपर्नेमा उपस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टीका पूर्वमन्त्री एवं सांसदहरूले जोड दिँदै उक्त भर्चुअल कार्यक्रमकी सञ्चालिका वन्दना राणालाई भने, ‘तपाईं यो आचारसंहिता लागू गराउन पहल गर्नुस्।’ परिस्थितिसँगै मनस्थिति बदल्दै जानुपर्छ। यो नै समयको माग हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.