नवलपरासीमा केराउ तस्करी बढ्यो : लाइन मिलाउन ३० लाख

नवलपरासीमा केराउ तस्करी बढ्यो : लाइन मिलाउन ३० लाख

परासी : पश्चिम नवलपरासीमा हरियो केराउ (मटर) तस्करी बढेको छ । जिल्लाको सीमावर्ती क्षेत्र झोलनिपुर, बसैया, धर्मौली, हरकपुरा नाकाबाट दैनिक ८ देखि १० ट्रक केराउ भारत तस्करी हुने गरेको बताइएको छ । 

कारोबारीहरुले बर्दघाट, बासाबसही, गोपिगञ्ज र परासी बजारमा केराउ ल्याएर राख्ने र त्यहाँबाट बिल काटेर सीमावर्ती क्षेत्रको गोदाममा लगेर राख्ने गरेका छन् । गोदामबाट उनीहरुले साइकल र विभिन्न व्यक्तिलाई झोला र बोरामा बोकाएर भारत पठाउने गरेका हुन् । विभिन्न समयमा प्रहरीले केराउ बरामद गर्ने गरेपनि बिल र अन्य कागजपत्र दुरुस्त रहेको भन्दै छाडिदिने गर्दा तस्करी झन बढेको हो । त्यसरी छाडिएका केराउ भारतीय एसएसबीले धमाधम बरामद गर्न थालेको छ ।

यसैबीच साउन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयले १ करोड २२ लाख बराबरको हरियो केराउ(मटर) बरामद गरेको थियो । ट्रक र पिकअप भेनमा बरामद भएको केराउ मध्ये २२ लाख बराबरको लिलामका लागि भन्सार पठाइएको थियो भने १ करोड बराबरको केराउ बिल भरपाई रहेको भन्दै कारोबारीलाई फिर्ता दिएको थियो । प्रहरीले केराउ बरामद गर्न थालेपछि कारोबारीहरुले अहिले प्रहरी प्रशासन मिलाउन ३० लाख रुपैयाँ संकलन गरेको बताइएको छ । 

उक्त रकम सिडिओ, एसपी र सीमावर्ती क्षेत्रमा रहेका शसस्त्र र नेपाल प्रहरी चौकीहरुमा मिलाउनका लागिरहेको कारोबारीले बताएका छन् ।  नेपालमा लाइन क्लिएर भएपनि भारतमा एसएसबी(भारतीय सीमा सुरक्षा बल) ले कडाइ गरेपछि पहिलाजस्तो धेरै मात्रामा पठाउन नसकिएको स्वयंम कारोबारीहरुको भनाइ छ । 

तस्करीको समाचार बाहिर आए काम गर्न समस्या हुने भन्दै उनीहरुले पत्रकारलाई मिलाउन भन्दै केही रकम छुट्टाएको एक कारोबारीले निर्धक्क भनेका छन् । संकलन गरेको उक्त रकम सम्बन्धित व्यक्तिहरुलाई पुर्‍याउन अर्कै मध्यस्थकर्ता खोजेर दिइएको बताइएको छ । उक्त मध्यस्थकर्ता प्रहरी हुन वा अन्य भन्ने बारे ति कारोबारीले बताउँन चाहेनन् । उक्त रकम मासिक हो । भारततर्फ कडाई नगर्ने हो भने दैनिक २० देखि ३० ट्रक केराउ तस्करी हुने सीमावर्ती क्षेत्रका स्थानीयहरु बताउँछन् ।

प्रहरी/प्रशासनलाई रकम दिएर तस्करीको लाइन मिलाएको आरोप बारे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र एसपी मनोज कुमार यादवले बजारमा आफूहरुले पनि हल्ला सुनेको बताए । प्रहरी प्रशासनलाई बदनाम गराउने नियतले चलाइएको गम्भीर विषयप्रति अनुसन्धान गरिरहेको उनीहरुको भनाइ छ । मटर विरगञ्जको नाकाहुँदै आउने गर्दछ ।

बिल भरपाई दुरुस्त राखेर सीमावर्ती गोदामसम्म लैजानका लागि ल्याइएका केराउ बरामद गर्न कानुनी समस्या भएको प्रहरीको भनाइ छ । ‘ बिल भरपाइ हुन्छ । भन्सार र राजश्वमा बुझाउँदा पनि लिन मान्दैनन् । तस्करी नियन्त्रण गर्न केही दिन बरामद केराउ र गाडी कार्यालयमा राखेर छाड्ने गरेका छौं, ’ एसपी यादवले भने । 

जिल्लामा केराउ तस्करी बढेको जिल्लाका प्रतिनिधि सभा सदस्यद्धय देबेन्द्रराज कँडेल र हृदयेश त्रिपाठीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । पूर्वगृहराज्य मन्त्रीसमेत रहेका कँडेलले सदनमै प्रहरीले ५० लाख लिएर तस्करी गराएको आरोप लगाएका थिए ।

त्यसैगरी पूर्वमन्त्री त्रिपाठीले ३ दिनअघि परासीमा भएको पत्रकार भेटघाट कार्यक्रममा पनि मिलमतोमा ठूलो मात्रामा केराउ तस्करी हुँदै आएको बताएका थिए । तस्करी बढेको बारे लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) मुकुन्दराज आचार्यले त्यसलाई गंभिरताका साथ बुझ्ने बताए ।‘तस्करी बढेको र तस्करसँग प्रहरीले रकम लिएको बारे अनुसन्धान गछौं,' डीआइजी आचार्यले भने । 

यसैबीच हप्ता दिनको अवधिमा नवलपरासीसँग सिमाना जोडिएका नाकाबाट भारतर्फ जाँदै गरेको करिब १ हजार ३ सय क्विण्टल केराउ बरामद भएको भारत ठूठीबारी कस्टम (भन्सार कार्यालय)ले जनाएको छ । भारतमा धमाधम केराउ बरामद हुनुले पनि जिल्लामा तस्करी बढेको प्रष्ट बुझ्न सकिने बताइएको छ ।

तस्करी रोक्न गोदाममा राखेका केराउको परिमाण, खपत हुने स्थान र बिल रुजु गर्न सके धेरै हदसम्म नियन्त्रणमा आउने देखिएको छ । तर राजश्व कार्यालयले समेत त्यसतर्फ ध्यान नदिदां तस्करी कार्य बढेको स्थानीयको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.